२५ माघ २०८२, शनिवार

झापा गोल्डकप सुरु ः आयोजकको बिजयी सुरुवात

२५ माघ २०८२, शनिवार
Image

बिर्तामोड, २४ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

१–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।

झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोल गर्न सफल भए । झापाका लागि निर्णायक गोल भने राजेश दाहालले गरे । ५९ औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिए । उनको गोल नै झापाको जितका लागि पर्याप्त बन्यो ।

पाएका सुन्दर अवसरहरु पुलिसले सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । ३५ औँ मिनेटमा विजय उराउले पाएको अवसर झापाका गोलकिपर सन्दिप लिम्बुले विफल बनाए । ५२ औँ मिनेटमा वीरेन्द्र साहले गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ५७ औँ मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसर पनि पुलिसले सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिएको छ ।

झापाका एरोन थापा मगरले ४१ औँ मिनेटमा डिएरियाबाट गरेको हेडबल बारमा लागेर फर्किएको थियो । टेक्निकल खेल प्रदर्शन गरेको झापाले पुलिसलाई दबाबमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका राजेश दाहाल भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको छ ।

यसैबीच, प्रतियोगिताको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी थिइन् । प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख प्रसाईंले मैदानको संरचना निर्माण गर्न नगरपालिका तयार रहेको बताउँदै जमिनको स्वामित्वको विवादका कारण लगानीको वातावरण नबनेको बताइन् ।

आयोजक अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँध्ने माध्यम भएको दाबी गरे । उनले झापालाई फुटबलको हब बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपालकै उत्कृष्ट खेल मैदान डोमालाल राजवंशी रंगशाला भएको बताउँदै उनले गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपालको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुँदै गएको बताए ।

प्रतियोगिता उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो ।