२३ माघ २०८१, बुधवार

अनेम संघ झापाको १० औं अधिवेशनको तयारी पूरा

२३ माघ २०८१, बुधवार
Image


मेचीनगर, २३ माघ ः अखिल नेपाल महिला संघ झापाले १० औं जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै तयारी पूरा गरेको छ ।

जिल्ला अध्यक्ष पवित्रा पाठकका अनुसार विर्तामोडस्थित अग्रसेन भवनमा यही माघ २६ र २७ गते हुने अधिवेशनको उद्घाटन संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले गर्नुहुनेछ । 

अनेम संघले अधिवेशनमा सहभागिताका लागि १५ वटै पालिकाबाट प्रतिनिधि छनौट गरिसकेको छ । संघको मंगलबार भएको जिल्ला कमिटी बैठकले अधिवेशनलाई लक्षित गरी पाँच प्रतिशत अर्थात १७ जनालाई मनोनित समेत गरेको छ । 

हाल पाठकको अध्यक्षतामा १५७ जनाको समिति रहेको छ । वि.सं. २०३८ सालमा शोभा कुँवरको अध्यक्षतामा जिल्लामा गठन भएको अनेम संघले महिलामुक्ति आन्दोलनको अगुवाई गर्दै महिला सशक्तिकरणमा ठूलो भूमिका निर्वाह गरेको अध्यक्ष पाठकको भनाई छ । 

उहाँले अनेम संघले परिवार, समाज, कार्यस्थल र राज्यका संयन्त्रहरूमा विद्यमान विभेदकारी अभ्यासहरूको विरोध र आवाज विगतदेखि नै बुलन्द गर्दै आएको बताउनुभयो । बर्तमान नेतृत्वले वडादेखि जिल्लासम्म नै महिला नेतृत्वको विकास र क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम र प्रशिक्षण कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।

“अवसर पाए अनेम संघका महिलाले सबै निकायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन्”, अध्यक्ष पाठकले भन्नुभयो, “सबै साथीहरु निर्णय, नेतृत्व र नीति निर्माण तहमा हिम्मतका साथ काम गर्न अब्बल हुनुहुन्छ ।”

संघले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । यस अघि जिल्लामा पवित्रा निरौला खरेल, सीता पाठक, सीता बस्नेत, टिका घिमिरे, विष्णु खड्का, मेनुका काफ्ले, शारदा सापकोटा, सुमित्रा भण्डारी, जसमाया गजमेरले नेतृत्व गरिसक्नु भएको छ ।