झापा, २४ साउन । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट अब पर्यटक भित्राउने योजनामा सरकारले काम गरिरहेको बताउनु भएको छ ।
काँकडभिट्टा खेलमैदानको आज निरीक्षण गर्दै उहाँले पूर्वीनाकामा रहेको खेलमैदान मार्फत काँकडभिट्टाले पनि नेपालमा पर्यटक भित्राउन सक्ने बताउनुभयो ।
मन्त्री चौधरीले संघीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा रु. तीन करोड बिनियोजन गरेको जानकारी दिनुभयो ।
“क्रिक्रेट, फुटबल र भलिवल खेलेर नेपाली खेलाडीले लाखौं लाख आर्जन गरेका थुप्रै उदाहरण छन्,” उहाँले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै भन्नुभयो–“दुई ठूला देशको बीचमा छौ हामी । एसियन हाइवेको निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्त्व अन्तर्राष्ट्रिय रुपमा बढेर जानेछ ।”
उहाँले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीहरुको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।
सरकारले खेलकुद क्षेत्रका लागि अहिले रु. छ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदानहरु स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उहाँले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनु पर्ने बताउनुभयो । उहाँले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताउनुभयो ।
सो अवसरमा प्रदेश सांसद् गोपाल तामाङ, मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, पूर्व नगरप्रमुख विमल आचार्य लगायतले काँकडभिट्टाको खेलकुद गतिविधि र मैदानका समस्या बारेमा मन्त्री चौधरीको ध्यानाकर्षण गराउनु भएको थियो ।
मन्त्री चौधरीले शुक्रवार भद्रपुरस्थित मेची रंगशालाको निरीक्षण गर्नु भएको थियो भने आज मेचीनगरको चारआलीमा आयोजना हुने इन्डो–नेपाल इन्टरस्कुल कराते प्रतियोगिताको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।