१६ चैत २०८०, शुक्रवार

शपथ ग्रहणमा ओलीको पुरानै शैली

९ पुष २०७९, शनिवार
Image

झापा, ९ पुस । नयाँ सांसदहरुमध्ये कोहीले ईश्वरको नाममा शपथ लिए, कोहीले जनताको नाममा । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भनेर संवेगात्मक शपथको व्यहोरामा हस्ताक्षर गरे । 

सारा माननीयले शपथका व्यहोरामा आँखा लगाउँदा एमाले अध्यक्ष केपी ओली चाहिँ के गर्दै थिए ? उनलाई यो तस्वीरमा हेरौं न ।

सबै सांसदले हातमा शपथको व्यहोरा च्यापेर पढ्दा ओली खडेखडे उभिएका देखिन्छन् । रोचक के छ भने यो तस्वीर ओलीकै निकटस्थले चलाउने फेसबुक पेज ‘बालकोट’ मा उपलब्ध छ । त्यसमा ओली शपथको व्यहोरा नबोकी टुलुटुलु हेरिरहेका देखिन्छन् ।

ओलीलाई बाचा गराउन, शपथ खुवाउन त्यति सजिलो पनि कहाँ छ र ? पोहोर मंसिरमा एमालेको दशौं महाधिवेशनका बेला चितवनमा यस्तै भयो । त्यसमा भीम रावलको जमानत जफत सरह गराउने गरी अध्यक्ष चुनिएसँगै ओलीलाई शपथ खुवाउने जिम्मा आइलाग्यो निर्वाचन परिचालन कमिटी संयोजक विजय सुब्बालाई ।

शपथको व्यहोरा बोकेर सुब्बा ‘म‘ ’ के बोल्दैथिए, ओलीले खरर्र सबै व्यहोरा एकै सासमा पढिभ्याए । सुब्बा हेरेको हे¥यै । तिनै ओलीलाई दोस्रोपल्ट प्रधानमन्त्री चुनिँदा राष्ट्रपति विद्या भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतीज्ञा गर्छु’ भन्दा तुरुन्त खारेज गरे, ‘त्यो पर्दैन ।’

ओली प्रथमतः एमालेका तर्फबाट जितेका प्रतिनिधिसभा सदस्य हुन् । उनी पाँच वर्षका लागि सार्वभौम जनताका प्रतिनिधिका रुपमा चुनिएका हुन् । उनको उत्तरदायित्व पनि जनताप्रति नै हुने हो ।

शपथलाई सामान्य औपचारिकतामात्रै पनि मान्न सकिएला । तर त्यो जनताप्रतिको निष्ठाको सूचक पनि हो ।

यसपालि पनि ओलीले ‘त्यो पर्दैन’ शैलीकै निरन्तरता देखाएका हुन् कि ? वा अरु केही ? यसको जवाफ पनि फेसबुकको ‘बालकोट पेज’मा नै आउला कि त ?