१५ वैशाख २०८१, शनिवार

कांग्रेसको समर्थन

प्रचण्ड फुरुक्क, देउवा लुरुक्क, ओली झसंग

२७ पुष २०७९, बुधवार
Image

झापा, २७ पुस । राजनीति सोझो बाटोबाट कहिल्यै हिँड्दैन । प्रेम र राजनीतिमा जे पनि जायज हुन्छ ।

यी उक्तिहरु नेपाली राजनीतिमा एकपछि अर्को गर्दै दृश्यमा सावित भइरहेका छन् ।

नेपाली कांग्रेसले नदिएको प्रधानमन्त्री पद नेकपा एमालेले दिएपछि प्रधानमन्त्री बन्नु भएका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  कांग्रेसले पनि विश्वासको मत दियो ।

जसरी एमालेले प्रचण्डलाई प्रधानमन्त्री दिदा कांग्रेस तरंगित भएको थियो, मंगलबार काँंग्रेसको समर्थन समेत प्रचण्डले पाउँदा एमाले झसंग बनेको छ ।

‘ढोक्सा थापेको होला, माछा पर्नेवाला छैन’–आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा एक उखान ठोकिहाल्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो प्रसंगमा घुमाउरो भाषामा निकै प्रसन्नता व्यक्त गर्नुभएको छ ।

‘प्रचण्डलाई विश्वासको मत दिन पाउँदा मन प्रसन्न भयो’–पौडेलले प्रफुल्ल हुँदै भन्नु भएको छ ।

कांग्रेसको विश्वासको मतले ‘कुनै दिन ओलीले दायाँबायाँ गरे भने हामी छौ नि’ भनेर प्रचण्डलाई आश्वस्त पार्न खोजेको एउटा संकेतको रुपमा व्याख्या गर्न थालिएको छ ।

अर्कातिर, राष्ट्रपति र सभामुखका पदमा भोलि कांग्रेसले दावी पेश गर्यो भने माओबादीको सहानुभूति बटुल्न सकिएला कि भन्ने च्याँखे दाउ पनि थापिएको हुनसक्ने चर्चा छ ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा भनेको कांग्रेसले एमालेसँग माओबादीको गठबन्धन तोड्न चाहन्छ । जसका लागि अहिलेदेखि नै शंकाको बीउ कांग्रेसले रोपिदिएको छ । यो बीउ झ्याँगिने हो कि, ओइलाउने हो, भोलिका दिनमा देखिदै जानेछ ।

केही दिनपछि सभामुख र त्यसको केही सातापछि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने छ । सबैलाई जगजाहेर के छ भने कांग्रेसका वरिष्ठ नेता पौडेललाई राष्ट्रपति हुने ठूलो रहर छ । अहिलेको विश्वासको मतका पछाडि पौडेलको आकांक्षाको कनेक्सन रहेको पनि आशंका बजारमा हुन थालिसकेको छ ।

विश्वासको मत अरु दलका लागि शंका र रहस्यको विषय भए तापनि कांग्रेस स्वयम्का लागि भने राम्रो संकेत मानिएको छैन ।

दूरदर्शी मानिएका पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विश्वासको मत दिन नहुने र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा नचलमलाई बस्नु पर्ने स्पष्ट बताउँदै आउनु भएको छ ।

संसदीय व्यवस्थामा सरकार र प्रतिपक्षीको प्रष्ट भूमिका हुन्छ । तर, सरकारलाई विश्वासको मत दिएको कांग्रेस सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठ्न थालिसकेको छ । कांग्रेस सत्ताबिना पानी बिनाको माछो जस्तो छटपटाउँछ भन्ने यस घटनाले देखाएको छ ।