१५ वैशाख २०८१, शनिवार

दुर्गमको दुःख

माङ्सेबुङका भीरपाखैबाट गुड्छन् गाडीहरु

३० पुष २०७९, शनिवार
Image

गजुरमुखी, ३० पुस । इलाम सुगम जिल्लाको रुपमा चिनिन्छ । तर, इलामको कतिपय सडक यति डरलाग्दा छन् कि त्यहाँको यात्रा गर्दा यात्रु र चालकले ज्यानकै जोखिम मोल्नु पर्छ ।

माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ त्यस्तैमध्येको एउटा जोखिमयुक्त सडक भएको बस्ती हो । जहाँ भीर र पहरा छिचोलेर यात्रा गर्न बाध्य छन् स्थानीयबासी ।

प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाम र इभाङको रत्नकुमार बान्तवाको स्मृति स्थल जाने पर्यटक बोकेर समेत झापाको विर्तामोड, दमक र इलाम बजारबाट साना गाडीहरु बाक्लै गुड्छन् । इलामबाट ओहोरदोहोर गर्ने गाडीहरु बारुङ, तोभाङ र लामीडाँडाको भीरपाखामा हल्लिदै गुड्छन् ।

‘इलाम र दमकबाट तोभाङ जानुपर्यो भने डरले लुगलुग काम्दै गाडीमा गुड्नुपर्छ,’ माङ्सेबुङ–१ का जंगबहादुर भण्डारी भन्नहुुन्छ–‘अप्ठेरो बाटोमा ती गाडी पनि धन्न आएका छन् ।’ 

बाटोको दुर्गति हेर्दा तोभाङमा गाडी जानै चालकहरु डराउनु पर्ने अवस्था छ । तर, अप्ठेरो बाटोमा पनि बिस्तारै होशियारसँग चालकहरु गाडी गुडाउँछन् । माङ्सेबुङका अधिकांश सडकमा खाल्डाखुल्डी र भीरपाखा छिचोल्दै गाडीहरु गुड्न बाध्य छन् ।

इलामको धेरै बस्तीमा गाडी पुगेका छन्, सडकको गुणस्तर कमजोर छ । गाडीको सहज उपलब्धता नभएका कारण स्थानीय उत्पादन बजार पुर्याउन नपाएर बारीमै कुहिएर खेर गइरहेको भण्डारीेले बताउनुभयो ।

बारुङमा कुचोको भारी  घर लैजाँदै स्थानीयबासी ।

‘बारीमा फलेका स्कुसका दाना, कागती, केरा र टमाटर नबेचिकनै सिजन बित्यो,’ उहाँ भन्नुहुन्छ–‘बिरामी परियो भने बाटो खराब भएकाले कुनै एम्बुलेन्स आउँदैन । कहिलेकाहिँ बिरामीलाई काँधमा बोकेर सडक राम्रो भएका ठाउँमा पुर्याउनु पर्छ ।’

सडकको दूरावस्था वर्षौदेखि उस्तै छ । माङ्सेबुङले नेता नपाएको पनि होइन । संविधानसभाको अध्यक्ष र संसद्को सभामुख बनिसक्नु भएका सुभाषचन्द्र नेम्वाङ सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ ।

चुनावका बेला अरु पार्टीका नेताहरु पनि सडकको गुणस्तर गर्ने प्रतिवद्धता जनाउँदै भोट माग्न आउँछन् । तर स्थानीयबासीको गुनासो छ–‘जित्ने र हार्ने कोही पनि चुनावपछि स्थानीयबासीको दुःख हेर्न गाउँ फर्केर आउँदैनन् ।’

इलामबाट मंगलबारेसम्म कालोपत्रे सडक आएको पनि धेरै वर्ष भएको छैन । मंगलबारेबाट गजुरमुखीसम्म सडक फराकिलो बनाउने र कालोपत्रे गर्ने भनेर हल्ला चलेको दशक बितिसक्यो । तर, बारुङ र क्याबुङको सडक कर्णालीको दुर्गम बस्तीको सडकभन्दा सुध्रिएको हालतमा छैन ।

गजुरमुखी धामबाट बरभञ्याङ, तोभाङ र नाङरुङ जाने सडकको दूरावस्था वर्णन गरिसाध्य छैन । ‘बाटोको हालत हेर्दा त गाडी चलाउनै मन लाग्दैन, तर गाउँलेलाई यातायातको सुविधा पुर्याउन हामी जोखिम मोलेर पनि गाडी कुदाइरहेका छौं’–इलामबाट तोभाङसम्म यात्रुवाहक ट्याक्सी चलाउँदै आउनुभएको चालक रमेश चम्लागाई गुनासो पोख्दै भन्नुहुन्छ ।

सडकको अवस्था कहिल्यै सुधार नहुने कारण तोभाङबाट वर्षेनी धेरै परिवार बसाई हिँड्न थालेका छन् । झापा र मोरङतिर बसाई सरेर जानेहरुले आफ्ना घरबारी बाझै राख्न बाध्य छन् । 

स्थानीयबासीले सदरमुकाम र सुगमतिर मात्र पुग्ने सञ्चारकर्मीहरुले तोभाङको दुःखलाई सिंहदरबारसम्म पुर्याउन पर्याप्त मदत नगरेको समेत गुनासो गरेका छन् ।

माङ्सेबुङमा लटरम्म फलेका कफीको बोट ।