१९ कार्तिक २०८२, मङ्गलवार

झापा गोल्डकपको उद्घाटन खेलमा पुलिस क्लव विजयी

१८ कार्तिक २०८२, सोमवार
Image

झापा, १७ कात्तिक । एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै विजयी बनेको छ । 

जितसँगै पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरेका थिए । 

खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउवा भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । भोलिको दोस्रो क्वार्टर फाइनल खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु.१० लाख १० हजार पाउनेछ । त्यस्तै, उपविजेताले नगद रु.पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु.२५ हजार पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ ।