१६ चैत २०८०, शुक्रवार

दश मेगावाटको ‘झापा इनर्जी’को निर्माण कार्य तीब्र

२६ माघ २०७९, बिहिवार
Image

झापा, २७ माघ । झापामा दश मेगावाट विद्युत उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को निर्माण कार्य तीब्र रुपमा भइरहेको छ ।

शिवसताक्षी नगरपालिका–४ मा रु. ८० करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको हो । एक्काइस विगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण कार्य आगामी वि.संं. २०८० असार मसान्तसम्ममा सम्पन्न हुने झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताउनुभयो ।

उहाँले परियोजनास्थलमा उच्च प्रविधियुक्त सोलार प्यानल तथा उपकरण ल्याउने कार्य भइसकेको जानकारी दिनुभयो । जग्गा खरिद, लगानी स्रोत सुनिश्चित र विद्युत विक्री सम्झौता भइसकेको परियोजनाको अब सोलार प्यानल जडान कार्य सकेर विद्युत उत्पादन गरिने उहाँले बताउनुभयो ।

माछापुच्छ«े र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको उहाँले जानकारी दिनुभयो । काम पूरा भएलगत्तै विद्युत उत्पादन सुरु हुने उहाँले बताउनुभयो । 

पूर्वपश्चिम राजमार्गको दूधे बजारबाट करीव १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा रहेको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिकै छ । कम्पनीबाट उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरिसकेको छ । 

उहाँले नेपाल विद्युत प्राधिकरण र झापा इनर्जीबीच विद्युत खरिदका लागि सम्झौता भइसकेको बताउनुभयो । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । 

आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक रु. १२ करोड ८५ लाख आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ । 

झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्ष अघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास गतबर्ष संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।

विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापनाका लागि पहल गरेको उहाँले बताउनुभयो । उहाँले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पुर्याउने बताउनुभयो ।

नेपालमा हालसम्म २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको दश मेगावाट रहेका छन् ।