१५ चैत २०८०, बिहिवार

सभामुख भोलि झापा आउने

कार्यक्रमहरुको सूची तयार

३ फागुन २०७९, बुधवार
Image

झापा, ३ फागुन । प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनको कार्यक्रम लिएर झापा आउँदै हुनुहुन्छ । 

मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लाग्नु भएको हो ।

सभामुखमा निर्वाचित भएपछि उहाँको पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । उनको दुई दिने झापा बसाइका लागि केही कार्यक्रमहरु निर्धारण भइसकेको जनाइएको छ ।

जसअनुसार फागुन ४ गते दिउँसो १ः३० बजे भद्रपुर एयरपोर्टमा अवतरण गरेपछि सोझै बिर्तामोड नगरपालिकाको कार्यकक्षमा स्थानीय सरकारले आयोजना गरेको सम्मान अभिनन्दन ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ४ गते रातीको बसाई बिर्तामोड स्थित निवासमा हुनेछ । जहाँ स्थानीय राजनीतिक व्यक्तित्वहरु, सामाजिक, शैक्षिक, धार्मिक संघ–संस्थाहरुका प्रतिनिधिहरुले समय मिलाएर भेट्ने व्यवस्था मिलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

फागुन ५ गते बिहान ८ बजे बुद्धशान्ति गाउँपालिकाको कार्यकक्षमा स्थानीय सरकारले आयोजना गर्ने सम्मान अभिनन्दन ग्रहण गर्ने र सोपछि बिहान साढे ९ बजे सुखानी शहीद स्मृति पार्कमा पुगेर शहीदहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ५ गते बिहान साढे १० बजे अर्जुनधारा नगरपालिकाका घिमिरे बन्धुहरुले निर्माण गर्न लागेको भवनको शिलान्यास गर्ने र सो पछि अर्जुनधारा नगरपालिकाको कार्यकक्षमा आयोजना गरिने कार्यक्रममा सहभागी बन्ने कार्यतालिका सभामुखको सचिवालयले बनाएको छ ।

सो कार्यक्रमपछि मध्यान्ह १२ बजे बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको समुद्घाटन तथा सम्बोधन गर्ने र अपरान्ह ३ बजे बिर्तामोडमा पत्रकारहरुसँग अन्तरसम्वाद भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ५ गते दिउँसो ४ः३० बजे निजामति कर्मचारी संगठनका प्रतिनिधिहरुसँग भद्रपुरमा भेटघाट गर्ने र सोही साँझ ६ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।