१६ चैत २०८०, शुक्रवार

मुलुकको समस्या मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

५ फागुन २०७९, शुक्रवार
Image

झापा, ५ फागुन । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था खस्कदै गएकाले सबै दल मिलेर सामना गर्नुपर्ने बताउनुभयो । 

आज मेचीनगरको धुलाबारीमा मेची उद्योग बाणिज्य संघको नवौ पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले दलले मिलेर सामना गर्नुको विकल्प नभएको बताउनुभयो । 

उपप्रधानमन्त्री लिङेदेनले कुनै पनि राजनीतिक दललाई मात्र जनताले विश्वास गरेर मत नदिएको बताउँदै भन्नुभयो, “हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन् । एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन ।”

उहाँले सरकारमा बैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताउनुभयो । उहाँले कुनै पनि राजनीतिक दललाई निषेध गरेर वर्तमान स्थितिमा जान नमिल्ने धारणा व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री लिङ्देनले विगतमा सुनेजस्तो वर्तमान सरकार विदेशीको दबाबमा नबनेको र नेपाली राजनीतिक दल आफैं मिलेर निर्माण गरेको स्मरण गर्दै भन्नुभयो, “विकासलाई तीब्रता, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौं ।”

उहाँले नेपालका ठूला विद्युत परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामको केही दिनभित्रैमा सार्वजनिक गर्ने बताउनुभयो । उहाँले प्राधिकरणको शेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताउनुभयो । 

उहाँले अब नेपाली जनताले विद्युतको खपत बढाउनु पर्ने बताउँदै भन्नुभयो, “आपतकालीन अवस्था बाहेक एलपी ग्याँसमा होइन विद्युतीय चुलोको प्रयोग गरेर खाना पकाउनुपर्छ । यसो गरेमा आधार खर्च घट्छ ।” उहाँले स्थानीय पालिकाले जनताले चलाएका उद्योग धन्दामा प्रोत्सहान गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्ने समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष टीका ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल लगायतले उद्योगी व्यवसायीका समस्या सडकमा आन्दोलन नगरी र टायर नबाली सुनुवाई नहुने गुनासो गर्नुभयो । 

कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष विना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरिएको थियो ।कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष विना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी गणेश गिरीलाई नगद १५ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले नवनिर्वाचित समितिको नाम बाचन गर्नु भएको थियो । नवनिर्वाचित समितिका अध्यक्ष खेमराज प्रसाईले प्रतिबद्वता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व, स्वागत उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।