११ वैशाख २०८१, मङ्गलवार

मेचीनगरमा जग्गा वर्गीकरण

नयाँ नक्साको तयारी

६ फागुन २०७९, शनिवार
Image

मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले जग्गा वर्गीकरणको कार्य दश दिनमा टुंगीने बताउनु भएको छ ।

शनिबार नगरपालिकाको सभाहलमा नापी विभागका नापी अधिकृत गिरिजा पोखरेलले प्रोजेक्टर मार्फत भू–उपयोग सम्बन्धी गरिएको कार्याशाला गोष्ठीमा मेयर बुढाथोकीले मेचीनगरमा जग्गा बर्गीकरणको प्रक्रिया चाँडै पुरा हुने दावी गर्नुभयो ।

भू–उपयोग ऐन, २०७६ को दफा १८ बमोजिमको स्थानीय भू–उपयोग परिषद्का अध्यक्ष एवम् मेयर बुढाथोकीले जग्गा वर्गीकरणसहितको मेचीनगरको नक्सा तयार भइरहेको बताउनु भयो । जग्गा वर्गीकरणको कार्य टुंगीएपछि मेचीनगरको नयाँ नक्सा आउने बताउनुभयो ।

संघीय सरकारले स्थानीय सरकारहरुलाई दिएको म्यान्डेट अनुसार जग्गा वर्गीकरण दशवटा क्षेत्र अन्तरगत विभाजन गरिएको छ । जसमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् । 

यसैका आधारमा रहेर नगरका १५ वटै वडामा जग्गा वर्गीकरण कार्य भइरहेको छ । उहाँले कसैको पनि विवाद नआउने गरी जग्गा वर्गीकरण कार्य हुने बताउनुभयो । प्रायः सबै वडाको जग्गा वर्गीकरण कार्य गर्दा कृषि क्षेत्र कम तथा आवासीय र व्यावसायिक क्षेत्र बढी भएको देखिएको छ ।

मेयर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्याशाला गोष्ठीमा नापी अधिकृत पोखरेलले जग्गा वर्गीकरणका विषयमा प्रोजेक्टर मार्फत प्रस्तुति दिनु भएको थियो ।

कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, नापी विभागका कर्मचारी वुद्ध लामा, मालपोत कार्यालयका कमल पनेरु, ज्ञानेन्द्र भण्डारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका राजनीतिक दलका प्रमुखहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन बरिष्ठ प्रशासकीय अधिकुत अन्नतप्रकाश वस्तीले गरेका थिए ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।