१४ वैशाख २०८१, शुक्रवार

हातेमालो वनको साधारणसभा

प्रहरीको सुरक्षा घेरामा साधारण सभा सम्पन्न

१० फागुन २०७९, बुधवार
Image

चारआली, १० फागुन । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको नवौँ बार्षिक साधारण सभाको उद्घाटन सत्र प्रहरीको कडा सुरक्षा घेराबीच सम्पन्न भएको छ ।

बुधवार वन समूहको कार्यालय परिसरमा सम्पन्न खुल्ला सत्रको प्रमुख आतिथ्यता सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी थिए । उहाँले फुलको गमलामा पानी हालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, जिल्ला समन्वय समिति झापाकी सदस्य तुलसा बराल, नेकपा एमाले मेचीनगर–१३ का अध्यक्ष भोजराज पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

करिव ५० जना नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले कार्यक्रम स्थलमा घेरा हालेर सुरक्षा दिएका थिए ।

कार्यक्रम चलिरहेको थियो । यता विरोध पनि भइरहेको अवस्था थियो । वक्ताहरुले बोलिरहदा ‘ख’ समूहका उपभोक्ताहरुले मञ्चतिर पानीको खाली बोतल फ्याकिरहेका थिए भने साउण्ड बक्स खोसेर फ्याक्ने प्रयास समेत गरिरहनु भएको थियो ।

उपभोक्ताहरुले समान अधिकार कायम गर, कोहि पाँखा, कोहि काँखा किन ? लगायतका नारासहित प्लेकार्ड बोकेर कार्यक्रम स्थलमा विरोध गर्नु भएको थियो ।

साधारण सभामा मेचीनगर–१३ र १४ का उपभोक्ताहरुको सहभागिता रहेको थियो । वनमा ‘क’ र ‘ख’ समूह छुट्टाइएको छ । 

‘क’ समूहका उपभोक्ताले मात्र कार्यसमितिमा बस्न पाउने अधिकार रहेको र ‘ख’ समूहका उपभोक्तालाई विभेद गरेको भन्दै कार्यक्रमभरी नारा जुलुस गरिरहेका थिए । ‘ख’ समूहका उपभोक्ता प्रायः वडा नम्बर १४ का छन् । ‘क’ समूहमा वडा नम्बर १३ का उपभोक्ता बढी रहेको आयोजकको भनाई छ ।

प्रहरी झडप हुने सम्भावना देखेर तयारी अवस्थामा थिए । आयोजक र विपक्षीहरुलाई सम्झाउने प्रयास प्रहरीले गरिरहेको थियो । नारा जुलुसकाबीच उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रम चलिरहँदा बेलाबेला झडप हुने स्थिति रहेको थियो ।

क’ र ‘ख’ समूहका उपभोक्ताका प्रतिनिधि, मेचीनगर नगरपालिकाका प्रमुख लगायतका व्यक्तिहरु बसेर सहमति गरेपछि मात्र बन्दसत्र गर्ने गरी उद्घाटन सत्र सम्पन्न भएको थियो ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले विरोधकाबीच अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

समूहका उपाध्यक्ष विश्वनाथ धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विमला मिश्रले गर्नु भएको थियो ।

‘वनको विधान अनुसार ‘क’ समूहका उपभोक्ताले मात्र कार्यसमितिमा बस्न पाउने अधिकार रहेको छ ।’ अध्यक्ष सिग्देलले भन्नुभयो–‘उच्चस्तरीय सहमतिपछि विधान संशोधन गर्न सकिन्छ । त्यसका लागि तीन महिनाभित्र बन्दसत्र गर्छौँ ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले उपभोक्ताले विरोध गरेपछि आयोजकलाई साधारण सभाको उद्घाटन सत्रमात्र गरेर कार्यक्रम रोक्न अनुरोध गर्नु भएको अध्यक्ष सिग्देलले जानकारी गराउनु भएको थियो ।

वनको विधानले ‘ख’ समूहका उपभोक्तालाई ‘क’ समूहको समान अधिकार नदिएकोमा विरोध गरिएको संघर्ष समितिका संयोजक एवम् ‘ख’ समूहका उपभोक्ता जीवन प्रसाईले बताउनु भयो ।






लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।