१४ वैशाख २०८१, शुक्रवार

महिला जनप्रतिनिधिहरुलाई अभिमुखीकरण

१२ फागुन २०७९, शुक्रवार
Image

मेचीनगर, १२ फागुन । दलित महिला केन्द्र नेपालको आयोजनामा झापामा दोस्रो चरणको महिला नेतृत्व कार्यक्रम सुरु भएको छ ।

झापाका ८ वटा नगरपालिकामा महिला नेतृत्व कार्यक्रम हुनेछ । जस अनुसार आजदेखि मेचीनगरबाट यो कार्यक्रम सुरु भएको हो ।

विशेष गरेर यो अभिमुखीकरण (तालिम) वडामा निर्वाचित महिला वडा सदस्यहरुलाई दिइने दलित महिला केन्द्र नेपालका मुख्य प्रशिक्षक सोमराज ढकालले बताउनु भयो ।

उहाँका अनुसार प्रदेश नम्बर १ को झापा, मोरंग, सुनसरी, ओखलढुंगा र खोटाङ जिल्लाका ३९ वटा पालिकामा महिला नेतृत्व कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ ।

आज मेचीनगर–६ स्थित काँकरभिट्टाको ईस्टन ग्राण्ड होटलमा आयोजित कार्यक्रममा वडा नम्बर १ देखि ८ नम्बर वडाका १५ जना महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो । 

कार्यक्रम ४ दिनसम्म सञ्चालन हुनेछ । समापनका दिन मेयर, उपमेयर समेतलाई सहभागिता गराउने आयोजकको भनाई छ ।

यहि फागुन १७ गतेदेखि फेरि ९ नम्बर वडादेखि १५ नम्बर वडाका महिला जनप्रतिनिधिलाई यो तालिम दिइने ढकालले जानकारी दिनु भयो ।

कार्यक्रममा मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र ५ का वडाध्यक्ष कनक कार्कीले यस्तो कार्यक्रमले महिला जनप्रतिनिधिहरुलाई आफ्नो क्षेत्रमा काम गर्न सजिलो हुने बताउनु भएको थियो ।

कार्यक्रमको अवधिभर मुख्य प्रशिक्षक ढकाल र नविना सापकोटाले प्रशिक्षण दिनु हुने दलित महिला केन्द्र नेपालकी झापा संयोजक सम्झना पोखरेलले बताउनु भयो ।

ईन्टरनेशनल फाउण्डेशन अर ईलेक्ट्रोरल सिस्टमको प्राविधिक सहयोग तथा सुईस र अस्ट्रेलियन सरकारको आर्थिक सहयोग रहेको छ ।

सो संस्थाले २०७४ सालको निर्वाचनमा पनि महिला नेतृत्व कार्यक्रम सञ्चालन गरेको ढकालले बताउनु भयो । २०७९ सालको निर्वाचनपछि यो दोस्रो चरणको कार्यक्रम आज प्रदेशको ५ वटै जिल्लामा सुरु भएको बताइएको छ ।

महिला वडा सदस्यहरुलाई वडाको काम, कर्तव्य र अधिकार, महिलालाई राजनीतिमा कसरी अघि बढाउने, नेतृत्व विकास र क्षमता विकास कसरी गराउन सकिन्छ भन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको मुख्य प्रशिक्षक ढकालले बताउनु भयो ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।