८ वैशाख २०८१, शनिवार

बाँसबारी वनको चुनाव

अध्यक्षमा एमालेकी अम्बिका, लोकतान्त्रिकबाट भक्त उम्मेद्वार

१७ फागुन २०७९, बुधवार
Image

मेचीनगर, १७ फागुन । बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुँदैछ।

नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकट लगायतको समूह चुनावी मैदानमा उत्रिएको हो ।

वन समूहको १२ सदस्यीय पदमा निर्वाचन हुँदैछ । एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूह र काँग्रेस निकट लोकतान्त्रिक समूह चुनावमा होमिएको छ । 

एमालेबाट अम्बिका मैनाली प्रसाईं अध्यक्ष पदमा उठेकी छिन् भने काँग्रेस समूहबाट भक्त तामाङलाई अगाडि सारिएको छ । 

बुधबार मेचीनगर–११ मा एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहको उम्मेद्वार परिचय कार्यक्रम सम्पन्न भएको छ । सो समूहबाट उपाध्यक्ष पदमा यशोदा डाँगी, सचिवमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा सुनिल राजवंशी र सहसचिवमा नरेन्द्र राईको उम्मेद्वारी रहेको छ । 

यस्तै, सदस्य पदमा सुर्जन कवर, झुमा भेटवाल, दिना बराइली, सागर अधिकारी, विष्णुबहादुर पन्त र विमला चापागाईंको उम्मेद्वारी परेको छ । सदस्य पदमा गीता कवर भने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा बाग्मती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईं, वन समूहका पूर्व अध्यक्ष शम्भू रावजंशी, परिमल ग्वाल, एमाले मेचीनगर–११ का वडा कमिटी अध्यक्ष सागर ओली, इन्चार्ज सन्तोषकुमार मेचे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

बाँसवारी वन समूहले सञ्चालन गरेको पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि दुवै समूह उपभोक्ताको घरदैलोमा मत मागिरहेका छन् । सो वन समूहमा ४८२ उपभोक्ता घरधुरी रहेका छन् । एक उपभोक्ता घरधुरीबाट दुई जनाले मतदान गर्न पाउने छन् ।