२२ वैशाख २०८१, शनिवार

सार्वजनिक जग्गा मेचीनगरको स्वामित्वमा ल्याउन बार्ता

२१ फागुन २०७९, आइतवार
Image

मेचीनगर, २१ फागुन । मेचीनगर नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग रहेको सार्वजनिक सरोकारका जग्गा आफ्नो स्वामित्वमा ल्याउन पहल सुरु गरेको छ । 

०४९ सालदेखि रहेको जग्गा समस्या समाधानका निम्ति मेचीनगरको नेतृत्वले विशेष पहल सुरु गरेका कारण साविक काँकरभिट्टा गाविस क्षेत्रमा रहेका सार्वजनिक, संघ–संस्था र व्यक्तिहरुले बसोबास गरिरहेका जग्गाहरु अब छिट्टै हक हस्तान्तरणको प्रक्रियामा रहेको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले बताए । 

मेचीनगरमा राष्ट्रिय आवास कम्पनीको नाममा मेचीनगर–६ (साविक काँकरभिट्टा गाविस क्षेत्रभित्र) वडा कार्यालय परिसरको जग्गा, विपी–पुष्पलाल तथा सहिद स्मृति प्रतिष्ठानको जग्गा, बारुण यन्त्रको जग्गा, सब्जी बजारको जग्गा, मिनी मार्केटको जग्गा, भानुटोल स्थित मासु बजारको जग्गा, बसपार्कको जग्गा, देवकोटा पार्कको जग्गा छन् ।

यस्तै, काँकरभिट्टा माविको खेल मैदान तथा अन्य जग्गा, भानु साहित्य प्रतिष्ठान, काँकरभिट्टा खानेपानी संस्थाको जग्गा, स्वास्थ्य चौकीको जग्गा, श्रीजंघा पुस्तकालयको जग्गा, भानुटोल स्थित सार्वजनिक शौचालयको जग्गा, शिवालय मन्दिर परिसरको जग्गा, काँकरभिट्टा धर्मशालाको जग्गा, भिमसेन मन्दिरको जग्गा, महिला विकास सहकारी संस्थाको जग्गा, पूर्व प्रगति टोल (मेची डाँडा) मा बसोबास गरिरहेका १७६ घरपरिवारको जग्गा, भानुटोल दक्षिणमा बसोबास गराइएको १९ परिवारको जग्गा, भानुटोल स्थित फुलबारी एरियामा बसोबास गरिरहेका ११ घर परिवारको जग्गा, टेलिकम कार्यालय पश्चिम बसोबास गरिरहेका घर परिवारको जग्गा कम्पनीको नाममा रहेको छ ।

मेयर बुढाथोकीको संयोजनमा राष्ट्रिय आवास कम्पनीसँग जग्गा उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायका प्रमुखसँग छलफल भइरहेको छ ।

आइतबार मेयर बुढाथोकीको कक्षमा सम्पन्न छलफलमा राष्ट्रिय आवास कम्पनीका केन्द्रीय अध्यक्ष सन्दीप मिश्रसहितको टोलीसँग नगरपालिकाले राष्ट्रिय आवास कम्पनीबाट प्राप्त गर्नुपर्ने जग्गाको बिषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

छलफलमा मेयर बुढाथोकीसँगै मेचीनगरका प्रथम मेयर एवम् संविधान सभा सदस्य रविन कोइराला, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, एमाले नेता डिल्लीराम घिमिरे लगायतले राष्ट्रिय आवास कम्पनीले नगरपालिका क्षेत्रको सार्वजनिक सरोकारको जग्गा यथाशीघ्र उपलब्ध गराउनु पर्ने बताएका थिए ।

यता छलफलमा सहभागी राष्ट्रिय आवास कम्पनीका केन्द्रीय अध्यक्ष मिश्रले अब तत्कालै बोर्डको बैठक बसी यस विषयमा प्रक्रिया अगाडि बढाएर टुंगो लगाउने बताएका छन् ।

छलफलमा मेचीनगर नगरकार्यपालिका सदस्यद्वय हृदय राजवंशी र चित्र धिमाल, एमालेका नेता सुशील आचार्य, नेपाली काँग्रेसका नेता सुरेन्द्र बुढाथोकी, माओवादी केन्द्रका नेता माधव अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भिमबहादुर कुँवर, जनता समाजवादी पार्टीका नेता ओमप्रकाश खापुङ लगायतको उपस्थिति रहेको थियो ।