४ वैशाख २०८१, मङ्गलवार

दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का संयोजक थापा पक्राउ

२४ फागुन २०७९, बुधवार
Image

चितवन, २४ फागुन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको हो । 

उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताउनुभयो ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो । 

संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो ।

थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको एसपी कार्कीले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेस समेत गएका थिए । 

बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ ।

(अनलाइन खवर)