२६ वैशाख २०८१, बुधवार

मेची सामुदायिकको चुनाव

अध्यक्षमा कांग्रेसकै ३ जना उम्मेदवार

१ चैत २०७९, बुधवार
Image

मेचीनगर, १ चैत । यही चैत ७ गते हुने मेची सामुदायिक सेवा केन्द्रको निर्वाचनका लागि अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज केन्द्रको मनोनयन दर्ताको समयमा अध्यक्ष पदमा बिना तामाङ, खेमप्रसाद अर्याल र मुक्तिनाथ पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले बताए । 

घिमिरेका अनुसार अध्यक्ष र सचिव पदमा चुनाव हुनेछ । सचिव पदमा घनश्याम लामिछाने र अर्जुन राईले मनोनयन दर्ता गराएको उनले बताए ।

उनले अन्य बाँकी पदहरुमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेको बताए ।

केन्द्रको उपाध्यक्षमा बालकृष्ण थापा, महासचिवमा खडानन्द भण्डारी, कोषाध्यक्षमा रोमा थापा मगर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै सदस्यहरुमा सजित तामाङ, रमेश कटुवाल, सुदर्शन खड्का, शशि राई, नेत्रप्रसाद पराजुली र मिरा कार्की निर्विरोध निर्वाचित भइसकेको संयोजक घिमिरेले जानकारी दिए । 

श्रोतका अनुसार नेकपा एमालेले उपाध्यक्ष र महासचिव पद लिएर अध्यक्ष लगायतका बाँकी अन्य पदहरु छाडेको बताइएको छ । 

अध्यक्ष पदमा बिना तामाङलाई सबै दलले सहमति दिएको बुझिएको छ । एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायतका दलहरुले अध्यक्षमा तामाङलाई सहमति गरेको श्रोतको भनाई छ ।

तर अध्यक्षमा कांग्रेस भित्रैका ३ जना उम्मेदवार देखिएका छन् । कांग्रेसका अर्याल र पौडेल पनि अध्यक्षका उम्मेदवार हुन् । पौडेल पत्रकार पनि हुन् ।

यसैबीच अध्यक्षका उम्मेदवार पौडेलले मनोनयन दर्ता गरेपछि दिउँसो ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर सामाजिक क्षेत्रको विकृति र विसंगती अन्त्य गरी भुईमान्छेको सेवामा लाग्न अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको दावी गरेका छन् ।

प्रेस क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको थियो ।

३ वर्षे कार्यकाल रहेको केन्द्रमा मनोनितसहित १९ जनाको कार्यसमिति रहने छ । ५१० जना सदस्यले मतदानमा सहभागी हुन पाउने छन् ।

२०५० सालमा स्थापना भएको केन्द्रको संस्थापक अध्यक्ष रविन कोइराला, त्यसपछि डिल्लीराम घिमिरे र हाल बुद्विनाथ पौडेल छन् ।




लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।