२१ वैशाख २०८१, शुक्रवार

हात्ती मैत्री किसान समूह

बाहुनडाँगीमा ‘सामूहिक सब्जी खेती’

१३ चैत २०७९, सोमवार
Image

मेचीनगर, १३ चैत । किसानको हात, वडाको साथ कार्यक्रम अन्तरगत हात्ती मैत्री किसान समूह गठन गरेर बाहुनडाँगीमा सामूहिक सब्जी खेती सुरु गरिएको छ ।

मेचीनगर–४, प्रधान गाउँ स्थित लक्ष्मी अधिकारीको अढाइ विगाहा जग्गा लिजमा लिएर किसानले सामूहिक सब्जी खेती सुरु गरेका हुन् ।

सब्जी खेती गर्न अधिकारीको जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी दश वर्षका लागि लिज लिएको हात्ती मैत्री किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

यही फागुन १७ गतेदेखि सुरु गरिएको सामूहिक सब्जी खेतीमा पहिलो चरणमा सामान्य आलु उत्पादन गरिएको उनको भनाई छ ।

‘अहिले जग्गा वरिपरी तरुल रोपिएको छ’ अध्यक्ष आर्चाले भने–‘भिण्डी, टमाटर, आलु, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको साग लगायत सब्जी लगाइएको छ ।’

सामान्य तारबार गरिएको सो खेतीमा हात्ती छिरे सबै सब्जीमा क्षति गर्न सक्छ । तर, किसान केमा ढुक्क छन् भने सबै प्रकारका सब्जीको बीमा गर्ने सोचमा रहेका छन् ।

‘हात्ती आए क्षति रोक्न सकिदैन’, समूहका सदस्य धनपति गौतमले भने–‘हात्तीलाई पनि बचाउने, हामी पनि पालिने अवस्था हुन्छ । हात्तीले खाएर नष्ट गर्छ । सब्जीको बीमा गछौँ । हामी फेरि रोपिहाल्छौँ । तर, हामीले हात्तीले नष्ट नगर्ने सब्जी खेतीको पनि तयारी गरिरहेका छौँ । जस्तो कोदो, तोरी, रहरी दाल, अधुवा, बेसार, पिडालु लगायत हात्तीले नखाने सब्जी खेती पनि गर्नेछौँ ।’

स्थानीय प्राविधिक करण अधिकारीले सब्जीका सबै विरुवाहरु बिर्तामोडबाट खरिद गरेर ल्याइएको बताए । उनले अर्गानिक सब्जी खेती गरिएकोले यहाँ उत्पादन भएका सब्जी बजार पुर्याउँदा थोरै महंगो पर्ने बताए । यसमा चाहिँने मल स्थानीय पशुपालन गरिएका फार्महरुबाट प्राङ्गरिक मल ल्याइने अधिकारीको भनाई छ ।

समूहमा ५० वर्ष नाघेका स्थानीय २६ जना ज्येष्ठ किसानहरु मध्ये तत्काल १६ जनाले जनहि ५ हजार रुपैयाँका दरले पैसा उठाएर सामूहिक सब्जी खेती सुरु वडा सदस्य पवन बराइलीले बताए ।

सामूहिक सब्जी खेती गर्न वडा कार्यालयले समूहलाई ढेड लाख सहयोग गर्ने वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए । हात्तीबाट क्षति भएमा वडाले बीमा मार्फत किसानलाई क्षतिपूर्ती तिरिदिने उनले बताए । 

किसानले उत्पादन गरेका सब्जी बजारीकरणमा समस्या भए स्थानीय सरकारले त्यसको जिम्मा लिने वडाध्यक्ष कार्कीको दावी छ ।

मेचीनगर नगरपालिका कार्यपालिकाको हालै बसेको वैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा बीमा गरिदिने निर्णय भएको वडाध्यक्ष कार्कीले जानकारी दिए । मेचीनगरमा बीमा कार्यक्रम आगामी साउनदेखि लागु हुने बताइएको छ ।

‘बाहुनडाँगीमा किसानको कुनै पनि जग्गा अब बाँझो रहदैन’, वडाध्यक्ष कार्कीले भने–‘सीमामा तटबन्धन गरिने छ । ग्रिन वेल्टको अवधारणा ल्याइएको छ । विद्युतिय फेन्सिङ तारबार गरिने छ । हात्ती छेक्न नेपाल–भारतका युवाहरुको रेपिड रेसपोन्स टिम तयारी अवस्थामा छ । यी कामहरु गरेपछि बाँझो रहेका जमिनमा अब किसानहरुले उत्पादन गर्नेछन् ।’





लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।