८ वैशाख २०८१, शनिवार

जन्मदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दंग

१६ चैत २०७९, बिहिवार
Image

झापा, १६ चैत । मोरङको कटहरी– ४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टा टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन् ।

जन्मदै लक्षमीका दुबै हात र दुबै खुट्टा थिएनन् । आमाको काखपछि जब आफै हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैकै सहारामा उनले जिउनु पर्यो ।

बुधवार उनलाई झापाको ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रदान गर्यो । “अब म पनि हिँड्न सक्ने भएकी छु”–उनले हर्ष प्रकट गर्दै भनिन् ।

गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत् लक्ष्मीलाई बोकेरै घरबाट लैजाने र ल्याउने गर्दै आउनु भएकी उहाँकी आमा सरिताले अब नयाँ हात र खुट्टा लगाएर स्कुल ओहोरदोहोर गर्न सक्ने आशा गर्नुभयो । 

नेपालमा हात र खुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तहरुका लागि नारायण सेवा संस्थानको सहयोगमा बुधवार मेचीनगर नगरपालिका वडा नं. २ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई १०८ वटा हात र खुट्टा निःशुल्क वितरण गरेको ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताउनुभयो ।

कृत्रिम हात र खुट्टा पाउनेहरु कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाका छन् । उनीहरुले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हात र खुट्टाको नापजोख गराएका थिए । सोही आधारमा बुधवार सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले बताउनुभयो ।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले वि.सं. २०७६ देखि एउटा हात गुमाउनु परेको थियो । उहाँले पनि बुधवार कृत्रिम हात पाउनुभयो । “यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्ष अघि गएको अंग फर्किएर आएको जस्तो आनन्द भइरहेको छ”– उहाँले नयाँ हात लगाएपछिको अनुभूति सुनाउँदै भन्नुभयो ।

भारतको सिक्किममा पहिरोमा परी देब्रै खुट्टा गुमाउनु भएको भद्रपुर नगरपालिका वडा नं. ३ का ६३ वर्षीय सञ्चराज लिम्बुले ११ वर्षपछि आफ्ना दुबै खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुशी लागेको बताउनुभयो ।

“बैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ,” उहाँले खुट्टाको रुपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भन्नुभयो–“भगवानले मेरो पुकार सुनेजस्तै लागेको छ । अब मेरो शरीरमा फेरि खुट्टा फर्किएको छ ।” 

ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाकी उपसभामुख इन्दिार रानामगरको उपस्थितिमा बुधवार ९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो ।

उपसभामुख रानामगरले शारीरिक अशक्त नागरिकलाई कृत्रिम हातखुट्टा वितरण भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्दै भारत नेपालका लागि असल छिमेकी भएको बताउनुभयो । 

शारीरिक अशक्तहरुको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उहाँको जोड थियो । “आज कृत्रिम हात र खुट्टा पाउनु हुने बुवाहरुको आँखामा हर्षको आँशुसँगै ओठमा मुस्कान देखेको छु”–उहाँले भन्नुभयो ।

आफु पनि विपन्न र ग्रामीण परिवेशमा हुर्किएर संघर्ष गर्दै आजको अवस्थामा पुगेको हुँदा समाजमा शारीरिक अशक्तहरुको पीडा र समस्या आफुलाई थाहा भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा उपसभामुख रानामगरको हातबाट ह्वीलचियर ग्रहण गर्दा मेचीनगर– २ का वयोवृद्ध टेकनाथ भण्डारी खुशीले भक्कानिनु भएको थियो । रुद्र गौरी ओली प्रतिष्ठानले भण्डारी लगायत चार जना शारीरिक अशक्तलाई ह्वीलचियर प्रदान गरेको थियो । 

मेचीनगर–१३ दुहागढीमा रहेको लुना मल कारखानामा २३ वर्षअघि कार्यरत रहँदा मेसिन दुर्घटनामा परी स्थानीय ६२ वर्षीय हेमलाल सापकोटाले दाहिने हात गुमाउनु परेको थियो । बुधवार उहाँले कृत्रिम हात लगाउन पाउनु भएको छ ।

नेपालमा आएर कृत्रिम हातखुट्टा निःशुल्क वितरण गर्न पाएकोमा नारायण सेवा संस्थान भारतका प्रतिनिधि हरिप्रसाद लड्डाले खुशी प्रकट गर्नुभएको छ । उहाँले मानवीय आधारमा संस्थानले हालसम्म चार लाखभन्दा बढी मानिसलाई कृत्रिम हात र खुट्टा वितरण गरिसकेको जानकारी दिनुभयो ।

कृत्रिम हातखुट्टा बैंक स्थापना

ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्संग धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तहरुका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्वीलचियर र बैशाखीको बैंक स्थापना गरेका छन् ।

हरिहर सत्संग धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरुको सहयोगमा प्राप्त सामग्रीहरु बैंकमा जम्मा गरिने र आवश्यकताको आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताउनुभयो ।

हालसम्म बैंकलाई सयौं दाताले ह्वीलचियर र बैशाखी सहयोग गरिसक्नु भएको छ । दाताहरुमा वैदेशिक रोजगारीमा गएका र विदेशमै बसोबास गर्दै आउनु भएका नेपालीहरु धेरै छन् ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मानवीय सेवालाई मानिसले कोरेको राष्ट्रको सीमाले नछेक्ने उदाहरणको रुपमा भारतको नारायण सेवा संस्थानले नेपालमा आएर कृत्रिम हातखुट्टा वितरण गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पुर्याउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । बाहुनडाँगीमा कृत्रिम हातखुट्टा निर्माण गर्ने कारखाना सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताउनुभयो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।