२ कार्तिक २०८१, शुक्रवार

उपनिर्वाचन

तनहुँ, चितवन र बारामा मतदान हुँदै

१० वैशाख २०८०, आइतवार
Image

झापा, १० वैशाख । तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा मतदान सुरु भएको छ । 

आज विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।

त्यस्तै चितवन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेद्वार छन् ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेद्वार छन् ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आम जनता पार्टीका अरुण ज्ञवाली र जनमत पार्टीका शिवचन्द्र कुशवाह लगायत उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।