२३ भदौ २०८१, आइतवार

साथीको बात नसहने, शत्रुको लात सहने नगरौं : अध्यक्ष ओली

१३ वैशाख २०८०, बुधवार
Image

झापा, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभयो । 

उहाँले आज बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई सिध्याउन गरिएको अनेक मोर्चा बन्दीलाई परास्त गर्दै देशले भोगिरहेको बर्तमान समस्यालाई समाधान गर्न लागेको बताउनुभयो । 

उहाँले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले चार जना व्यक्तिले विगत ७४ बर्ष अघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताउनुभयो । 

“खेतको पाटो होस् या बारीको पाटो, शहर, गाउँवस्ती, देश विदेश सबै क्षेत्रमा एमाले पुगेकोछ”, अध्यक्ष ओलीले भन्नुभयो, “जतिसुकै हमला गरे पनि एमाले अरुभन्दा अलिकति अगाडि र अग्लो छ ।” उहाँले पार्टीका नेतृत्व र कार्यकर्ता भित्र भएका असन्तुष्टीहरुलाई पार्टीभित्रै छलफल र सम्बाद गरेर समाधान गर्न आग्रह गर्नुभयो । 

“साथीको बात नसहने तर शत्रुको लात सहने नगरौं” उहाँले भन्नुभयो, “यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौं, पार्टीलाई बलियो बनाऔं ।”

उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्याउन “हरेक टोलमा पार्टी हरेक घरमा सदस्य” अभियानलाई मिसनग्रास रुटमार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।