१३ वैशाख २०८१, बिहिवार

विपद् व्यवस्थापन गर्न नमूना अभ्यास

१८ जेठ २०८०, बिहिवार
Image
Gallery Images

मेचीनगर, १८ जेठ । साइरनको आवाज बज्नसाथ बचाउ बचाउको आवाज आउँछ । रुवाबासी चल्छ । घरहरु धमाधम बग्न थाल्छन् । मानिसहरु डुबानमा पर्छन् । वडाध्यक्ष घटनास्थलबाट प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर उद्धारका लागि सुरक्षा टोली पठाइदिन आग्रह गर्दै खोलाको वरपर गर्नुहुन्छ । 

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुग्छ, डुबानमा परेका र खोलामा बग्दै गरेकाको उद्धार गर्छ । यो दृश्य हो जिल्ला विपद् व्यवस्थापन समिति झापाले विहीबार अर्जुनधारा नगरपालिका–९ स्थित सालबारीमा आयोजना गरेको नमूना अभ्यासको ।

मनसुन सुरु हुनु अघि समितिले प्रत्येक बर्ष यसरी नै नमूना अभ्यास गराउँदै आएको छ । झापाका अधिकांश पालिका बाढीको उच्च जोखिममा छन् । अर्जुधारा, मेचीनगर, भद्रपुर, कनकाई, शिवसताक्षी, दमक, गौरादह नगरपालिका, झापा, गौरीगञ्ज, कनकाई, कचनकवल गाउँपालिका लगायतका क्षेत्रमा बर्षेनी बाढीको प्रकोपबाट ठूलो धनजनको क्षति हुने गरेको छ । 

यही क्षति न्यूनीकरण गरी बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन सहयोग पुग्ने उद्देश्यले नमूना अभ्यासको कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । 

अरिदमन गण चारआली, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीका दुई सय जना र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका ५० जना नमूना अभ्यास कार्यक्रममा सहभागी भएका थिए । 

अभ्यासमा बाढीबाट हुँदा प्रभावित हुने क्षेत्रमा राहत वितरण, उद्धार, उपचारलगायतका सम्पूर्ण कार्यक्रम गरिएको थियो । झापामा १० हजार बढी परिवार प्रत्येक बर्ष बाढीबाट प्रभावित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । 

उहाँले बर्षेनी बाढीबाट १५ जनाको मृत्यु हुने, पाँच भन्दा बढी हराउने, एक सय परिवार पूर्णरुपमा विस्थापित र दुई हजार परिवार आंशिक रुपमा विस्थापित हुँँदै जानकारी दिनभयो । 

कार्यक्रममा २१ नम्बर बाहिनी गणका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गम्देन,अरिदमन गणका गणपति इमेश मेहर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतको उपस्थिति रहेको थियो ।