१२ साउन २०८१, शनिवार

पूर्वीनाका काँकडभिट्टामा भारु नोट सटहीमा सकस

२० जेठ २०८०, शनिवार
Image

झापा, २० जेठ । पूर्वीनाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णय लगत्तै सटहीमा समस्या देखिन थालेको हो ।

एक साता अघि रिजर्व बैंक अफ इन्डियाले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । लगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलन समेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीहरुले भारु नोटमा भुक्तानी लिन छाडेका छन् ।

पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी चेन्जरहरुले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताउनुभयो । उहाँले भारु एक लाख सटही गर्दा नेरु. चार हजार कमिसन दिनु परेको दावी गर्नुभयो । 

उहाँले काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीहरुमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँसिएको जानकारी दिनुभयो । स्थानीय पेट्रोल पम्पहरुमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको पाइएको छ ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगी लगायतका सीमा नाका र बजारहरुमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ । नेपाली व्यवसायीहरुले सेवा तथा बस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन् । 

भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिक मन्दीको मारमा रहेको कारण विक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी चेन्जर व्यवसायीहरु बताउँछन् ।

मेची मनी चेन्जर व्यवसायी संघका अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्याप्छ्याप्ती भएको जनाउँदै सटही गरेर दिनका लागि व्यवसायीहरुसँग पर्याप्त नेपाली रुपैयाँ नभएको बताउनुभयो । 

“भारु सटही हुन छाडेको भन्ने हल्ला मैले पनि सुनेको छु, तथापि सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन,” संघका अध्यक्ष मैनालीले भन्नुभयो–“बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ । नेपाली व्यवसाय मन्दीका कारण ठप्प जस्तै छ । यस्तो बेला भारु किन्न आउने कोही छैनन् । भारु बेच्नेहरु धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो ।”

उहाँले काँकडभिट्टामै ३२ वटा अनुमतिप्राप्त मनी चेन्जर व्यवसायी भएको जनाउँदै नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोवार गर्न नहुने बताउनुभयो । आर्थिक मन्दीका कारण मनी चेन्जर व्यवसाय संकटबाट गुज्रिरहेको र कतिपय व्यवसायीहरु पलायनको अवस्थामा पुगिसकेको अध्यक्ष मैनालीले बताउनुभयो ।

भारु नोट सटहीमा कठिनाई हुँदा भारतमा रोजगार गरेर फर्कने नेपालीहरु सीमा क्षेत्रमा सकसमा परेका छन् । भारतको सिलगढी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपालीहरु काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन् ।

मेघालयबाट फर्केका दैलेखको दुल्लु घर बताउने किसन कुमार शाहीले एउटा होटलको सहयोगमा प्रति हजार रु. चालीसका दरले ‘बट्टा’ दिएर मनी चेन्जरबाट मुस्किलले भारु सटही गरेको बताउनुभयो ।

भारतको आसाम, पश्चिम बंगाल, सिक्किम र विहारबाट झापाको आँखा अस्पतालहरुमा ठूलो संख्यामा आउने भारतीयले भारु नोटमै उपचारको आर्थिक कारोवार गर्दै आएका छन् । काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत समेत ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ ।