झापा, ३० जेठ । मानिसभन्दा पहिले यो धरतीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मूख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ ।
लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ । सामुदायिक स्तरमा नेपालमा कछुवा जोगाउन लागिपरेको यो एकमात्र संरक्षण केन्द्र हो । यहाँ लोपोन्मूख घोषित ठोटरी, तीनधर्के पहाडी कछुवा, थोप्ले पोखरी लगायतका प्रजातिको कछुवालाई संरक्षण गरिएको छ ।
मेची बहुमुखी क्याम्पसमा जीव विज्ञान पढाउने प्राध्यापक तपिलप्रकाश राई कछुवा संरक्षण केन्द्रमा प्रमुख संरक्षणकर्ताको जिम्मेवारीमा हुनुहुन्छ । कछुवाले के खाए ? आज कता डुल्दैछन् ? अण्डा कोरलेका छन् कि छैनन् ? रोगाए कि स्वस्थ नै छन् ? कछुवाहरुको चालचलन कस्तो छ ? यस्तै प्रश्नहरु दिमागमा बोकेर उहाँ कछुवाका विषयमा विद्यावारिधि तहको अध्ययन पनि गर्दै हुनुहुन्छ ।
एघार वर्ष अघि सरिसृप वैज्ञानिक प्रा.डा. केआर खम्बुको पहलमा सुखानी सहिद स्मृति प्रतिष्ठानको सहिद स्मृति उद्यानभित्र कछुवा पाल्न पोखरी खनिएको थियो । झापाका सुक्दै गएका सिमसार क्षेत्रबाहिर बासस्थान खोज्दै निस्कने कछुवाहरुलाई उद्धार गरेर त्यही पोखरीमा ल्याएर राख्न थालिएपछि यो उद्यान कछुवा पालन केन्द्रको रुपमा समेत विकसित भयो । एउटा दुईवटा गर्दागर्दै दर्जनौं कछुवा पाल्न थालिएपछि उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्को नेपाल)को सहकार्यमा कछुवा उद्धार तथा संरक्षण केन्द्रको विधिवत् स्थापना भयो ।
कछुवाको अध्ययनमा रुचि राख्ने हजारौं अनुसन्धानकर्ता, विद्यार्थी र पर्यटकहरु यो केन्द्रमा आउने गरेको मुख्य संरक्षणकर्ता एवम् शोधकर्ता राई बताउनुहुन्छ । केन्द्रमा दुर्लभ आठ प्रजातिका ४० वटा कछुवाको संरक्षण भइरहेको छ भने करीव सय वटा अरु कछुवा नजिकैको पोखरीमा संरक्षित छन् । उहाँका अनुसार झापा ध्वाँसे–कडे–पाते कछुवा, रातो काने, ठोटरी, नरम खवटे, पहेँलो धुरे लगायतका दुर्लभ एवम् लोपोन्मूख कछुवा संरक्षण भइरहेको छ ।
ठोटरी विश्वमा नै अति संकटापन्न घोषित कछुवाको एउटा प्रजाति हो । सालको जंगल आसपासमा यसको बासस्थान रहेको छ । यो कछुवा मध्य पहाड र तराईमा पाइन्छ । मासु खानका लागि मानिसले यसलाई घरपालुवा समेत बनाउने गरेका छन् ।
ध्वाँसे–कडे–पाते कछुवा झापाको टाङटिङ र बिरिङ खोला आसपासमा पाइएको दुर्लभ प्रजातिको अर्को कछुवा हो । मानव वस्ती विस्तार र खोला उत्खननका कारण यसको बासस्थान नै लोप भइसकेको छ । नरम खवटे कछुवा असारदेखि भदौसम्म पानी परेका बेला खोला र खोल्साहरुमा पनि देख्न पाइन्छ । गाउँघरमा यसलाई टिकटिके कछुवा भन्ने गर्छन् ।
प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवालाई संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी र खुल्ला ठाउँलाई सुरक्षित घेराबारा गरेर र बोटबिरुवा रोपेर हराभरा बनाएको छ ।
कछुवाको आयु दुई सय बर्षसम्म हुन्छ भने यो जल तथा स्थल दुबैमा बाँच्न सक्छ । नेपालमा जलवायु परिवर्तनका कारण पुराना सिमसार र दलदले जग्गा सुकेर जाँदा कछुवाको मुख्य वासस्थान मासिएको छ । अर्कातिर मासु खानका लागि शिकार गरिनाले बल्लतल्ल बाँचेका कछुवा पनि सिद्धिदैछन् ।
अर्जुनधारा नगरपालिका–८ की ४० बर्षीया नीलु फुँयाल दैनिक नौ घण्टा कछुवाको हेरचाहमै बिताउनु हुन्छ । उहाँले आफ्ना बालबच्चालाई झैं जल र जमिनमा बस्ने कछुवालाई स्याहार्ने गरेको बताउनुभयो । “बालबालिका जस्तै लजालु हुँदारहेछन् कछुवाहरु,” उहाँले कछुवाको आनीबानी बताउँदै भन्नुभयो–“अलिकति होहल्ला भयो कि पानी र घाँसभित्र लुकिहाल्छन् ।” कछुवाले जंगल र पोखरीको शान्त वातावरण मन पराउँछ । केन्द्रमा कछुवाका लागि प्राकृतिक रुपमै उपयुक्त वासस्थान र वातावरण निर्माण गरिएको छ ।
कछुवा उद्धार तथा संरक्षण केन्द्रमा पाँच बर्षदेखि हेरालुको रुपमा कार्यरत उहाँको मुख्य काम भनेको कछुवालाई आहार खुवाउनु र वयस्क पोथी कछुवाले कोरलेका अण्डाको संरक्षण गर्नु हो । प्रकृतिको महत्वपूर्ण सम्पत्तिका रुपमा जीवित यो प्राणीको संरक्षणका लागि कछुवाका प्रजाति अनुसारको बासस्थान र पौष्टिक आहारको वन्दोवस्त मिलाउनु चुनौतिपूर्ण छ ।
जोगाउनै गाह्रो
पच्चिस हेक्टर क्षेत्रफलको नमुना सामुदायिक बनभित्र तीन हेक्टरको विशाल पोखरी छ । वरिपरि सालका रुखले घेरिएको सो स्थानमा साना साना सुरक्षित पोखरी बनाएर कछुवालाई संरक्षण गरिएका छन् ।
“लोपोन्मूख अवस्थामा पुगिसकेका कछुवाको संरक्षण गर्नु भनेको तिनको प्रजनन गराएर संख्या बढाउनु पनि हो,” संरक्षणकर्ता राई भन्नुहुन्छ–“तर, यो कार्य निकै चुनौतिपूर्ण छ । स्रोत र साधनको कमी हुँदाहुँदै केन्द्रले गरिरहेको प्रयास उपलब्धिपूर्ण मान्नुपर्छ ।”
कछुवाले पोखरीको किनारमा अण्डा कोरल्ने गर्दछ । भर्खर कोरलिएका अण्डा न्याउरी मुसा, कमिला र सर्पले खाइदिने हुँदा जोगाउनै धौं धौं पर्छ ।
केन्द्रमा ५० ग्रामको बच्चादेखि ६ केजीसम्मको कछुवा रहेका छन् । मनसुन सुरु भएसँगै कछुवाको प्रजनन् बेला सुरु हुन्छ । राईका अनुसार एउटा कछुवाले दुईदेखि १० वटासम्म अण्डा कोरल्ने गर्दछ । राम्रो खानेकुरा र वातावरण पाएमा कछुवाले वर्षमा दुईपटकसम्म अण्डा कोरल्ने गर्दछ । अण्डा पारेको १७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा बच्चा निस्कने गरेका छन् ।
कछुवाको संकलन, विक्री वितरण तथा ओसारपसार कानुनी रुपमा दण्डनीय भए पनि जनचेतनाको अभाव रहेको कारण यसको चोरी शिकारी भइरहेको छ ।
चार महिना अघि केन्द्रका संरक्षित कछुवा हराएपछि हाल संरक्षण क्षेत्र वरिपरि सीसी क्यामेरा जडान गरिएको राईले जानकारी दिनुभयो । प्रविधियुक्त सुरक्षामा धेरै ध्यान दिनु पर्ने हुँदा सीसी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो ।
दैनिक चारो : केरा र माछा
केन्द्रमा संरक्षित ४० वटा कछुवा मानिसले दैनिक रुपमा दिने चारोमा निर्भर छन् । उता पोखरीमा विचरण गर्दै आएका अन्य सय वटा कछुवा भने प्राकृतिक आहारमै रमाउँछन् ।
केन्द्रमा साना आठवटा र ठूला दुई गरी १० वटा पोखरीमा कछुवा राखिएको छ । कछुवालाई दैनिक एकपटक पौष्टिक आहार खुवाउने गरेको सुखानी सहिद स्मृति पार्कका व्यवस्थापक रुद्रमणि सुवेदीले बताउनुभयो । उहाँले कछुवालाई महिनामा चारपटक माछा र दैनिक केरा, बन्दाकोपी, स्याउलगायतका खानेकुराको व्यवस्था गरिएको बताउनुभयो ।
कछुवा सर्वभोगी हुने हुँदा माछा, घुँगीसँगै फलफूल खाने गर्दछ । केन्द्रलाई सरकारले उल्लेखनीय सहयोग गरेको पाइएको छैन । उहाँले उद्यानमा घुमघाम र मनोरञ्जनका लागि आउने पर्यटकहरु कछुवा उद्धार तथा संरक्षण केन्द्रको अवलोकनमा समेत आउने गरेको उहाँले जानकारी दिनुभयो ।
अहिलेसम्म कछुवाको चारोको सम्पूर्ण खर्च प्रतिष्ठानले नै व्यहोर्दै आएको व्यवस्थापक सुबेदीको भनाई छ । चोरी र तस्करी नहोस् भनेर नेपाल प्रहरीले पनि सो स्थानमा नियमित गस्ती गर्दै आएको छ ।
लोपोन्मूख कछुवा प्रजातिको संरक्षण गर्ने, प्राकृतिक वातावरणमा प्रजनन गरी बृद्धि गराउने, मानव गतिविधिको कारण जोखिममा परेका कछुवाहरुको उद्धार गर्ने तथा कछुवासम्बन्धी अध्ययन अनुसन्धानका लागि सहजिकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको सुबेदी बताउनुहुन्छ ।
बनभोजले प्रजनन् प्रभावित
कछुवा लजालु प्रकृतिको जीव भएको कारण उद्यानभित्र बनभोज खान हालै रोक लगाइएको व्यवस्थापक सुवेदीले बताउनुभयो । “ठूला ठूला माइक बजाएर होहल्ला हुँदा कछुवाको प्रजनन् प्रक्रियामै अवरोध भयो,” उहाँले भन्नुभयो, “त्यसैले पार्क क्षेत्रभित्र बनभोज खान रोक लगाएका हौं ।”
जुन रुपमा समयसँगै कछुवाको प्रजनन् क्षमता वृद्धि हुनुपर्ने हो त्यो नपाइएपछि केन्द्रकै आग्रहमा उद्यानभित्र बनभोज कार्यक्रममा रोक लगाइएको हो । अचेल बनभोज खानेहरु उद्यान बाहिर जंगलकै क्षेत्रमा जाने गरेका छन् ।
“कछुवालाई तस्कर र न्याउरी मुसाबाट जोगाउन गाह्रो भइरहेको छ”, व्यवस्थापक सुबेदीले भन्नुभयो, “सुरक्षाको लागि प्रहरी प्रशासनलाई अनुरोध गरिरहेका छौं ।”
उद्यानको प्रवेशद्वारमै नेपाल प्रहरीको बिट रहेको छ । झापाको प्रमुख पर्यटकीय केन्द्रको रुपमा विकसित भएका कारण सुखानी स्मृति उद्यान र स्थानीयबासीको सुरक्षामा प्रहरी परिचालित हुने गरेका छन् ।
केन्द्रको वरिपरि आगन्तुकहरुलाई कछुवा संरक्षण बारे जानकारी गराउने बोर्डहरु राखिएको छ । कछुवाको ठूलो मूर्ति बनाएर राखिएको स्थानमा पर्यटकहरु तस्वीर खिच्न रुचाउँछन् । मानवीय होहल्ला धेरै भएकाले कछुवाको संरक्षणमा असर परिरहेको छ ।
तीन बर्ष अघि अर्जुनधारा नगरपालिकाले आफ्नो नगरलाई कछुवा संरक्षित नगरपालिका भनेर सगर्व घोषणा गरेको थियो । तर, अपनत्व नलिइएपछि नगरको घोषणा कागजमै सीमित बनेको छ । “मासिक रु. ५० देखि ७० हजार जति खर्च हुन्छ कछुवालाई खुवाउन र संरक्षण गर्न,” व्यवस्थापक सुबेदीले भन्नुभयो, “प्रतिष्ठानले नै अहिलेसम्म दुःख सुख धानिरहेको छ । तीनै तहको सरकारको सहयोग पाइएन ।”
नेपालमा अस्तित्वमा रहेका ५८ प्रतिशत कछुवा लोपोन्मूख अवस्थामा रहेका छन् । सन् १९९८ मा जर्मन प्राध्यापक डा हर्मन स्लेकले नेपालमा कछुवाको पहिलोपटक अध्ययन सुरु गर्नु भएको थियो । उहाँले चितवनको राष्ट्रिय निकुञ्जमा कछुवाको संरक्षण सुरु गर्नुभयो भने सामुदायिक स्तरमा सबैभन्दा ठूलो र पहिलो संरक्षण झापाको सुखानी स्मृति प्रतिष्ठानमा भइरहेको छ ।
(रासस)