२७ वैशाख २०८१, बिहिवार

नाइजरमा सैनिक ‘कु’, राष्ट्रपति हिरासतमा

११ साउन २०८०, बिहिवार
Image

झापा, ११ साउन । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।

कर्नेल अमादु अब्दराम अन्य नौ जना सैनिक अधिकृतहरुसँगै बसेर टेलिभिजनमार्फत सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले देशको सुरक्षा व्यवस्था लगातार बिग्रिँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।

उनले स्थिति स्थिर नहुन्जेल स्थल र हवाई सिमाना बन्द रहने बताएका छन् । उनले अर्को सूचना जारी नभएसम्मका लागि राति दश बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु जारी गरिएको जानकारी पनि दिए ।

अमेरिकाले भने सेनाको हिरासतमा रहेका राष्ट्रपति बजुमलाई आफ्नो समर्थन गरेको जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बजुमलाई अटुट समर्थन रहेको बताएका हुन् ।

यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पनि राष्ट्रपति बजुमसँग कुराकानी गर्दै उनलाई पूर्ण सहयोग गर्ने बताएको बताएका छन् ।

राष्ट्रपति बजुमले पश्चिम अफ्रिकामा इस्लामी उग्रवाद विरुद्धको लडाइँमा पश्चिमी देशलाई सहयोग गर्दै आएका छन् ।