२५ वैशाख २०८१, मङ्गलवार

‘ड्रागन फल’को उचित दाम पाएनन् किसानले

१८ साउन २०८०, बिहिवार
Image

झापा, १८ साउन (रासस) ः यू–ट्युबमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसानहरु अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् ।

“सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,” गौरीगञ्ज गाउँपालिका–२ मा नौ विगाह जमिनमा ड्रागन फलको खेती गर्दै आउनुभएका भूपेन्द्र थापा भन्नुहुन्छ–“त्यत्रो लगानी र मिहेनत गरियो । अहिले उत्पादन बेच्ने बेलामा बजारमा दामै पाइएन ।”

उहाँले १० हजार सिमेन्टका पिलरमा ४० हजार रातो ड्रागन फलको बोट हुर्काउनु भएको छ । विगत दुई बर्ष अघि रोपिएका ती बोटमा अहिले राताम्य फल लागेर पाकेका छन् । तर दाम भने प्रतिकिलो रु. दुई सयदेखि तीन सयसम्ममा बेच्नु परिरहेको छ ।

उहाँले यू–ट्युवमा पढ्दा ड्रागन फल मिठो, पोसिलो र महँगोमा बिक्री हुने फलफूल हो भन्ने सुनेर त्यसको खेती सुरु गरेको बताउनुभयो । प्रति किलो रु. एक हजारसम्ममा बजारमा हारालुछ विक्री हुन्छ भनेर प्रचार हुने गरेको तर, बजारमा यसको भाउ आधाभन्दा सस्तो रहेको उहाँले गुनासो गर्नुभयो ।

थापाले सुमेरु कृषि फार्म प्रालि स्थापना गरेर ड्रागन फलको व्यावसायिक खेती गर्नु भएको हो । गतबर्ष नै उहाँको फार्ममा फल लाग्न थालेका थिए । यसपाली त लटरम्मै फलेका छन् । 

दमक, विर्तामोड, गौरीगञ्ज, इटहरी र धरानका बजारसम्म पुर्याएर बेच्दा पनि अधिकतम् प्रति केजी रु पाँच सय दाम पाएको उहाँले बताउनुभयो । धेरै फल टिप्नु परेका बेला घाटा सहेर प्रति केजी रु. दुई सयमै पनि बेच्नु परेको हुँदा ड्रागन खेतीमा लगानी डुब्ने जोखिम बढेको उहाँको भनाई छ ।

बुद्धशान्ति गाउँपालिका–१ मा ब्रह्याकमल बगैंचा नामक कृषि फार्मका सञ्चालक कृष्ण पोखरेलले गतबर्षको तुलनामा आधा कम मूल्यमा ड्रागन फल विक्री गरिरहेको बताउनुभयो । उहाँले १० कठ्ठा जमिनमा खेती गर्दै आउनु भएको छ ।

खेतीमा प्रयोग हुने सिमेन्टको पिलर र त्यसमा विरुवा अड्याउने टायरको दाम समेत महंगिएको उहाँले बताउनुभयो । श्रमिकको ज्याला, मलखादको मूल्य लगायतको दाम बढिरहेको जनाउँदै उहाँले बजार र मूल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानहरुमा निराशा बढेको बताउनुभयो । 

असार १५ गतेदेखि फल टिप्न सुरु भएको छ । कार्तिक अन्तिमसम्म फल पाकिसक्ने भए तापनि अहिले फल पाक्ने उच्च सिजन हो । उहाँले गतबर्ष फार्मबाटै न्यूनतम् प्रतिकेजी रु. छ सयमा विक्री गरेको ड्रागन फलको मूल्य हाल आधासम्म ओरालो झरिसकेको छ । उहाँले सामाजिक सञ्जालमै राताम्मे पाकेका ड्रागन फलको तस्वीर पोस्ट्याएर विक्री बढाउने उपाय खोजिरहनु भएको छ । 

कृषि ज्ञान केन्द्र झापाले ड्रागन फल खेतीका लागेका किसानहरुलाई समेत प्रोत्साहन स्वरुप अनुदान दिनेको गरेको जनाएको छ । ज्ञान केन्द्रबाट सुमेरु कृषि फार्मले पिलर निर्माणका लागि गतबर्ष रु. सात लाख अनुदान पाएको थियो । अरु किसानहरुले धेरथोर अनुदान पाउने गरेका छन् । 

सुमेरु कृषि फार्मका सञ्चालक भुपेन्द्र थापाले गत बर्ष रु. १२ लाखको ड्रागन फल विक्री गरेको बताउनुभयो । यसबर्ष उत्पादन दोब्बर हुने भए पनि मूल्य घटेका कारण उहाँले आम्दानी घट्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख चेतराज भण्डारीले जिल्लामा ६० हेक्टर जमिनमा ड्रागन फलको व्यावसायिक खेती हुँदै आएको बताउनुभयो । 

उहाँका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा १५ हेक्टरमा भएको खेतीबाट १८० मेट्रिक टन ड्रागन फल उत्पादन भएको थियो । आर्थिक बर्ष २०७८÷७९ मा ५० हेक्टर जमिनमा यसको खेती विस्तार भएको थियो । जसबाट किसानले ५६८ मेट्रिक टन फल उत्पादन गरेका थिए । गत आर्थिक बर्ष २०७९÷०८० मा ६० हेक्टरमा यसको खेती विस्तार भएको थियो भने उत्पादन ६८५ मेट्रिक उत्पादन भएको थियो । 

मूल्यमा अस्थिरता भए तापनि ड्रागन फलको खेतीमा किसानको आकर्षण बढिरहेको दावी गर्नुभयो । जिल्लाको गौरादह, दमक, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र गौरीगञ्ज, बुद्धशान्ति, कमल, झापा गाउँपालिकामा यसको व्यावसायिक खेती भइरहेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।