झापा, ११ भदौ । नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।
असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश कमिटीको आइतबार बसेको बैठकले प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
प्रदेश कमिटी सहसचिव शैलेश लामाका अनुसार असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् ।
सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने उहाँले बताउनुभयो ।
एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । लामाका अनुसार सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि एक हजार १०० जनासम्म प्रतिनिधि आउनेछन् ।
प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते सपथग्रहण गराउने निर्णय पनि गरेको छ ।
प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति गठन गरेको प्रदेश कमिटी बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्नका लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बसेको कार्यदलमा अर्का पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुवोध प्याकुरेल सदस्य छन् ।