१६ वैशाख २०८१, आइतवार

महालक्ष्मी रथयात्रालाई उपसभामुख रानाले स्वागत गर्ने

१३ भदौ २०८०, बुधवार
Image

मेचीनगर, १३ भदौ । विश्वभरिका अग्रवालहरुकी कुलदेवी महालक्ष्मीको भारतमा जारी रथयात्रा यही भदौ १५ गते काँकरभिट्टाबाट नेपाल प्रवेश गरी धरान–विराटनगर हुँदै फर्किने भएको छ ।

मेचीनगरका रथयात्रा संयोजक एवम् मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाका अनुसार रथयात्रालाई पूर्वी प्रवेशद्वारमा संघीय संसद्की उपसभामुख इन्दिरा रानाको नेतृत्वमा स्वागत गरिने कार्यक्रम रहेको छ ।

नेपाल प्रवेश लगत्तै काँकरभिट्टाको हनुमान मन्दिरमा नेपालतर्फको रथयात्रा उद्घाटन हुनेछ भने पहिलो दिन काँकरभिट्टा, धुलाबारी हुँदै विर्तामोडमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको विर्तामोड संयोजक वेदप्रकाश अग्रवालले बताउनुभयो ।

यसैगरी, भदौ १६ गते सुरुंगा, दमक, उर्लावारी हुँदै धरानमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको मेची संयोजक पुनित बंशलले जानकारी दिनुभयो ।

धरानबाट भदौ १७ गते धरानबाट हिँड्ने रथयात्रा दुहबी हुँदै विराटनगरमा रात्रि विश्राम गरेर भदौ १८ गते जोगबनी हुँदै भारततिर प्रस्थान गर्ने जनाइएको छ ।

धरान पनि जाने

हरियाणाको अग्रोहबाट चार वटा रथयात्रा चार दिशातिर लागेको र एउटा रथ काँकरभिट्टा हुँदै नेपाल आउने बताइएको छ । 

रथयात्राले भारत, भूटान र नेपालको विभिन्न स्थान पुग्ने कार्यक्रम बनाइएको छ । जसमध्ये हाल सम्बेदनशील मानिएको धरान पनि रथयात्रा पुग्ने र रात्रि विश्राम गर्ने कार्यक्रम आयोजकहरुले तय गरेका छन् ।

‘धरानमा हाल भइरहेको विभिन्न घटना परिघटनासँग हाम्रो रथयात्राको साइनो छैन,’ रथयात्राको संयोजन गरिरहेका विर्तामोडका अग्रवाल समुदायका अगुवा व्यक्तित्व वेदप्रकाश अग्रवालले भनेका छन्–‘यो हाम्रो विशुद्ध कुलदेवी महालक्ष्मीको आशिर्वाद लिने रथयात्रा हो । अग्रोहा धाम, महाराज अग्रसेन, मारवाडी समुदायको इतिहास आदि बारेमा जानकारी गराउँदै रथयात्रा अघि बढ्छ । धरानको हालैका घटनाभन्दा धेरै अघि नै हाम्रो रथयात्राको तय भएको हो ।’

रथयात्रामा भारतबाट एउटा विद्युतीय रथगाडीसँग चार जना मात्र आउने र स्थानीय अग्रवाल समुदायले नै आफ्नो क्षेत्रमा रथयात्रालाई अघि बढाउने कार्यक्रम रहेको आयोजकको भनाई छ ।

व्यापार, धार्मिक गतिविधि र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याउँदै आएका अग्रवालहरु नेपालमा डेढ लाखको हाराहारीमा रहेको मेचीनगरका पुनित बंशल बताउँछन् । 

नेपालमा अग्रवाल समुदायको बसोबासको इतिहास चार सय वर्षको छ । पहाड र तराईमा उनीहरुको बसोबास रहेको छ ।