६ पुष २०८१, शनिवार

पाहुनालाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो आचार

१४ असोज २०८०, आइतवार
Image

झापा, १४ असोज । गौरादह नगरपालिका –५ मा रहेको नमुना एकीकृत सहकारी खेती विउ उत्पादन समूहमा आवद्ध महिलाहरुले अचार, पापडलगायत छ वटा नमूना उद्योगहरु सञ्चालन गरेका छन् । सहकारीमा आवद्ध महिलाहरुले आफू स्वरोजगार बन्ने र स्थानीय क्षेत्रमा उत्पादित सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरेको बताएका छन् । 

सहकारीमा आवद्ध शेयर सदस्यले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तुहरु कागती, आँप, गाँजर, तामा, जलपाई र चारपाटेलगायत विभिन्न प्रकारका आचार चार बर्ष अघिदेखि उत्पादन गर्दै आएको नमूना आचार उद्योगकी अध्यक्ष सकुन्तला प्याकुरेलले बताउनुभयो । उहाँले अकबरे खुर्सानी भने इलाम, पाँचथरबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो ।


महारानी झोडा साना किसान कृषि सहकारी र एकीकृत नमूना सहकारी खेतीमा दैनिक जसो मुलुकका विभिन्न स्थानका संघसंस्थाहरुबाट भ्रमणमा आउन थालेपछि पाहुनालाई यस क्षेत्रको कोसेली हुने र आम्दानीको स्रोत पनि बन्ने देखेर नमूना अचार उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो । 

सुरुमा छ जना महिला मिलेर रु. १८ हजार लगानीबाट सुरु गरेको आचार उद्योगको हाल आफ्नै भवनसहित सुविधा सम्पन्न ल्याब र अचार बनाउने औजारसहित रु ३५ लाख बराबरको सम्पति रहेको छ । उहाँले बार्षिक आचार विक्रीमार्फत मात्र रु. छ लाख आम्दानी हुने गरेको बताउनुभयो । 

महिलाहरुको जाँगर र पौरख देखेपछि उद्योगलाई भवन बनाउनका लागि गौरादह नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक सहयोग गरेका थिए । घरायासी कामधन्दा सकेर बचेको समय महिलाहरुले आचार उद्योगलाई दिँदै आएको उहाँको भनाई छ । 

“नाफा बाँडेका छैनौ, जति कमाउँछौ त्यही उद्योगमा लगानी बढाइरहेका छौं”, अध्यक्ष प्याकुरेलले भन्नुभयो, “यहाँ उत्पादित अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौ । जब लक्ष्यमा पुग्छौं अनि मात्र मुनाफा बाड्छौं ।”

महिलाहरुको मिहिनेत र परिश्रम देखेर एक बर्षका लागि सिट कन्ट्याक्ट नामक विदेशी एनजिओले सहज नेपालमार्फत आर्थिक सहयोग गरिरहेको उहाँले बताउनुभयो । नेपालले बजारीकरण, ल्याब सञ्चालन र कर्मचारीलगायत विभिन्न कार्यमा लाग्ने खर्चको ५५ प्रतिशत सहयोग गरिरहेको अध्यक्ष प्याकुरेल बताउनुहुन्छ ।

नेपालले आचार, पापड र दुग्ध परिकार उद्योगलाई नै जम्मा लगानीको ५५ प्रतिशतले आर्थिक सहयोग गरिरहेको छ । सहकारीले हाल चिप्स उद्योग, माछापालन, नमूना कडटम हाइरिङ, बागबानी खेती, गाई फार्म, नमूना फड्स् उद्योग, नमुना घरवास र नमूना खाद्य उद्योग सञ्चालन गरिरहेको छ । 

उहाँ उत्पादित सामाग्री विक्री वितरणका लागि कोसेली घर स्थापना गरिएको छ । सहकारी क्षेत्रका भ्रमणमा आउनु हुने पाहुनाले दैनिक रु. १० देखि १५ हजार सम्मको आचार कोसेली घरबाट खरिद गरेर लैजाने गरेका छन् ।

उद्योगमा उनीहरूले आफू मात्र नभएर, गाउँका अन्य महिलालाई समेत रोजगारी दिँदै आएका छन् । उहाँले भन्नुभयो “ यहाँ सञ्चालित उद्योग व्यवसायले हामी सदस्यलाई मात्र फाइदा गरेको छैन, उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो खोलेका छौं ।” यहाँ उत्पादित सामान झापा, मोरङ, सुनसरी, इलामदेखि हेटौडा र काठमाडौंसम्म पुग्ने गरेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।