वि.सं. १९७७ मा तीन नम्बर ओखलढुंगाको बिकु टक्सारमा जन्मिनु भएकी जुनधरा पोखरेल हाल मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टामा साइलो छोरा गणेशप्रसाद पोखरेलसँग बस्दै आउनुभएको छ । उहाँ १०४ बर्षको हुनुभयो । उहाँ उमेरले पाको भए तापनि भुइँमा कमिलो हिंडेको देख्नुहुन्छ भने मसिनो स्वरमा कसैले बात मारेको मज्जाले सुन्नुुहुन्छ ।
दश बर्षको उमेरमा ओखलढुंगा चारखु गाउँका लक्ष्मीप्रसाद पोखरेलसँग लगनगाँठो कसेर पालकी चढेर पराई घर पुग्नु भएकी जुनधराको विवाहपछिका दिन घर धन्धा स्याहार्न र बालबाच्चा हुर्काउनमा बित्यो । “माइतीमा नाँच्दै गाउँदै दिनैपिच्छे खिर मात्र खाएर हुर्किएकी चुलबुले केटी थिएँ”, उहाँले बाल्यकाल सम्झ्दै भन्नुभयो, “विवाहपछि १० जना हलि गोठालासहित ४० जनालाई दैनिक खाना पकाएर खुवाउनुपर्यो ।” छोरीबाट बुहारी हुन गाह्रो भएको उहाँको भनाई थियो ।
बुबा हरिप्रसाद र आमा पदममाया दाहालबाट जन्मिएकी जुनधराका छ भाई छोरा र चार बहिनी छोरी जन्मिए । ती सबै सन्तानलाई उहाँले कक्षा ५ देखि वीएसम्म पढाउनुभयो । जसमध्ये उहाँका दुई छोरा साइलो गणेश पोखरेल र काइलो होमराज पोखरेल जागिरे भए पनि जेठो छोरा गोविन्दप्रसाद भने वि.सं. २०२० देखि वेपत्ता हुनुहुन्छ । माइलो छोरो रेवतिलाल पोखरेल अपांग हुनुहुन्थ्यो । कान्छो छोरा माधव पोखरेल इनरुवाको तत्कालीन प्रधानपञ्च र हाल नेकपा एमालेको कोशी प्रदेश सल्लाहकार हुनुहुन्छ । उहाँका दश सन्तानमध्ये हाल दुई छोरा ७० बर्षीय गणेश, माधवप्रसाद र एक छोरी ७४ बर्षीया प्रेमकुमारी ओझा मात्र जीवित हुनुहुन्छ ।
उहाँका २२ जना नाति, नातिना २२ जना पनाति पनातिना र चार जना जनाति जनातिना रहेका छन् । उहाँका नाति, पनातिहरु अध्ययनकै शिलशिलामा अस्ट्रेलिया, क्यानाडा र अमेरिकामा छन् । साइलो छोरा गणेश पोखरेलले जुनधारा पहाडबाट मधेश झरेपछि आफुसँगै बस्दै आउनु भएको र उहाँ सदावहार निरोगी रहनु भएको बताउनुभयो । “२० बर्षअघि एकपटक बिरामी हुनुभयो,” छोरा गणेशप्रसादले भन्नुभयो–“त्यसबेला डाक्टरले फोक्सोमा जमेको ११ सय मिलिलिटर पानी निकालेका थिए । त्यसपछि हालसम्म कहिलेकाहिँ रुघामर्की र सामान्य ज्वरो बाहेक कुनै रोग लागेको थाहा छैन ।” छोरा गणेशप्रसाद मृगौलामा समस्या देखिएपछि हप्तामा तीनपटक ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा डायलासिस गराउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ– “बरु हामी रोगी भयौं, हाम्री आमा अझै स्वस्थ हुनुहुन्छ ।”
विहान ४ बजेर नै उठेर नुहाई धुवाई गरी पूजा पाठ गर्ने जुनधराको दैनिकी छ । सामान्य दाल, भात, तरकारी र दुध, फलफूल उहाँको दैनिक भोजनमा पर्छ । बेलुका १५ मिनेट ध्यान, जप गरेर मात्र खाना खाने उहाँको बानी छ । बेलुका ८ बजेसक्दा उहाँ ओछ्याउनमा पुगिसक्नुहुन्छ । हिँडडुलका लागि लौरोको सहारा लिनुहुने उहाँ खानेकुरा खान र शौचालय जान आफै सक्षम हुनुहुन्छ । उहाँ दिनभरि आँगन र घरछेउको बाटो किनारमा कुर्सीमा बसेर गाउँका पाका र केटाकेटीहरुसँग बात मारेर रमाउनुहुन्छ ।
उहाँ अहिलेको पैसा उतिबेलाको भन्दा सस्तो भएको बताउनुहुन्छ । उहाँले आफ्नो जवानीकालमा रु. १० का सिन्दुरे नोट, रु. १०० का गैंडानोट, पाँचका सेता नोट र रु. १ को रातो नोट चल्तीमा रहेको बताउनुभयो । बाल्यकालका बेला भने प्रायः सिक्का पैसाको चलन बढी थियो रे । “त्यो बेलाको सबै कुरा सस्तो थियो नि नानी,” उहाँ भन्नुहुन्छ–“एक मोहोरमा धार्नी मासु पाइन्थ्यो, अहिले त केटाकेटी एक हजारमा एक किलो ल्याएको भन्छन् ।”
‘हराभरा तोरी सानीमाकी छोरी’ जुनधरा सानो छँदा गाउने र खेल्ने गीत सम्झिनुहुन्छ । बिहेको भएको दश वर्षको उमेरमा उहाँलाई आफ्नो विहे हुँदैछ भन्ने पनि थाहा थिएन । आफन्त, नाता गोताले घर भरिएको थियो । ध्वजापताकाले घर सिंगारिएको देखेर मख्ख जुनधराले विहेको दिन सम्झिदै भन्नुभयो–“आमाले नानी यता आइज भनेर हातमा समाएर टाँडमा लैजानु भयो, अनि नयाँ लुगा र गहना लगाएर आँगनको जग्गेमा बसाउनुभयो ।” उहाँको विवाह वि.सं. १९८८ तिर भएको थियो । “जग्गेमा भाडाकुटी खेलेजस्तो लागेको थियो”, उहाँले भन्नुभयो–“मेरो त विहे पो भएको रहेछ ।”
उहाँलाई जीवित देउताको रुपमा दर्शन गर्न र आशिर्वाद लिन राजनीतिज्ञ, पत्रकार, डाक्टरदेखि सामाजिक अभियन्तासम्म आउने गरेका छन् । बोली प्रष्ट बुझिने, कान मज्जाले सुन्ने र आँखा प्रष्ट देख्ने हुँदा घरमा आउने आगन्तुक जोसुकैसँग उहाँ रमाएर गफिनुहुन्छ । एकपटक देखेको मान्छे अर्कोपटक पुग्दा “तपाई अस्ति आउने फलानो नानी होइन” भनेर सोध्नुहुन्छ । उहाँको स्मरणशक्ति तेज रहेको छोरा गणेशप्रसादको भनाई छ ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषले हालै प्रकाशित गरेको शताब्दी व्यक्तित्व कृतिबाट साभार
(उहाँसँग भेटेर कुराकानी भएको मिति ः २०८० भदौ १७ गते)