१८ मंसिर २०८१, मङ्गलवार

आँगन परदेश भयो १२० वर्षकी पुहानीलाई

१४ कार्तिक २०८०, मङ्गलवार
Image

बुढ्यौलीले हाडछाला मात्र भएको मेचीनगर नगरपालिका वडा नं. ७ की पुहानी राजबंशीको संसार अब आँगनमा सीमित भएको छ । उहाँको शिथिल शरीरलाई माटोको टाटीबेरा भएको सानो झुपडीमा भित्रबाहिर ओहोरदोहोर गराउँदा अस्थिपञ्जर हिँडेको जस्तो देखिन्छ । माटोको भुइँमा साँघुरो कोठाको ओछ्यानमा उहाँको रात बित्छ भने दिउँसो आँगन छिचोलेर मुस्किलले बाटो छेउसम्म पुग्नुहुन्छ । 

हिँडडुल गर्न र खानपिउन सक्षम भए तापनि उहाँलाई बिर्सने समस्या छ । जेठो छोरा फतलाल राजबंशीले आमा पुहानीलाई पालनपोषण गरिरहनु भएको छ । फतलालको पनि गरिखाने मेलो मजदुरी नै हो । पुहानी आँखा टड्कारो देखे पनि कान राम्ररी सुन्नुहुन्न ।

‘कति वर्षको हुनुभयो ?’ भनेर सोध्दा पुहानी आफ्नै मातृभाषामा गुनगुनाउनु भयो । प्रष्ट बोली बुझिएन । त्यसपछि उहाँको छोरा फतलालले भन्नुभयो–“१२० वर्ष पुग्नुभयो । नेपाली भाषा बोल्नुहुन्न ।” एक सय बीस वर्ष उमेर भन्नासाथ अचम्म लाग्यो । नागरिकतामा चाहिँ उहाँको उमेर सय मात्र नाघेको छ । तर, फतलाल आफ्नी आमाको नागरिकतामा सरकारी मान्छेहरुले कम उमेर लेखिदिएको दावी गर्नुहुन्छ । 


गर्मीका कारण सानो गम्छाले कम्मरमुनी र घुँडामाथिको भाग मात्र ढाकेर बस्नुहुन्छ उहाँ । उहाँलाई पालनपोषण गर्दै आउनु भएको जेठो छोरा फतलालका अनुसार उहाँको जन्म र कर्मस्थान नै अहिले बसेको गाउँ मदनबस्ती हो । मदनबस्ती पूर्वपश्चिम राजमार्गको इटाभटटा चोकबाट करिब दुई किलोमिटर दक्षिणमा पर्छ । माटोले चिटिक्क लिपेको, जस्ता पाताको खिया लागेको छानो र टाँटीको बेरा बारेको सानो दुई कोठे भुइँघरमा उहाँ बस्नुहुन्छ । सडकै छेउमा रहेको घरको आँगनमा सानो भान्सा घर पनि छ । उहाँ आफू नेपाली भाषा बुझे पनि बोल्न जान्नुहुन्न् । कुनै बेलाका जमिन्दार बुबा जयसिंह राजवंशी र आमा पारपानीबाट उहाँको जन्म भएको हो । 

“ठ्याक्कै जन्ममिति थाहा छैन”, उहाँको जेठो छोरा फतलाल दाबीका साथ भन्नुहुन्छ, “आमा १२० बर्ष पुग्नुभयो । सरकारी मान्छेले नागरिकता बनाउँदा उमेर घटाइदिएँ ।” पुहानी स्मरणशक्ति गुमेको वृद्धावस्थाका कारण आफनो विगत बताउन सक्नुहुन्न । उहाँका पाँच छोरा र तीन छोरी थिए । जसमध्ये हाल तीन छोरा र एक छोरी मात्र जीवित छन् ।

केही वर्ष अघिसम्म आँगन र बाटोमा आफै हिंडडुल गर्ने, कुचोले आँगन बढारिरहने राजवंशीलाई हाल बसेका ठाउँबाट उठेर शौचालय जान साथी चाहिन थालेको छ । उनको विहे कति उमेरमा कहिले भयो भनेर छोराले बताउन सक्नुभएन । उहाँले आमालाई राजवंशी भाषामै सोध्नु भयो, “तमार विहा कुन बेला होइछे (कति सालमा विहे भएको) ?” आमाले विस्तारै बोल्नु भयो तर कुरा बुझ्नै सकिएन । छोराका अनुसार उहाँले सबै कुरा विर्सन थाल्नुभएको छ । खाना खाए नखाएको कुरा समेत थाहा हुन छाडेको छोराको भनाई छ । पहिले प्रशस्त खेतीयोग्य जमिन भएका पुहानी राजवंशीको परिवारमा हाल दुई कठ्ठा जमिन मात्र छ । 

जग्गा जमिन धेरै भए पनि अन्य आम्दानीको स्रोत थिएन । भएको जमिन सस्तोमा बेच्दै परिवारमा विमार हुँदा औषधि उपचार गर्दा बाबुकै पालामा जमिन सिद्धिएको फतलालको भनाई छ । सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता (ज्येष्ठ नागरिक भत्ता) लिन उहाँ आफैं सिटी सफारी चढेर काँकरभिट्टासम्म पुग्नुहुन्थ्यो । 

चिउरा, दाल, भात, साग र माछा खाना रुचाउने राजवंशी निरोगी हुनुहुन्छ । उहाँको शरीरमा कुनै रोग छैन । तर बुढ्यौलीले थलिनु भएको मात्र हो । उहाँ विहान ९ बजेतिर उठ्ने र साँझ ८ बजेनै सुत्ने गर्नुहुन्छ । सकेसम्म मुखबाट बिडी निकाल्न नमान्ने उहाँको अम्मली बानी रहेछ । दैनिक एक मुठा बिंडीले पुग्न छाडेको छोराको भनाई छ । 

उहाँको १२० वर्षको उमेरलाई पुष्टि गर्ने कागजी कुनै प्रमाण छैन । आदिबासी समुदायमा जन्मतिथिलाई संग्रह गर्ने चलन नभएको र उहाँको छरछिमेकी एवम् परिवारका सदस्यहरुको भनाईलाई आधार मान्ने हो भने उहाँ देशकै सबैभन्दा ज्येष्ठ नागरिक बन्न सक्नुहुन्छ । वडाध्यक्ष प्रह्लादमणि ओली जिउँदो भगवानको रुपमा रहनुभएकी पुहानीलाई भेट्न बारम्बार गइरहनु हुन्छ । वडाध्यक्ष ओलीले आमाको स्वास्थ्य अवस्था र भत्ता बारेमा जानकारी लिने गरेको फतलालको भनाई छ । 

छोरा फतलालका अनुसार उहिले पुहानी हप्तैपिच्छे धुलाबारी, भारतको नक्लबाडी, बतासीसम्म किनमेलका लागि जाने गर्नुहुन्थ्यो । आज उहाँका लागि घरको आँगन नै पराई भएको छ । रातभर घरभित्र सुत्ने र दिनभर दैलो छेउको सिकुवामा उहाँको दैनिकी वित्ने गरेको छ । अब उहाँलाई कहीँ घुम्न जाने रहर रहेनछ । “कहाँ घुम्न मन छ आमा ?” भनेर सोधिएको प्रश्नमा उहाँले राजवंशी भाषामै भन्नुभयो, “जतिसक्दो चाँडो खोलामा जान मन छ ।”

राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा हालै प्रकाशित कृति शताब्दी व्यक्तित्वबाट साभार

(उहाँसँग भेटेर कुराकानी भएको मिति ः २०८० भदौ १८ गते)


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।