१६ वैशाख २०८१, आइतवार

सहर पस्न थाले भोकाएका जंगली हात्ती

७ असोज २०८०, आइतवार
Image

तस्वीर सौजन्य ः शंकर लुईटेल

झापा, ७ असोज । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक विहान बगैचामा फुल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फुल टिप्ने आम चलनै छ तराईतिर । 

गत असार १८ गते विहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उहाँलाई जंगली हात्तीले लपेटेर किच्यो । जंगली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।

असार १९ गते अर्जुनधारा वडा नं. ३ की १३ वर्षीया इक्सा लिम्बु छिमेकी भाउजुको घरमा साथी बस्न गएकी थिइन् । राति ३ बजेतिर आहार खोज्दै आएको जंगली हात्तीले घर भत्काउन थाल्यो । इक्साकी भाउजु जसोतसो भागेर अर्को घरमा पुग्नुभयो, तर उनी भने हात्तीको सुँढमा बेरिइन् । हात्तीको दाह्राले घोचिँदा उनको पेटमा ठूलो प्वाल नै पर्यो । चन्दा उठाएर घाइते इक्साको बल्लतल्ल उपचार भएको छ ।

जंगलमा विचरण गर्ने हात्तीहरु पहिले पहिले गाउँवस्तीमा कहिलेकाहिँ मात्र आउँथे । सहरतिर पसेको त विरलै सुनिन्थ्यो । अहिले हात्तीको घुमफिर र चर्तिकला बदलिएको छ । दिनभरि जंगलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन् ।

गत वर्ष बुद्धशान्ति–५ की सम्झना श्रेष्ठलाई स्कुटर चढेर सडकमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रामक हात्तीले श्रेष्ठको ज्यान नै लियो । स्कुटरमा गुडिरहँदा र आँगनमै फूल टिप्दा समेत सर्वसाधारण हात्तीबाट असुरक्षित भएपछि जनमानसमा त्रास बढेको छ ।

भदौको तेस्रो साता उपसभामुख इन्दिरा राना गृहजिल्ला झापा आउनु भएको थियो । काठमाडौं फर्किने दिउँसो उहाँको बसोबास रहेको अर्जुनधारा–११ सालबाडी नजिकै जंगलमा दिउँसै जंगली हात्तीको बथान देखा पर्यो ।

“गाउँको चिया बगानमा हात्तीको बथान आएको खबर सुनेपछि उपसभामुख दिदी घटनास्थल नजिक पुग्नुभयो,” उपसभामुखका छिमेकी पत्रकार रञ्जित परियारले भन्नुभयो–“हात्तीलाई हेर्न झुम्मिएका मानिसको भीड देखेपछि उहाँले हात्तीको छेउछाउ नजान र हात्तीलाई नजिस्काउन स्थानीयलाई आग्रह गर्नुभयो ।”

झापामा दिउँसो जंगली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ । झापाको उत्तरी भाग बाहुनडाँगीबाट प्रवेश गरेका सयौं हात्तीको हुल केही अवधि डुलेपछि भारततिरै फर्किने गरेका छन् । तर, रैथाने हात्ती भने जिल्लाका हरेक पालिकाका बस्तीसम्मै देखिने गर्छन् ।

आहार खोज्दै बजारतिर 

गत महिना पूर्वपश्चिम राजमार्गको कनकाई खण्डमा पर्ने सुरुंगामा हात्तीले रातभर बजार डुलेको भिडियो भाइरल भएको थियो । एक्लै पुगेको हात्तीले पसलमा राखिएको स्वादिष्ट खानेकुरा र नुनलाई छानी छानी आहार बनाएको थियो । 

सुरुंगा बजारमा जंगली हात्ती डुल्दा जनधनको सुरक्षाका लागि रातभर प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले हात्तीलाई अनेक प्रयास गरेर सुरक्षित रुपमा जंगलतिर धपाएका थिए ।

भद्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम दाहालका अनुसार जंगली हात्ती भद्रपुरको सहरिया बस्तीमा समेत बारम्बार आउने गरेको छ । भद्रपुर–९ को पारिजात चोक, प्रणामी टोल र पुहातुबारीमा नजिकैको निचाझोडा जंगलबाट हात्ती आउने गरेका छन् ।

बाहुनडाँगी, खुदुनाबारी, चारआली, बुधबारे, पुहातुबारी, जलथल, घेराबारी, धुलाबारी, ज्यामिरगढी लगायतका मानव बस्ती रहेको क्षेत्रमा हात्ती रातैपिच्छे आउने, बाली खाने, घरगोठ भत्काउने, मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

हात्ती संरक्षण अभियानमा लाग्नु भएको शंकर लुइँटेलका अनुसार झापामा भारतको सुकुना जंगलबाट प्रवेश गर्ने र स्थानीय जंगलमा डुलिरहने गरी दुई खाले जंगली हात्ती पाइन्छन् ।

उहाँका अनुसार गत वर्ष एकैखेपमा ३० वटा हात्ती भारतबाट पसेका थिए । ती अहिलेसम्म फर्केका छैनन् । झापा, मोरंग र सुनसरीको सामुदायिक बनहरुमा ती हात्ती बाँडिएर डुलिरहेको लुइँटेलको भनाई छ । 

यस बाहेक झापाका सामुदायिक बनहरुमा बर्षौदेखि आश्रय लिदै आएका १३ वटा रैथाने हात्ती छन् । रैथाने हात्ती एक्लै बस्छन् र एक्लै सहरतिर पस्छन् । एक्ले हात्ती धेरै अटेरी र क्षतिदायक हुने गरेको छ । भारतबाट गत वर्ष आएका हात्ती झुण्ड झुण्डमा जंगलभित्रै बसेका छन् ।

“जंगलमा आहार पाइँदैन, बस्ती नपसेर कहाँ जाउन्,” संरक्षण अभियन्ता लुइँटेल भन्नुहुन्छ–“पर्यापर्यटन भनेको छ, पिकनिक स्पट बनेका छन् । हात्तीले खाने आहार जंगलभित्र पाउन छाडेकाले तिनीहरु खानेकुरा खोज्न गाउँ र सहरतिर निस्किन बाध्य भएका छन् ।”

पिकनिक स्पटमा मानिसले फ्याक्ने प्लास्टिकका थैलीमा रहेका नुनिला र स्वादिला खानेकुरा चाट्न पल्किएका रैथाने हात्तीले सहर पसेर त्यस्तै आहारको खोजी गरिरहेको लुइँटेलको भनाई छ ।

मेचीनगर–४ का वडाध्यक्ष एवम् हात्ती संरक्षण अभियन्ता अर्जुन कार्की जंगली हात्तीलाई आहार हुने विभिन्न फलफूलका बिरुवा जंगलभित्र हुर्काउन सके हात्ती सहर र बस्ती पस्ने क्रम रोकिने धारणा व्यक्त गर्नुहुन्छ । 

उहाँले बिगत एक दशकदेखि सीमावर्ती मेची नदीको बगर र सामुदायिक बनहरुमा हात्तीका लागि प्रिय केरा, कटहर लगायतका फलफूलका विरुवा लगाउनु पर्ने वकालत गर्दै आउनु भएको छ । हात्तीलाई पल्काउने फलफूल जंगलमा हुर्काउँदा हात्तीले स्थानीय बन क्षेत्रलाई स्थायी बासस्थान बनाउँलान् भनेर कतिपय स्थानीयबासी कार्कीको योजनासँग सहमत छैनन् ।

गोबरमा चाउचाउको खोल

जंगली हात्ती पछिल्ला वर्षहरुमा नुनिला र गुलिया जंक फुडको स्वादमा पल्किएको हुनसक्ने प्रमाणहरु भेटिएका छन् । हात्ती छिर्ने नेपाल–भारतको गौडाहरु रहेको मेचीनगर–४ को बाहुनडाँगी क्षेत्रमा हात्तीले त्याग गरेको मलमा चाउचाउ, बिस्कुट र कुरमुरेका प्याकेटका खोल बारम्बार भेटिएको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।

“जंगलको पिकनिक स्पटहरुमा फ्याँकिएका खानेकुरा चाटेर खोलसँगै हात्तीले निल्ने गरेका छन्,” कार्की भन्नुहुन्छ–“त्यहीकारण मेची खोलाका बगर र बनमा हात्तीको गोबरमा चाउचाउ, बिस्कुट र प्लास्टिकका खोल भेटिन थालेको हो ।”

चाउचाउ लगायतका नुनिला तयारी खानेकुरामा पल्किएको हात्ती त्यही खानेकुराको खोजीमा सहर पस्ने गरेको र जम्काभेटमा मानवीय क्षति समेत हुने गरेको उहाँ बताउनुहुन्छ । हरेक दिन २०० केजी आहार हात्तीले खाने गरेका छन् । जंगलमा आहारको गुञ्जाइस नभएपछि हात्तीले गाउँका भान्साकोठा र सहरका पसल तोडफोड गर्दै आएका छन् ।

गत वर्ष झापामा ८ जना मानिसको मृत्यु र ७ जना घाइते भएका थिए । हात्ती २ वटा मरेका थिए । यसरी मानव–हात्तीबीचको द्वन्द्वका बर्षौदेखि चल्दै आएको छ । मानिस र हात्तीले एउटै स्थानलाई आफ्नो बासस्थान बनाउँदै आउँदा द्वन्द्व चर्किएको हो ।

झापामा पाँच अघिदेखि जंगली हात्तीका कारण स्थानीयबासीले जनधनको क्षति व्यहोर्दै आएका छन् । झापामा बिगत १२ वर्र्षमा हात्तीले ६२ जनाको ज्यान लिएको र करोडौंको धनमाल क्षति गरेको डिभिजन बन कार्यालय झापाले जनाएको छ ।

जंगलै फर्काउन फलफूल रोपौं

जंगली हात्तीको उपद्रो उत्कर्षमा रहे तापनि मानव वस्ती, बाली र भौतिक सम्पत्ति जोगाउन हालसम्म गरिएका प्रयासहरु शतप्रतिशत भरपर्दो सावित हुन सकेका छैनन् ।

पटाका पड्काउने, फक्स लाइट बाल्ने र हवाई फायर गर्नेदेखि सीमा क्षेत्रमा सात किलोमिटर लामो सुरुङ खन्ने परियोजनाहरु बिगतमा प्रयोग गरिए । अहिलेसम्मका प्रयासमध्ये सौर्य विद्युतीय घेराबेरा सबैभन्दा लाभदायक देखिएको छ । 

संघीय र प्रदेश सरकारले विभिन्न कालखण्डमा विद्युतीय घेराबेराका लागि करोडौं बजेट बिनियोजन गरिसकेका छन् । तर, जंगलको हात्तीलाई जंगलमै फर्काउन उसका लागि मनपर्ने फलफूलका विरुवा जंगलमा रोप्ने योजनामा भने कसैले पनि बजेट हालेका छैनन् ।

“घेराबाराले मानववस्तीसँगै अन्नबाली समेत जोगाउने भएकाले यो प्रोेजेक्टमा सरकारले लगानी बढाउँदै आएको हो”, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती भन्नुहुन्छ, “हात्ती आफ्नो बाटो हिँडोस्, जंगलभित्रै डुलफिर गरोस्, तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनाश गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय घेराबेराका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौं ।”

झापाको प्राकृतिक जंगलको रुपमा निचाझोडा र जलथल चारकोशे झाडी रहेका छन् भने दर्जनौं सामुदायिक बन जिल्लाभर फैलिएका छन् । दक्षिणको कचनकबलदेखि उत्तरको बाहुनडाँगीसम्मको १२० किलोमिटर लामो सौर्य विद्युतीय घेराबेराको कार्य अन्तिम चरणमा पुगिसकेको छ । 

निचाझोडा, जलथल, पाँचपोखरी, जुकेखाडी, तेलपानी र रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र रैथाने हात्तीले बासस्थान बनाएका छन् । ती जंगलभित्र हात्तीका लागि खाने आहारको अभाव भएको हुँदा भोकाएका हात्तीहरु साँझ पर्नासाथ मानव वस्तीतिर पस्ने गरेको जानकारहरु बताउँछन् ।

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेल मानिसले आफ्नो मात्र नभएर यो धरतीकै सबैभन्दा ठूलो प्राणी हात्तीको सुरक्षित बासस्थान र आहारका पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । “हात्तीको सबैभन्दा ठूलो संकट नै आहारको खोजी हो,” खरेल भन्नुहुन्छ–“दैनिक २०० केजी आहार नभए उसको पेट भरिन्न । अहिलेको जंगलमा बाँदर र चराले खाने आहार नै छैन । हात्तीहरु बाँच्नका लागि आहारको खोजी गर्दै मानव वस्तीमा पस्ने गरेका छन् । जंगलमा हात्तीले रुचाउने फलफूलका बिरुवा हुर्काउने हो भने यसबाट हात्ती आफ्नै बासस्थानमा फर्किने सम्भावना छ ।”


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।