झापा, २७ कात्तिक । हात्तीपीडित झापाको विभिन्न पालिकामा हात्तीले नखाने र मनग्य आम्दानी हुने नगदे बालीप्रति किसानहरु आकर्षित भएका छन् ।
मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारी लगायतका पालिकामा जंगली हात्तीले अन्नबाली खाएर किसानहरु हैरान छन् । हात्तीले नखाने र बजारमा महँगो मूल्यमा विक्री हुने भएकाले अन्नबालीको साटो किसानहरुले सुपारी, मरिच र तेजपत्ता खेती धमाधम विस्तार गरिरहेको मेचीनगर वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ ।
“धान र मकै खेती गर्दा हात्तीले खाएर नष्ट गरिहाल्छ,” चार दशकदेखि जंगली हात्तीको पिरलो भोगिरहेको बाहुनडाँगीको उदाहरण दिदै कार्की भन्नुहुन्छ–“अब गरिखानै नपाउने अवस्था सिर्जना भएपछि किसानहरुले हात्तीले नखाने र धेरै आम्दानी हुने नगदे बाली रोज्न थालेका हुन् ।”
धान र मकै खेती मासेर मेचीनगर नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा सयौ किसानले चिया, सुपारी, मरिच, तेजपत्ता र कागती गरी कम्तीमा पाँचतले खेती गरिरहेका छन् । एउटा अन्नबाली हुने खेतमा एकैपटकमा पाँचदेखि नौ बालीसम्म फल्ने भएकाले किसानहरुलाई नगदेबालीबाटै बढी लाभ भइरहेको छ ।
मेचीनगर–४ का युवराज गिरी धान खेत मासेर नगदे बाली लगाउने पुराना कृषक हुुनुहुन्छ । उहाँले बिगत १५ वर्षदेखि तीन बिगाहा खेतमा चिया, सुपारी, मरिच, कागती, बेसार, अदुवा र केरा गरी सात तले खेती गरिरहेको बताउनुभयो ।
वार्षिक रुपमा चियाबाट रु. तीन लाख, सुपारीबाट रु. दुई लाख र मरिचबाट रु. दुई लाख नियमित आम्दानी भइरहेको जानकारी दिदै तेजपत्ता, कागती, बेसा, अदुवा र केरा खेतीको अलग्गै आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
“चिया खेतको बीच बीचमा सुपारी, कागती, तेजपत्ताको बोट हुर्काएको छु,” गिरी भन्नुहुन्छ–“मलखाद र सिञ्चाई प्रयोग गर्न पनि एकैपटकमा हुन्छ । सुपारीका बोटमा मरिच लहरिएर फल्ने गरेको छ ।”
जंगली हात्तीले सबैभन्दा बढी प्रभावित क्षेत्र बाहुनडाँगीमा अगुवा किसान रबि नेपालले १५ बिगाहामा अन्नबाली मासेर नगदेबाली लगाउनु भएको छ । उहाँले आफ्नो खेतीबाट उत्पादित नगदेबाली भारतसम्म निकासी गर्दै आउनु भएको छ ।
“धान, मकै, कोदो जस्ता अन्नबाली लगाएर हाम्रा बाबुबाजेहरुले हात्तीलाई खुवाए,” हात्तीले नखाने नगदेबालीको फाइदा बताउँदै उहाँ भन्नुहुन्छ–“अहिले हाम्रो पुस्ताले पनि त्यही दुःख किन दोहोर्याउनु भनेर मैले सुपारी, चिया, मरिच, तेजपत्ता लगायतका नयाँ बाली लगाएको हुँ ।”
उहाँले अन्नबाली लगाउने खेतमा अहिले बोटविरुवा समेत गरेर ५० प्रजातिको खेतीपाती गरिरहेको बताउनुभयो । उहाँको चिया र सुपारी खेतीमा तेजपत्ताको मात्रै २५०० बोटले उत्पादन दिइरहेका छन् । वर्षेनी रु. पाँच लाखको तेजपत्ता विक्री हुने गरेको उहाँले बताउनुभयो ।
सुपारी, तेजपत्ता, मरिच जस्ता नगदेबालीको बजार र मूल्यमा कुनै समस्या छैन । यी बालीले महँगो मूल्य पाउने गरेका छन् । व्यापारीहरुले घरमै आएर किनेर लैजाने गरेको हुँदा किसानहरु नगदेबालीतिरै आकर्षित भइरहेको पाइएको छ ।
तेजपत्ता बोटमै टिपेर व्यापारीले प्रति केजी रु. १२ ले लैजाने गरेका छन् भने सुकाइएको तेजपत्ता प्रति केजी रु. ६० सम्ममा घरबाटै विक्री हुने गरेको छ । मरिच प्रति केजी रु. एक हजार २०० मा खेतबाटै विक्री हुँदै आएको छ ।
बाहुनडाँगीका हरेक घरमा सुपारी र मरिचका बोट रोप्ने गरेको पाइन्छ । कृषक रबि नेपालले सुपारीका बोटहरुमा आफुले वर्षेनी २०० केजी मरिच फलाउने गरेको बताउनुभयो । हात्ती प्रभावित अर्जुनधारा, बुद्धशान्ति र हल्दिबारीमा पनि हात्तीले नखाने यस्ता नगदेबालीप्रति किसानहरुको आकर्षण बढ्दो छ ।
साविक बाहुनडाँगी गाविसका अध्यक्ष निलकण्ठ तिवारी हात्ती प्रभावित क्षेत्रमा हात्तीले खाने र क्षति पुर्याउने अन्नबालीको साटो वैकल्पिक खेतीतिर किसानहरुलाई प्रोत्साहित गर्ने सरकारी नीतिको खाँचो रहेको बताउनुहुन्छ । एक दशकदेखि सरकारले सुपारी जोनको अवधारणा ल्याएर व्यावसायिक रुपमा सुपारी खेतीतर्फ लाग्न हात्तीपीडित क्षेत्रका किसानहरुलाई प्रोत्साहित गरिरहेको छ ।