२५ वैशाख २०८१, मङ्गलवार

काँकरभिट्टा भान्सा खोला घटनाबारे सांसद शर्माद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

२० फागुन २०८०, आइतवार
Image

धुलाबारी २० फागुन ।  मेचीनगर नगरपालिका ७ , सतिघट्टा स्थित दशगजामा सशस्त्र प्रहरी र स्थानीय व्यापारीबीच शुक्रबार राति भएको घटनाका विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनुभएको छ ।

कांग्रेस भोजपुरको जिल्ला सम्मेलनमा भाग लिन शुक्रबार साँझ भोजपुर पुगेका झापा क्षेत्र नं। १ का सांसद समेत रहेका शर्माले भोजपुरबाटै शनिबार  गृहमन्त्री श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई टेलिफोन मार्फत ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

सांसद शर्माले गृहमन्त्री श्रेष्ठसँग टेलिफोनमा कुरा गर्दै घटनामा घाइते भएका सबैको आवश्यक सम्पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह समेत गर्नुभएको छ ।

सीमा नाकामा कुनैपनि प्रकृतिको अव्यवस्था, वेथितिका घटना भए त्यसलाई नियन्त्रण गर्न राज्य(प्रशासन तदारुक हुनुपर्ने र त्यसमा नागरिकको तर्फबाट पनि सहयोग रहनु पर्ने शर्माको भनाई छ ।

शर्माको ४ बुँदे ध्यानाकर्षणमा पत्र

१० सर्वप्रथम  घटनामा घाइते भएका सबैको आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्नु पर्ने ।

२० सीमा क्षेत्रमा कुनैपनि प्रकृतिको अव्यवस्था वा वेथितिका घटना भए त्यसलाई नियन्त्रण गर्न राज्य(प्रशासन तदारुक हुनैपर्छ र त्यसमा नागरिकको सहयोग रहनुपर्छ । वेथितिमा कोहि कसैको पनि सहभागितालाई निरुत्साहित गर्न राज्यले पक्राउ गर्न पाउँछ र कानुनी कारवाही गर्न सक्छ ।

तर पुरै गाउँ आतंकित बन्ने गरी, निहत्था नागरिक गम्भीर घाइते भएर अस्पताल पुर्‍याउनु पर्ने गरी घटना हुनु अत्यन्तै दुःखद भएको छ । यो घटना कसरी हुन गयो । यसको निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर ल्याउन जरुरी छ ।

३० यस्तो प्रकृतिको घटना आगामी दिनमा दोहोरिन नदिन राज्य(प्रशासन र नागरिकबीचको सम्बन्धलाई सहजीकरण गर्न जरुरी छ । त्यसका लागि घटनाको ढाकछोप र अमैत्रीपुर्ण, टालटुले समाधान होइन, दोषी जो सुकै भएपनि कारवाही गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

४० सीमा क्षेत्रमा हुने बेथितिका गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न सुरक्षा निकाय र सचेत स्थानीयबासीबीच समझदारीपुर्ण सहकार्य जरुरी छ । स्थानीय सरकारको समन्वयमा समझदारी र सहकार्यको वातावरण निर्माण गरिनुपर्छ ।

शर्माले झापाका प्रमुख जिल्ला अधिकारी, झापाका सशस्त्र प्रहरी प्रमुख लगायतलाई समेत ध्यानाकर्षण गराएको बताएका छन् ।

घाइतेको उपचार र दोषीमाथि कारवाही माग

यसैगरी, सशस्र प्रहरीद्वारा स्थानीय  ६ जना सर्वसाधारण खुकुरी प्रहार गरी घाइते बनाएको घटनाप्रति युवा संघ झापाले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउ–धनको रक्षाका निम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारण माथि ज्यानै जान सक्ने गरि भएको अनधाधुन्द खूुकुरी प्रहारले विधिको शासन उल्लङघन भएको र प्रहरी प्रशासनले अराजक हर्कत गरेको शनिवार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

मुस्कान सहितको सेवा दिने उद्घोष गर्दै आएको सशस्त्र प्रहरीले नागरिकलाई शान्ति सुरक्षा दिनुको सट्टा नागरिकको ज्यानै लिने गरी खुकुरी प्रहार गरेकोले सो क्षेत्रमा बसोबास गरेका आम नागरिक डर, त्रासमा जीवन जिउन बाध्य भएकोले घटनाको अविलम्ब छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न र दोषी माथि कारबाही गरि घाइतेको उपचार गर्न सरोकारवाला निकाय समक्ष युवा संघले माग गरेको छ ।