२५ वैशाख २०८१, मङ्गलवार

नारी दिवसमा मेचीनगरमा अनेमसंघको कानुनी प्रशिक्षण

२५ फागुन २०८०, शुक्रवार
Image

धुलाबारी, २५ फागुन । अखिल नेपाल महिला संघ (अनेमसंघ)को नगर र क्षेत्रीय कमिटीको संयुक्त आयोजनामा विद्यमान कानुनमा महिलाका हक अधिकारको विषयक प्रशिक्षण कार्यक्रम भएको छ ।

अनेमसंघ क्षेत्रीय अध्यक्ष कृष्णकुमारी सुवेदीको अध्यक्षतामा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको प्रशिक्षण कार्यक्रममा संघकी प्रदेश कमिटी सचिव हेमकला कट्टलेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

उहाँले नेपालको संविधान, ऐन र कानुनमा महिला अधिकारका विषयमा लेखिए तापनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा महिलामाथि हिंसा बढिरहेको बताउनुभयो । 

कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख तथा नेकपा एमालेकी केन्द्रीय सदस्य मिना उप्रेतीले आठ मार्चको महत्व र विभिन्न तहमा महिलाको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा अनेमसंघकी पूर्व केन्द्रीय सदस्य लता प्रसाई महिलाले आफ्नो अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गरिरहन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रसाई, नगर अध्यक्ष राजु पोखरेल, जिल्ला सदस्य संगीता थापा, कल्पना ओली, रमा भण्डारी, तुलसा काफ्ले, निर्मला गौतमलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा ओली, भण्डारी र दुर्गा भेटवालले कविता बाचन गरेका थिए ।

नगर अध्यक्ष जानुका ओलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्री उपाध्यक्ष तारा दाहालले गर्नुभएको थियो । कार्यक्रममा कान थापेर सुनिदेउ दाजु भन्ने गीतमा पवित्रा दाहाल र पवित्रा आचार्यले नृत्य प्रस्तुत गरेका थिए ।