नेपाली समाजलाई यतिखेर मूलतः राजनीतिक पार्टीहरुले शासन गरिरहेका छन् । पार्टीको नाममा पार्टीका ‘चल्दाबल्दा’ नेताले शासन गर्छन् । नेताको साइज अर्थात प्रभाव क्षेत्र जति ठूलो हुन्छ त्यही अनुरुपको शासन हुन्छ । जस्तो टोल, वडा, पालिका, जिल्ला, प्रदेश र पुरै देश ।
बहुदलीय व्यवस्था भएको मुलुकमा राजनीतिक पार्टीको शासन हुनुलाई सामान्य मानिन्छ । यति हो शासन स्थापित कानून अनुसार हुनुपर्छ । यो सभ्य समाजको परिचय हो । राजनीतिक पार्टीका नेता, कार्यकर्ता त्यसमा पनि राजकीय जिम्मेवारीमा बसेर भूमिका निर्वाह गरिसकेकाहरुले त झन् कानूनको ख्याल गर्नुपर्छ । यस्तो भूमिकामा बसिसकेका व्यक्तिहरु समाजको अभिभावकको स्थानमा हुनुपर्छ ।
यहाँ मैले विषय उठान गर्न खोजेको कुरा देशका सबै अङ्गलाई चलाउने भनेको राजनीतिले हो र राजनीतिलाई चलायमान बनाउने भनेको राजनीतिक पार्टीहरुले हो । यसको अर्थ के भने राजनीतिक पार्टीहरु जति बढी व्यवस्थित हुन्छन् समाज र राज्यका अरु अङ्गहरु त्यति नै व्यवस्थित हुँदै जान्छन् । जुन देशमा राजनीतिक दलहरु व्यवस्थित बन्न सक्दैनन् त्यो देशमा राज्यका अरु अङ्ग वा निकायहरु व्यवस्थित हुन गाह्रो छ ।
नेपालमा भएका राजनीतिक दलहरुको अवस्था कस्तो छ यसलाई हेरौं । नेपालमा भएका मूलधारका ठूला पार्टीहरुमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी मुख्य हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत झण्डै दर्जन जति पार्टीहरु अस्तित्वमा छन् ।
नेपालमा पार्टी बन्नु, पार्टी विभाजन हुनु, पार्टी जोडिनु, गठबन्धन हुनु, गठबन्धन फेरिनु, नयाँ गठबन्धन बन्नु सामान्य लाग्न थालेको छ । पार्टीभित्रका आन्तरिक किचलो, गुट उपगुट, आरोप प्रत्यारोप, गालीगलोज अब सबैलाई सामान्य लाग्न थालेको छ । केही वर्ष पहिलेसम्म पार्टी विभाजन हुँदा आफ्ना पक्षका नेताको देवत्वकरण गर्ने र अर्को पक्षमा भएका नेताको दानविकरण गर्ने काम निकै तीब्र गतिमा हुन्थ्यो । त्यस्तै आपूm आवद्ध भएको पार्टी सबैभन्दा राम्रो र अरु सबै खराव भन्ने धेरैलाई लाग्थ्यो । आफ्नो पार्टीले जितेमा देश बन्छ, भटाभट विकास हुन्छ, समृद्धि, सुशासन सबै हुन्छ अरुले जितेमा सबै बिग्रन्छ भन्ने सोचाई निकै थियो ।
बितेका तीस पैतीस वर्ष (२०४७-८०)को अनुभवले के सिकायो भने बहुदलीय प्रतिस्पर्धामा आएका पार्टी र पार्टीका नेतामा देखिएका व्यवहार, सिद्धान्त, चरित्र, आचरणले पार्टी र नेताका बारेमा बनेका धारणामा परिमार्जन हुन पुग्यो । नेता सबै खरावै खराव पनि छैनन् र सबै असलै असल मात्रै पनि छैनन् । सबै पार्टीमा असल मानिस छन् र सबै पार्टीमा लोभी र स्वार्थी मानिस पनि छन् । फरक यति हो कि कुन पार्टीमा असल र निःस्वार्थी मानिस कति छन् र स्वार्थी एवम् लोभी मानिस कति छन् । जब पार्टीमा लोभी र स्वार्थी मानिसको भीड बढ्न थाल्छ तब पार्टी रोगी बन्न थाल्छ । असल र निस्वार्थी मानिसको सङ्ख्या धेरै भएको पार्टी निरोगी हुन्छ । तात्पर्य के हो भने जुन पार्टीमा खराव धेरै छन् तिनले खरावको रक्षा गर्छन् । असललाई पाखा लगाउँछन् । त्यस्तै जुन पार्टीमा असल बढी हुन्छन् तिनले खरावलाई पाखा लगाउँछन् र असलको संरक्षण गर्छन् । पार्टीरुपी शरीर स्वस्थ हुन पार्टीको संरचनामा असल सङ्ख्या, असल प्रकृया वा तत्वको बाहुल्य हुनुपर्छ । स्वस्थ र निरोगी शरीरले मात्रै लक्ष्य अनुरुप काम गर्न सक्छ । लक्ष्यमा पुग्ने यात्रा निरन्तर जारी राख्न सक्छ ।
राजनीतिक पार्टीहरु सम्पूर्णरुपमा निरोगी हुन सक्दैनन् । तर सम्पूर्ण रुपमा रोगी हुन सक्छन् । पार्टीको शरीरमा रोगी विचार र चरित्रको सङ्ख्या धेरै भएपछि पार्टीका आन्तरिक पद्धति कमजोर हुन्छन् । गतिमा शिथिलता आउँछ । गति भए पनि अस्वस्थ गति हुन्छ अर्थात स्वार्थको गति ।
एक जना बहालवाला संघीय माननीय सांसद्ले एउटा अनौपचारिक कार्यक्रममा भन्नुभयो ‘‘पार्टी किन चलायमान छ भने आगामी चुनावमा टिकट पाउने आशमा भएका र टिकटका आकांक्षीहरु सकृय छन् । तिनले आफ्नो पक्षमा माहोल बनाउन केही मानिसलाई आफ्नो वरिपरि आफ्ना पक्षमा सकृय गराएका छन् त्यसकारण पार्टी सकृय जस्तो देखिन्छ । प्रत्येक वडामा पाँचजना जति, पालिकामा पाँचजना जति, प्रदेश संसदीय क्षेत्र र सङ्घीय क्षेत्रमा पनि पाँच पाँच जना यस्ता आकांक्षी भेटिन्छन् । ती सबैले आ–आफ्ना पक्षमा पार्टीका केही न केही मानिसलाई चलाउँछन् । तिनकै कारण पार्टी सकृय भएको देखिन्छ । चुनाव हुँदा तीमध्ये एक स्थानमा एकएक जनाले मात्रै टिकट पाउँछन् । जतिले टिकट पाउँदैनन् तिनले पार्टीको टिकट पाउने उम्मेद्वारलाई हराउन लाग्छन् । तर देखिने गरी होइन । तीमध्ये कतिले पार्टी परिवर्तन गरेर टिकट लिन्छन् वा स्वतन्त्र उम्मेद्वार बन्छन् कति निस्किृय बन्छन् ।’’ ती नेता एवं बहालवाला माननीय साँसदको विश्लेषणमा दम छ भन्ने मलाई लाग्यो ।
चुनावमा प्रतिश्पर्धा गर्न नसक्ने, गर्ने आँट नगर्ने तर पार्टी शक्तिमा हुँदा विभिन्न अवसरका लागि नेताको वरिपरि घुम्ने मानिस पनि धेरै छन् । तिनले पार्टीमा आपूm बफादार, जान्नेबुझ्ने भएको देखाउन अनेक कसरत गर्छन् । फाइदाका लागि ढुकेर बस्छन् । तिनलाई आश छउञ्जेल पार्टीका कार्यक्रममा आउने जाने गर्छन् । तिनका कारण पनि पार्टी केही चलायमान हुन्छ । जुनदिन उनलाई यो पार्टी र यी नेताबाट केही ‘झर्दैन’ भन्ने ठान्छन् त्यो दिनबाटै पार्टी र नेतालाई गाली गर्न कस्सिन्छन् । अर्को एउटा पुरानो पुस्ता छ जसले पार्टी निर्माणमा होस् वा अप्ठ्यारो परेको बेला पार्टी जोगाउन योगदान गरेको छ उसलाई पार्टीको माया छ । पार्टी छाड्दैन, छाडेर जाने अर्को ठाउँ छैन । ‘फलानो पार्टीको’ भन्ने ट्याग लागेको छ । उसका कारणले पनि पुराना पार्टीको भुइँ जोगिएको छ । तर यो पुस्ता प्रकृतिको नियम अनुसार नै क्रमशः पातलिदैछ ।
नेताहरुले आपूmलाई नेता बनाई राख्न आफ्नो सुरक्षा घेरा (व्यक्तिगत समर्थक वा अनुयायी) बनाई राख्नु वाध्यता जस्तै भएको छ । पार्टीमा विचार र सिद्धान्तको ठाउँ नेताको निकट सम्वन्धले लियो । पार्टीमा विचार र सिद्धान्तका लागि, बृहत हित–बृहत स्वार्थ, समग्र जनताको हितका लागि लाग्ने भन्दा पनि पार्टी नेताको हितमा काम गर्ने प्रबृत्ति चुनिन्दा कार्यकर्तामा समेत विकास भयो । नेताले पार्टीका नीति, विचार, सिद्धान्त, उद्देश्य र बृहत राष्ट्रिय हितका लागि काम गर्ने पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तकको पङ्ति तयार गर्नभन्दा आफ्नो पक्षमा पैरवी गर्ने कार्यकर्तामा धेरै ध्यान दिन थाले । यसले पार्टी भित्रको पद्धति स्वचालित नभएर नेता परिचालित हुन पुग्यो । पार्टीभित्र सुशासन र पारदर्शिता कमजोर बन्न पुग्यो । यसले केही नेता, केही कार्यकर्तालाई केही समयका लागि फाइदा त पुग्यो, पुग्ला तर पार्टीको जीवन रोगी बन्न पुग्छ र पुग्यो । जब पार्टी नै क्रमशः रोगी बन्न थाल्यो र यसको उपचारमा वा शुद्धिकरणमा ध्यान दिइएन तब त्यस्तो पार्टीले चलाउने सरकार स्वस्थ, पारदर्शी, सुशासन युक्त हुने कुरै भएन ।
आज नेपालमा देखिने सबैभन्दा ठूलो समस्या भनेको राज्यका अङ्गअङ्गमा देखिने बेथिति हो । यो खालको बेथितिको विस्तार भएर सामाजिक सङ्घ संस्था, सरकारी विध्यालय, अस्पताल, निर्माण क्षेत्र, संस्थान, सहकारी, निजी व्यवसाय, उपभोक्ता समिति आदि आदिमा बिस्तारित भएको छ । बेथिति र भ्रष्टाचार जुनसुकै समाजमा धेरथोर हुन्छ नै तर हाम्रो समाजमा यसको विस्तार समाजको तल्लो तह (समुदाय र व्यक्ति व्यक्ति)सम्म भयो । भ्रष्टाचार र बेथितिले सामाजिक मान्यता पाउनु, यस्तै हो नखाने को छ र भनेर यसको सामान्यीकरण गरिनु एकदमै खतरनाक विषय हो ।
बेथिति र भ्रष्टाचारको यति गहिरो प्रभाव पर्नु र सामाजिकिकरण हुनुको कारण राजनीति हो । राजनीतिक पार्टी यसका सम्वाहक बने । राजनीतिक पार्टीको शुद्धिकरण गर्न आवश्यक छ । यो निरन्तरको प्रकृया हो । पहिलो काम राजनीतिक दलका आर्थिक कारोवार पारदर्शी बनाउनु पर्छ । नेताको जीवनशैली र आर्थिक कारोवार पारदर्शी हुनुपर्छ । राजनीतिक पार्टी नीति सिद्धान्तमा प्रष्ट हुनुपर्छ । देश बनाउने, देश चलाउने पार्टीका रणनीति र कार्यनीति जनताका माझमा प्रष्टसँग संप्रेषित हुनुपर्छ । पार्टीका उद्देश्य, नीति, कार्यक्रम आदिलाई बुझेर र त्यसलाई मन पराएर लागु गर्न प्रतिवद्ध भएका व्यक्ति कार्यकर्ताको रुपमा आउनु पर्छ । कार्यकर्ता निरन्तर प्रशिक्षित र आपूm आवद्ध भएको पार्टीका नीति तथा कार्यक्रम लागु गर्ने हुनुपर्छ । पार्टीका कार्यकर्ता पार्टीले जारी गरेको आचरण र अनुशासनमा बस्नुपर्छ । अनुशासन पालना नगर्ने र तोकेको आचरण पूरा नगर्ने कार्यकर्तालाई पार्टीले विधान बमोजिम कार्वाही गर्न सक्छ । पार्टी कार्यकर्ताले आपूm मध्येवाट तहगत नेताको छनोट गर्छन् । यो आवधिक रुपमा हुनुपर्छ । तहगत सम्मेलन, अधिवेशन नियमित हुनुपर्छ । यसमा समसामयिक विषय र पार्टीका नीति एवं कार्यक्रममा छलफल हुनुपर्छ । यस्तै यस्तै ।
एउटा जीवन्त पार्टीका लागि माथि उल्लेख गरिएका कार्यहरु हुन्छन् पनि । तर तिनका कार्यकर्ता, नेता र पद्धति वा प्रकृया केवल औपचारिकतामा सिमित हँुदै गएका छन् । यो खतरनाक छ । कुनै पनि राष्ट्रिय वा ठूला पार्टीका अधिवेशन त हुन्छन् तर त्यहाँ नीति कार्यक्रमको बहस खासै हुँदैन । को कुन पदको नेता बन्ने, कसलाई नेता बनाउने भन्ने कुरा नै सबैको चासोको विषय बन्छ । नेता बन्ने र बनाउनेको चासो पार्टी, देश र जनताको लागि भन्दा पनि आफ्नो अनुकूलताको खोजी धेरै हुन्छ । यस्तो अनुकूलताका लागि नेताले ‘प्रसाद’ बाँड्ने र कार्यकर्ता वा अलि तल्लो तहका नेता कार्यकर्ताले ‘प्रसाद’ ग्रहण गर्ने परम्परामा सीमित हुन पुगेको छ । ‘प्रसाद’ बाँड्ने र ग्रहण गर्ने परम्परा हुर्कदो छ त्यसैले पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, व्यवहार, नेताका आचरण सबै औपचारिक वादमा परिणत हुँदै गए । यसरी पार्टी कमजोर र रोगी बने । हेर्दा, गणनामा पार्टीका लाखौं कार्यकर्ता छन्, हजारौंको सङ्ख्यामा नेता छन् । तीमध्ये धेरैको मनमा आफूले के पाउने हो, आफ्ना लागि के हुने हो, आफूलाई केही भएन वा हाकेको ताकेको स्थान पाइएन भने त यत्रो वर्ष राजनीतिमा लागेको बेकार नै भयो नि भन्ने पर्न थालेको छ । अझ अर्कालाई नघचेडी, नपछारी, जालझेल नगरी, पैसा खर्च नगरी आपूm नेता बन्न सकिदैन भन्ने बोध हुन थालेपछि मानिस जसरी पनि पैसा कमाउन र नेताको आशिर्वाद लिन दौडधुप गर्ने गलत संस्कृति फस्टाउन थाल्यो । यस्तो सोच राख्ने मानिस पार्टीमा धेरै हुँदा पार्टी ठूलो भए पनि रोगी भयो । रोगी पार्टीले जनताको मन जित्न मुस्किल पर्छ । मन जित्न नसके पछि जालझेल र झुटो आश्वासन मौलाउन थाल्यो । यो झन् खतरनाक प्रवृत्ति हो ।
योभन्दा खतरनाक अर्को प्रवृत्ति भनेको पार्टीहरुलाई सधै सत्तामा पुग्ने र पुगेपछि सत्तामै बसिरहनु पर्ने चाहनाले सबै खालका मूल्य, मान्यता, सिद्धान्त, आचरण आदिको त्याग गरियो । पार्टी र नेताले भन्ने एक र गर्ने अर्को भन्ने जनतामा पर्न गयो । भयो पनि त्यस्तै । त्यसैले राजनीतिमा भित्रिएको, देखिएको बिकृति जसरी गाउँगाउँ र टोलटोलमा राजनीतिक पार्टी विस्तार भएका छन् त्यसरी नै त्यो बिकृति तल्लो तहसम्म पैmलियो । त्यसैले राज्यका अङ्गअङ्ग र समाजमा व्याप्त बेथिति एवं भ्रष्टाचारको अन्त्यको थालनी राजनीतिक पार्टीहरुको शुद्धिकरण गरेर थाल्नुपर्छ । लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प परिष्कृत र उच्च नैतिक क्षमता भएको पार्टी नै हो । भएका पार्टीहरुले नै आफूलाई परिष्कृत गर्न सके त्यो पहिलो र उत्तम विकल्प हो । नयाँ वर्र्ष २०८१ राजनीतिक पार्टीहरुको आन्तरिक शुद्धिकरणमा उल्लेख्य प्रगति गर्न सफल हुन सकोस् ।