झापा, २२ फागुन । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशैभर अग्रताको लहर सिर्जना गरेको छ ।
यो समाचार लेख्दा आज अपराह्न ४ बजेसम्ममा प्रत्यक्षतर्फको ९२ सिटमा रास्वपाका उम्मेद्वारहरु मतगणना हुँदा अगाडि छन् । नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ । श्रम संस्कृति पार्टीले अग्रता नल्याए तापनि मत प्राप्तिमा प्रतिष्पर्धी सावित गरेको छ ।
अहिलेसम्ममा काठमाडौं क्षेत्र नं. १ बाट रास्वपाकी रञ्जु दर्शना बिजयी हुनु भएको छ भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन बिजयी हुनु भएको छ ।
काठमाडौ–१ को अन्तिम मत परिणाम अनुसार रास्वपा उम्मेदवार दर्शना १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले छ हजार ३६४ मत प्राप्त गर्नुभयो । त्यस्तै अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत मात्रै प्राप्त गर्नुभएको छ ।
मिश्रको यो तेस्रो हार हो । एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाउनुभएको छ ।
मुस्ताङबाट बिजयी कांग्रेस उम्मेद्वार गौचन तीन हजार ३०७ मत ल्याएर लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले एक हजार ८०६ मत ल्याउनुभयो । रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्नुभएको छ ।