२ कार्तिक २०८१, शुक्रवार

झापा गाउँपालिकामा नौ कक्षाका सबै विद्यार्थीलाई साइकल

३ जेठ २०८१, बिहिवार
Image

झापा, ३ जेठ ।  झापा गाउँपालिकाले पढाई छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गर्दै आएको छ । 

वि.सं. २०७५ देखि हालसम्म वर्षैपिच्छे कक्षा ९ मा अध्ययनरत् विद्यार्थीलाई साइकल वितरण गरिदै आएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुकुमारी थपलियाले बताउनुभयो । छ वर्षको अवधिमा एक हजारभन्दा भन्दा बढी विद्यार्थीले पालिकाबाट अनुदानको साइकल पाएका छन् ।

पालिकामा पाँच वटा माध्यमिक विद्यालय छन् । यसवर्ष ३४३ वटा साइकल वितरण गरिएको पालिकाले जनाएको छ । जनता माविमा १३१ वटा, डिल्लीराज माविमा १३५ वटा, जनकल्याण माविमा ३५ वटा, कुवाडीदेवी माविमा २८ वटा र महेन्द्र माविमा २४ वटा साइकल यसैसाता वितरण गरिएको छ । 

“गाउँमा टाढादेखि पैदलै विद्यालय धाउनेहरुले कक्षा ९ र १० मा पुगेपछि पढाई छाड्ने गरेको पाइएपछि साइकल बाड्ने कार्यक्रम ल्याएका हौं,” पालिकाकी कार्यवाहक अध्यक्ष थपलियाले भन्नुभयो–“साइकल पाएपछि उनीहरुले पढाई छाडेनन् । पढाईप्रति आकर्षण बढेको पाइएको छ ।”

वि.सं. २०७५ सालमा पालिकाले पहिलोपल्ट कक्षा नौ का छात्राहरुलाई मात्र साइकल वितरण गरेको थियो । छात्राहरुले विद्यालय तहको शिक्षा अधुरो नछाडुन् भन्नका लागि प्रोत्साहन स्वरुप सुरु गरिएको साइकल वितरण कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै गएको छ । वि.सं. २०७५ देखि कक्षा ९ मा अध्ययनरत् छात्र र छात्रा सबैलाई साइकल प्रदान गर्न थालिएको हो । 

आदिवासी, मुस्लिम र अति विपन्न परिवारको बाहुल्य रहेको यस पालिकामा ‘साइकल वितरण कार्यक्रम’ प्रभावकारी बनेको छ । 

“शिक्षामा सबैको सहज पहुँच पुर्याउने यो कार्यक्रमको उद्देश्य होे”, पालिकाकी कार्यवाहक अध्यक्ष थपलिया भन्नुहुन्छ– “विहान १० बजे विद्यालय लाग्छ । साइकल वितरण गर्न थाल्नु अघि केही विद्यार्थी १२ बजेसम्म विद्यालयमा आइरहन्थे । हिंडेर आउँदा ढिलो भएको बताउँथे । अहिले सबैले साइकल पाएका छन् । नियमित र समयमै विद्यालय आइपुग्छन् ।” उहाँले पालिकामा बीचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा न्यूनीकरण भएको बताउनुभयो । 

आर्थिक वर्ष २०८०÷०८१ मा पािलकाले बजेटमै साइकल वितरणका लागि रु. २९ लाख बजेट बिनियोजन गरेको थियो । टेन्डरको पारदर्शी प्रक्रियाबाट साइकल खरिद गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालिकाले शिक्षामा सुधार ल्याउने उद्देश्यले कक्षा ८ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्था, कक्षा १२ सम्म निःशुल्क शिक्षा र अन्य पालिकामा गएर प्राविधिक शिक्षा लिने विद्यार्थीलाई बार्षिक रु १२ हजारका दरले छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । 

साइकल पाएका विद्यार्थीहरुले पढाईप्रति विद्यार्थी र अभिभावक दुबैको लगाव बढाएको बताएका छन् । जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत् किस्कु सन्थालले विद्यालयले दिएको साइकल चढेर पाँच किलोमिटर टाढाको घरदेखि विद्यालय धाउन सुविधा भएको बताउनुभयो ।

“बुबा आमासँग साइकल किनिदिने पैसा हुँदैन”, किस्कु भन्नुहुन्छ– “विद्यालय टाढा भएकाले पढाइ छाडेर बुवाआमाकै जस्तो कामधन्धामा लाग्ने कि भन्ने सोच पलाइसकेको थियो । तर साइकल नै पाएपछि अहिले नियमित विद्यालय गइरहेकी छु ।” उहाँले कक्षा १२ सम्मको पढाई साइकलमै यात्रा गरेर पूरा गर्ने सोच बनाएको बताउनुभयो ।