२३ भदौ २०८१, आइतवार

पूर्वीनाकाबाट रु ८५ करोडको कोदो, २१ करोडको फर्सी भित्रियो

८ साउन २०८१, मङ्गलवार
Image

झापा, ८ साउन । स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण मानिने कोदोको आयात अघिल्लो बर्षको तुलनामा ३४ करोडले बढेको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०÷०८१ मा पूर्वी नाका काँकडभिट्टा भएर रु. ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७९÷०८० मा पूर्वी नाका काँकडभिट्टा भएर रु. ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायतका तेस्रो देशबाट कोदोको आयात बढेको उहाँको भनाई छ ।

पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरु गाईभैंसीलाई खोले पकाएर खुवाउँछन् । तर, त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उहाँले सोही अवधिमा फर्सी मात्र रु.२१ करोड १४ लाख ८० हजारको १० हजार ५७४ मेट्रिक टन आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत एक वर्षमा रु.एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेँडा, रु. २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वी नाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु. ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, रु. ३० करोड  सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु. १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन सिमी भारतबाट यो नाका हुँदै आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो ।

पूर्वी नाकाबाट सोही अवधिमा रु. १३ करोड आठ लाख ४० हजार मूल्य बराबरको ६९२ मेट्रिक टन प्याज, रु. २५ करोड ६५ लाख ६० हजार मूल्य बराबरको १२ हजार ८२८ मेट्रिक टन परवल, रु. ६७ करोड ७० लाख मूल्य बराबरको तीन हजार ८३५ मेट्रिक टन घिरौला, रु. ११ करोड १७ लाख मूल्य बराबरको पाँच हजार ५८५ मेट्रिक टन गाजर, रु. ३१ करोड ५० लाख मूल्य बराबरको एक हजार ५७५ मेट्रिक टन स्कूश र रु. तीन करोड ८० लाख ४० हजार मूल्य बराबरको एक हजार ९०२ मेट्रिक तरुल भारतबाट आयात भएको तथ्यांकले देखाउँछ ।

भारतबाट मधेशदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापर समेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु. एक करोड ३५ लाख ८५ हजार मूल्य बराबरको २०९ मेट्रिक टन फापर, रु. चार करोड ६१ लाख ७६ हजार मूल्य बराबरको एक हजार ४४३ मेट्रिक टन मकै(पशु दाना) भारतबाट आयात भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु. चार अर्व ८७ करोड ६५ लाख १८ हजार मूल्य बराबरको ९८ हजार ३९४ मेट्रिक फलफूल, चामल रु. १७ करोड २८ लाख २४ हजार मूल्य बराबरको सात हजार २०१ मेट्रिक टन र दलहन (गेडागुढी) रु. दुइ करोड ४० लाख ९६ हजार मूल्यको भारतबाट आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानहरुले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा विक्री नभएको किसानहरुको गुनासो छ । 



लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।