२ कार्तिक २०८१, शुक्रवार

पूर्वीनाकाबाट रु. १५ अर्बको चिया, अलैची, अदुवा र अम्रिसो निर्यात

८ साउन २०८१, मङ्गलवार
Image

झापा, ८ साउन । आर्थिक वर्ष २०८०/०८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो पूर्वीनाका भएर भारत निर्यात भएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट उक्त अवधिमा कूल रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको थियो । कूल निर्यातको दुई तिहाईभन्दा बढी स्थान अलैची, चिया, अदुवा र अम्रिसोले ओगटेको छ । 

नेपालबाट भारत निर्यात हुने नगदेवालीमा चिया, अलैची, अदुवा र अम्रिसोले अग्रणी स्थान ओगटेको छ । निर्यातका लागि व्यवसायीहरुले पूर्वीनाका काँकडभिट्टा नै प्रयोग गर्दै आएका छन् ।

आव २०८०/०८१ मा पूर्वीनाका काँकडभिट्टा भएर रु. छ अर्ब ९८ करोड ८८ लाख मूल्यको अर्गानिक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चनद्रेश्वर यादवले बताउनुभयो ।

यादवका अनुसार सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । नेपालमा उत्पादन हुने चिया बिगतदेखि नै भारत निकासी हुँदै आएको छ ।

पूर्वी नेपालको तराई र पहाडी जिल्लामा चिया खेती हुने गरेको छ । सबैभन्दा धेरै चिया खेती हुने जिल्ला झापा र इलाम हुन् । पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा चिया खेती उल्लेख्य मात्रामा हुँदै आएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर रु. छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको यादवले बताउनुभयो ।

खोल्साको सुन भनेर चिनिने अलैची पूर्वी पहाडी जिल्लाको महँगोमा बिक्ने कृषि उत्पादन हो । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा यसको प्रचुर खेती हुने गरेको छ ।

उहाँका अनुसार उक्त अवधिमा रु. एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो पूर्वीनाकाबाट भारत निर्यात भएको छ ।

गाईवस्तुले घाँसको रुपमा प्रयोग गर्ने अम्रिसोको फुलको झुप्पाबाट कुचो बनाउने गरिन्छ । पूर्वी पहाडको अधिकांश जिल्लामा अम्रिसो उत्पादन हुन्छ । बंगलादेश, पाकिस्तान लगायतका मुलुकमा अम्रिसोको अधिक माग भए तापनि नेपालबाट भारतीय बजारमा मात्र निकासी हुँदै आएको छ ।

पहाड र तराई दुबैतिर उत्पादन हुने अदुवा नेपालबाट धेरै मात्रामा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/०८१ मा पूर्वीनाका काँकडभिट्टा भएर रु. ५८ करोड चार लाख तीन हजार मूल्य बराबरको अम्रिसो भारत निकासी भएको उहाँले जानकारी दिनुभयो ।