८ कार्तिक २०८१, बिहिवार

कागती बिक्न सकस भएपछि किसान चिन्तित

१६ साउन २०८१, बुधवार
Image

झापा, १५ साउन । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसानहरु निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीले समेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाई छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६÷०७७ मा १७८ हेक्टर, आव २०७७÷०७८ मा २०४ हेक्टर, आव २०७८÷०७९ मा ३०० हेक्टर, आव २०७९÷०८० मा ३०० हेक्टर र आव २०८०÷०८१ मा २७० हेक्टर क्षेत्रफलमा कागती खेती भएको बताउनुभयो । आव २०७९÷०८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ । 

उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार ४०८ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रति हेक्टर ५.७५ मेट्रिक टन रहेको छ । “जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,” उहाँले भन्नुभयो–“किसानहरु विक्रीमा समस्या आएको बताउनुहुन्छ । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।”

सरकारले कागती खेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानहरुले धान खेत मासेर कागतीका विरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, विरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो ।

कागती खेतीमा होमिएका किसानले विरुवा, मल र शिप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसानहरु साना गाडी लिएर गाउँ गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷०८१ मा रु. छ करोड २७ लाख २० हजारको ८९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । 

“चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ,” विर्तामोड–६ का कमलराज बिमलीले भन्नुभयो–“सुरु सुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो । तर, पछिल्लो समय रोगले बोट मास्न थाल्यो । भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ ।”

कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखा परेको उहाँले बताउनुभयो । बिगत एक वर्षमा कागतीका ४०० बोट त्यही रोगका कारण सुकेर मरेको उहाँको भनाई छ ।  

झापामा कम्तीमा तीन सय जना किसानले कागतीको व्यावसायिक खेती गर्दै आउनु भएको छ । केही सहकारी संस्थाले आफै र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् । झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागती खेती हुँदै आएको छ ।

कागतीको उत्पादन बढेपछि यसलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने अचार र जुस लगायतका ठूला उद्योगहरु स्थापना नहुँदा किसानहरु सोचेजस्तो आम्दानी लिन नसकेको बताउँछन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं. २ का रामप्रसाद उप्रेतीले एक विगाहा जमिनमा लगाएको कागतीका बोटले विगत चार बर्षदेखि उत्पादन दिइरहेको छ । वार्षिक रु. पाँच लाखको कागती बेच्दा आधा रकम नाफा हुने उहाँले बताउनुभयो ।

“आम्दानी नै नहुने खेती त होइन,” उप्रेतीले भन्नुभयो–“धान खेतीको तुलनामा दश गुणा बढी आम्दानी हुँदोरहेछ । तर अहिले बजार पाउन गाह्रो हुँदै गयो ।” उहाँले कागती बारीमा सुपारी खेती गरेर थप आम्दानी लिनु भएको छ ।

दुई जना व्यक्तिलाई बाह्रै महिना कामदारको रुपमा रोजगारी समेत दिनु भएको उहाँले बोटबाटै प्रतिगोटा रु. तीनमा व्यापारीले कागती किन्ने गरेको बताउनुभयो । धान र अरु खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा विक्री हुने वातावरण बन्ने हो भने फाइदै फाइदा हुने उहाँको अनुभव छ ।

सिजन अनुसार मल, सिञ्चाई, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी कागती खेतीमा थप रोजगारी पाउने गरेका छन् । मेचीनगर, बुद्धशान्ति, विर्तामोड, अर्जुनधारा र गौरादह कागती खेतीका लागि उर्वर पालिका बनेका छन् ।

कचनकबल–२ का जगदिश राजबंशीले बजार र प्रकोपबाट पीडित भएर कागती खेती मास्न बाध्य भएको बताउनुभयो । उहाँको खेतमा हजुरबुवाको पालादेखि कागती खेती हुने गरे तापनि व्यावसायिक खेती भर्खर गरिएको थियो ।

“दुई वर्ष अघि ठूलो हावाहुरी र असिनाले क्षति पुर्याएपछि कागती खेती मास्नु पर्यो,” उहाँले भन्नुभयो–“किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेनछ । मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ ।”

जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पीएच ५.५ देखि ६.५ सम्म भएको दोमट माटो कागती खेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ ।

पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतको रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेती गुनासो सुनाउनुहुन्छ ।