८ कार्तिक २०८१, बिहिवार

समाचार टिप्पणी

प्रभु बैंक प्रकरण : यी चार प्रश्नको उत्तर खोइ ?

२४ साउन २०८१, बिहिवार
Image

झापा, २४ साउन । प्रभु बैंकको विर्तामोड शाखामा छ महिने मुद्दति खातामा राखिएको मञ्जु कुमारी नेपालको रु. एक करोड १० लाख ४३ हजार निक्षेप बैंक खाताबाटै गायव भएको घटनामा केही प्रश्नहरु अनुत्तरित नै छन् ।

सिटौला किन सम्पर्कविहीन ?

बैंकको विर्तामोड शाखाका सुपरभाइजर (मार्केटिङ अफिसर) प्रमोद सिटौला नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।

उहाँमाथि बैंकको व्यवस्थापन पक्ष र निक्षेपकर्ता गरी दुबै पक्षले अनियमितता गरेको आरोप लगाइरहेका छन् ।

निक्षेपकर्ताले बैंकमा पेश गरेको ब्यालेन्स सर्टिफिकेट लगायतका कागजातहरु नक्कली भएको बैंकले विज्ञप्ति निकालेरै दावी गर्दै आएको छ ।

नक्कली कागजात बनाएर दिएको आरोप सिटौलामाथि बैंकले लगाएको पाइएको छ । कागजात सिटौलाले बनाएको होइन भने त्यही कुरा उहाँले सार्वजनिक रुपमा भन्न किन सक्नुहुन्न ?

कसैले आरोप लगाउँदैमा कोही दोषी ठहरिदैन । बैंक र निक्षेपकर्ताले आरोप लगाउँदैमा सिटौला सम्पर्कविहीन हुनु पथ्र्यो र ? 

खातामा अचानक ७० लाख कसरी भेटियो ?

यस घटनामा जोडिनु भएको अधिवक्ता स्वागत नेपालले आज फेसबुक लाइभमार्फत बैंकको खातामा रु. ७० लाख निक्षेप भेटिएको जिकीर गर्नु भएको छ ।

बैंकले यस प्रकरणमा आजसम्म दुईवटा विज्ञप्ति जारी गरेको छ । जसमा निक्षेपकर्ताले रकम बैंकमा राखेको कुरा इन्कार गरिएको मात्र छैन, खातामा रकम रहेको भन्ने कागजात नै नक्कली भएको दावी गरिएको छ ।

निक्षेपकर्ता र बैंक पक्षबीच आरोप प्रत्यारोप चलिरहेका बेला अचानक रु. ७० लाख कसरी खातामा भेटियो ? यस विषयमा बैंकले किन वास्तविकता सार्वजनिक नगरेको ?

यद्यपि, बैंकका कर्मचारी प्रमोद सिटौला, टिकाराम नेति र स्वागत नेपालबीच भएको चियागफको भिडियोमा भने सिटौलाले निक्षेपकर्ताको रकम अर्को खातामा सुरक्षित राखिदिएको दावी गर्नु भएको थियो । 

अर्को खातामा रकम राखिएको भए त्यो कुन खाता हो भन्ने स्पष्ट जानकारी कतैबाट आउन सकेको छैन । निक्षेपकर्ताले रु. ७० लाख पाइसकेको हो कि होइन ? यस बारेमा निक्षेपकर्ता पक्षले वास्तविकता किन सार्वजनिक नगरेको ?

बैंकको साटो घरमा रकम किन बुझाएको ?

बैंकले कहिल्यै पनि ग्राहकको घर घर चाहर्दै बचत रकम संकलन गर्दैन । सहकारीहरुले मात्र यस्तो कार्य गर्छन् । बरु बैंकले कुनै बेला कर्जा दिन भने ग्राहक खोज्दै हिँड्ने गरेको सुनिएको थियो ।

निक्षेपकर्ता मञ्जुकुमारी नेपालका पति टिकाराम नेतिले रकम बैंकमा लगेर जम्मा गर्नुको साटो घरमै बैंकका कर्मचारी बोलाउने गर्नु भएको थियो । बैंकमा जाँदा पनि कर्मचारीसँग बस्ने र कर्मचारीहरुले नै कारोवार गरिदिने गरेका थिए । यी भनाई नेतिका दाजु स्वागत नेपालले नै फेसबुक लाइभमा बताउनु भएको हो ।

बैंकले किन जिम्मेवारी नलिएको ? 

कर्मचारी प्रमोद सिटौलाले कमजोरी गरेको र घटनामा अरु कर्मचारीहरु संलग्न भएको भए त्यसको पनि छानविन हुने बैंकले विज्ञप्तिमा जनाएको थियो । 

सिटौलाले चियागफमा बोलेका कुराहरु विश्लेषण गर्दा उहाँले बैंकको रेकर्ड सिस्टममा जानाजान गडबडी गरेको सहजै बुझिन्छ । उहाँले यस्तो गडबडी धेरैपटक गरेको समेत भिडियोमा सुन्न सकिन्छ ।

रकम जम्मा भएको होइन भनेर बैंकले विज्ञप्ति निकाल्दैमा पत्याउन सकिन्न । यदि रेकर्ड प्रणालीमा सिटौलाले गडबडी गरेको होइन भन्ने पुष्टि हुन सकेन भने बैंकबाट निक्षेप गायव भएको घटनाको सम्पूर्ण जिम्मेवारी बैंक व्यवस्थापनले लिनुपर्छ ।

बैंक र निक्षेपकर्ता बीचमा विवाद भएपछि यसको निरुपणका लागि राज्यको अर्को कुनै निकायबाट घटनाको अनुसन्धान हुन जरुरी हुन्छ । त्यो अनुसन्धान प्रहरीबाट हुनसक्छ । अदालतबाट पनि न्यायिक निरुपण हुन सक्छ । नेपाल राष्ट बैंकबाट हुनसक्छ ।