१ असोज २०८१, मङ्गलवार

नसर्ने रोगको न्यूनीकरण गर्न धरानको प्रतिष्ठान र मेचीनगरबीच सहकार्य

७ भदौ २०८१, शुक्रवार
Image

झापा, ७ भदौ । मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षभन्दा माथि उमेर समूहका बासिन्दाको मृर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सो सम्बन्धी रोगको खोजपड्ताल, जाँच र जोखिम न्यूनीकरणका लागि स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केएचडीसी नेपाल र मेचीनगर नगरपालिकाबीच उक्त स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि आज त्रिपक्षीय सम्झौता भएको छ ।

झापा जिल्ला मुलुककै नसर्ने रोगका धेरै विरामी भएको जिल्ला मानिन्छ । त्यसमध्ये पनि मेचीनगरमा मृर्गौला खराबी, क्यान्सर संक्रमण, मुटुरोग लगायतका विरामीको संख्या वर्षेनी बढिरहेको पाइएको छ ।

आजैदेखि लागू भएको सम्झौतामा मेचीनगर नगरपालिकाको तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालको तर्फबाट अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।

केएचडीसी नेपालको कार्यक्रम संयोजक तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष शर्माले मेचीनगरका १५ वटै वडामा यो कार्यक्रम लागू हुने बताउनुभयो ।

कार्यक्रम अनुसार प्रतिष्ठान र केएचडीसी नेपालले मेचीनगरका घर घरमा पुगेर मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मृर्गौला रोगको उच्च जोखिम भएका व्यक्तिहरुको खोज पड्ताल गर्न स्थानीय स्वास्थ्यकर्मीहरुलाई प्राविधिक उपकरण उपलब्ध गराउँदै शिप र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने भएको छ ।

कार्यक्रममा नगरका सबै अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य जनशक्तिलाई तालिम दिएर प्रशिक्षित गरिने डा. हर्माले बताउनुभयो । कार्यक्रमको संयोजन प्रतिष्ठानको इनटरनल मेडिसिन विभागका प्राध्यापक समेत रहनु भएको डा. शर्माले गर्नुहुने सम्झौतामा उल्लेख छ ।

नगरमा घरदैलो खोजी गर्दा फेला परेका नसर्ने रोगका विरामीहरुको विशेषज्ञ चिकित्सक र आवश्यकता अनुसार टेलिमेडिसिनको माध्यमबाट उपचार समेत गरिने भएको छ ।

उक्त अवसरमा उपस्थित कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले अस्पताल धाउन नसक्ने विपन्न नागरिकलाई घरदैलोमै पुगेर केएचडीसी नेपालले भरपर्दो स्वास्थ्य जाँच र जटिल रोगको न्यूनीकरणमा सघाउने विश्वास व्यक्त गर्नु भएको छ ।

केएचडीसी स्वास्थ्य कार्यक्रम हाल झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लामा वि.सं. २०६० देखि नै सञ्चालित छ भने हालसम्म कार्यत्रम अन्तर्गत एक लाख ३० हजार जनाले स्वास्थ्य जाँच गराइसकेका छन् ।

उक्त संस्थाले बिगत तीन वर्षमा मेचीनगरका ४० वर्षमाथिका १० हजार ८५७ जनाको स्वास्थ्य जाँच गरिसकेको जनाएको छ । नगरमा ४० वर्षमाथिका नागरिकको जनसंख्या ४६ हजार ८२९ रहेको छ ।

सम्झौता आदानप्रदानसँगै आज मेचीनगरका स्वास्थ्यकर्मीहरुका लागि  क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। उक्त अवसरमा उपप्रमुख मीना उप्रेतीले मन्तब्य र मेचीनगर स्वास्थ्य शाखाकी  प्रमुख सविता सापकोटाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।