झापा, ११ असोज । बन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले इलामको सन्दकपुर क्षेत्रमा नेपालमै पहिलोपल्ट ‘ठुटे खरायो’ अस्तित्वमा रहेको फेला पार्नु भएको छ । यसको बैज्ञानिक नाम ‘फरेस्ट पाइका’ हो ।
मेचीनगर वडा नं. ११ निवासी खरेलले गत जेठ ४ गते बिहान ६ः३० बजे उक्त खरायोको तस्वीर खिच्नु भएको थियो । नयाँ प्रजातिको यो खरायो फेला परेको स्थान सन्दकपुर गाउँपालिका–२, आलटार हो ।
झट्ट हेर्दा ठूलो जंगली मुसा झैं देखिने ‘ठुटे खरायो’ भारत लगायतका मुलुकमा पाइए तापनि नेपालमा यसअघि यसको अस्तित्व रेकर्ड नभएको उहाँले दावी गर्नुभयो ।
तस्वीर लिएको चार महिनासम्म ‘ठुटे खरायो’ यसअघि नेपालमा रेकर्ड भएको थियो कि थिएन भनेर सोधखोज र अध्ययनमा बिताएको जानकारी दिदै उहाँले नेपालका प्राणीविज्ञहरुसँग पर्याप्त परामर्शबाट पुष्टि भएपछि विहीवार काँकडभिट्टामा एक कार्यक्रमबीच आफुले खिचेको यसको तस्वीर प्रदर्शनी गरेको बताउनुभयो ।
विश्व पर्यटन दिवसको उपलक्ष्य पारेर काँकडभिट्टास्थित पर्यटन कार्यालय परिसरमा आयोजित प्रदर्शनीमा ‘ठुटे खरायो’सहित उहाँले खोजको क्रममा फेला पारेका विभिन्न बन्यजन्तु र चराहरुको तस्वीर राख्नु भएको थियो ।
लामकाने, मुसे, कालोमुखे, हिमाली, लामा, नुब्री, तिब्बती लगायतका विभिन्न प्रजातिका खरायो पाइएका छन् । ‘ठुटे खरायो’ आकारमा अरुभन्दा सानो र हिमाली क्षेत्रमा बस्ने शाकाहारी बन्यजन्तु भएको उहाँले जानकारी दिनुभयो ।
खरेलले यसअघि इलामकै सूर्योदय नगरपालिकामा नेपालबाट लोप भइसकेको ठानिएको विशाल चुच्चोधारी ‘हङ्रायो’ चरा फेला पार्नुभएको थियो भने झापाको मेचीनगरमा नेपालमै नयाँ प्रजातिको चराको रुपमा ‘हरित परेवा’ फेला पार्नु भएको थियो ।
उहाँले इलामकौ सन्दकपुर–५, हाँगेथाममा ढोले भनेर चिनिने दुर्लभ जंगली कुकुर फेला पार्नु भएको थियो । दुई हजार ६५० मिटरको उचाईमा जंगली कुकुर फेला परेको घटना नौलो थियो ।
मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले मेचीनगर नगरपालिका क्षेत्रमा ३३७ प्रजातिका चराको तस्वीर खिचेर सार्वजनिक गरिसक्नु भएको छ । नेपाललाई चरा पर्यटनको माध्यमबाट विश्वभर चिनाउन सकिने उहाँको धारणा छ ।