अहिले कक्षा १० र १२ को परीक्षा केन्द्रको छनौट र तयारी भइरहेको छ । संघीय संसदमा शिक्षासम्बन्धी प्रस्तावित ऐनमाथि दफावर छलफल चलेको वर्षको परीक्षाले दिने परिणाम र निष्कर्षले आउँदो शैक्षिकसत्रका लागि सुनौलो सन्देश देला नै । विद्यमान समाजमा प्रयोगमा आएका जुन कुनै प्रकार र प्रकृतिका विद्यालयको मूल्यांकनको पहिलो मापन नै सम्बन्धित विद्यालयले पढाएका विद्यार्थीले दिएको परीक्षामा प्राप्त उत्तीर्ण दर, संख्या अनुपात र यसको उत्कृष्टता नतिजासँग अन्तरनीहित हुन्छ । कसैले भन्लान् वा नभन्लान् विद्यार्थीले कक्षागत फड्को मारेको अवस्थासँग अन्तरसम्बन्धित भएर जोडिएको हुन्छ ।
विगत ३ वर्षयता म सामुदायिक विद्यालय सुधारको अभियानसँग नजिकनजिकै छु । यो अभियानअन्तर्गत जोतिनुभएका अभियन्तासँग हल नारेर अभियानआरम्भपूर्व यससम्बन्धी गहिरो अध्ययनको क्रममा छु । मेरो अध्ययनले निकालेको संक्षिप्त निष्कर्ष माथिल्लो हरफमा भनिए झैँ नै हो । अन्ततः यसमा नै विद्यार्थी र अभिभावकको सन्तुष्टि नङ र मासुको सम्बन्ध झैँ अन्ययोन्याश्रित हुने रहेछ । विद्यमान परीक्षा प्रणालीलाई समयावधिक, पारदर्शी र मर्यादित बनाउन सरोकारवालाले नचाहेको वा नगरेको होइन । तथापि, चित्तबुझ्दो धरातलमा उभिएको वस्तुनिष्ठ परिणाम आउन भने सकेको छैन । विषयविज्ञको समोपस्थितिमा आरम्भ गरिने प्रश्नपत्र तयार गर्नेदेखि लिएर विज्ञद्वारा विज्ञतानिर्देशित मूल्यांकन विधि निर्धारणलाई यसको गोपनीयता, निष्पक्षता र सुनिश्चितताको पर्यवेक्षण प्रणालीले पनि अपेक्षित सफलता हात लगाउन सकेको छैन । फलतः विद्यालय जीवन र यसले दिने औसत परिणाम पनि समाजको हुनेखाने र हुँदाखाने वर्गानुसार देखिने गरेको छ ।
सुधारको हाम्रो अभियान
यतिबेला हामी– हामी सुधार्छौं हाम्रो विद्यालय अभियानअन्तर्गत उभिएका छौँ । विद्यालयबाट कक्षा उत्तीर्ण विद्यार्थीको औसत अवस्था र अवस्था विकासले सामुदायिक विद्यालय सुधारको यो अविश्रान्त अभियानलाई विभिन्न मनोविज्ञानले आकर्षित र प्रभावित पार्ने गरेको छ । परीक्षा कक्षमा कडाइ साथ निगरानी नहुने, अनुगमन टोली सबैतिर नपुग्ने, भित्री ग्रामीणमा त एकपटक पनि पुग्दै नपुग्ने, पुग्दा पनि परीक्षासम्बन्धी कार्यसंलग्न व्यक्तिलाई तयार रहन समय रहुञ्जेलको सुविधासहित सूचना दिएर पुग्ने, परीक्षार्थी बेनामी वा नक्कली भेटिँदा पनि नजरअन्दाज गर्ने, प्रश्नपत्रको प्रतिलिपी यसको सचित्र समाधानसहित परीक्षाकक्षमा उपलब्ध हुने, परीक्षार्थीले बोक्नुपर्ने अत्यावश्यक प्रमाणपत्र नभए पनि हुने, परीक्षाको कार्यारम्भ भएको निर्धारित परिसरमा अनुचित कार्योपर निगरानी नहुने, कतिपय परीक्षा केन्द्रलाई एउटा सचेत नागरिकको आँखाले नियाल्न सक्ने यसको आँखीझ्यालबाट हेर्दा त्यो परीक्षा हो कि सारीक्षा... अनैतिक क्रियाकलाप भएको आभास हुने ढंगले परीक्षाहरू हुने गरेका छन् ।
भए गरिएका कतिपय परीक्षामा सामेल परीक्षार्थीको उत्तरपुस्तिका मूल्यांकनमा कोडिङ प्रणाली लागू नहुने, प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिकाको मूल्यांकनसम्म आइपुग्दा डिजिटल माध्यम नअपनाउने, सुविधासम्पन्न स्थलमा समेत अनलाइन परीक्षा प्रणाली अवलम्बन नगरिनेजस्ता समयानुकूल कमजोरी त छन नै । यसका बावजुद परीक्षार्थी हुन तयार हुँदै गरेको विद्यार्थीलाई परीक्षा र परीक्षाको महत्त्वसम्बन्धी आवश्यक ज्ञान तथा सहजीकरण नगर्ने, इमानको परीक्षा हुन भनेर परामर्श नदिने, इमान्दारितको महत्त्वबारे अभिमुख नगराउने, परीक्षामा देख्न र देखाउन सकिने असल आचरण आर्जन र विकासप्रति अभिप्रेरित नगर्ने, सीमित समयभित्र प्रस्तुतिकरण गर्न सकिने ज्ञान क्षमताको मापन परीक्षा हो– प्रश्नपत्रमा सोधिएको प्रश्नोत्तरमा ध्यान केन्द्रीत गर्न तयार नगर्नेजस्ता आधारभूत सिकाइसमेत नहुने गरेको पाइन्छ । अझ कतिपय विद्यालयमा त पाठ्यक्रमअनुसार तोकिएका र यसमा पनि निश्चित प्रश्नोत्तरका लागि विद्यार्थीलाई तयार गर्ने, कक्षा उत्तीर्णमा मात्र जोड दिने, गोपनीयताको सुनिश्चिता भंग गर्न श्रृंखलाबद्ध केही प्रश्नको मात्र तयारी गर्ने गराउने, परीक्षार्थीको संख्या र अवस्थाअनुसार परीक्षा केन्द्र निर्धारण गर्न पहल लिने, परीक्षा केन्द्र छनौट इकाइलाई प्रभावित तुल्याउने, सुविधायुक्त र सुरक्षित परीक्षा केन्द्रमार्फत परीक्षा नतिजा सार्वजनिक सुनिश्चित गर्ने आदि कर्महरू भएको पाइन्छ ।
फलस्वरुप हाम्रा छोराछोरीहरू एक कक्षाबाट अर्को कक्षामा सहजै उत्तीर्ण भएका छन् तर न्युनतम ढंगले चाहिने गुण दिन सकेका छैनन्, ठुल्ठूला कक्षामा बिना कुनै कृपांक पुगेका छन् तर व्यवहारिक बन्न सकेका छैनन्, फरर अंग्रेजी जानेका छन्, बोल्छन् तर आचरणले आकर्षित र नैतिकवान बन्न सकेका छैनन् । तथापि, योग्यता–क्षमता मापनको अन्तर्राष्ट्रिय विधिअनुरुप जीपीए, ए प्लस आदि–आदि बरियता क्रममा हाम्रा बालबालिकाहरू ब्राण्डिङ भएकाछन् । यसमध्ये उत्कृष्ट विद्यार्थीहरू आ–आफ्ना विद्यालयका गहना, मुफतमा पाइने विज्ञानपनका सजिला माध्यम र बैदेशिक यात्रामा आकर्षित सर्टिफिकटधारी उम्दा जनशक्ति तयार भएका छन् ।
सुधारको हाम्रो प्रयास
गुणस्तर निर्माण र निर्धारण हुन नसक्दा विकसित विद्यार्थीको भुत्तोपनलाई हामीले नजिकैका हेरेका छौँ, सुक्ष्म ढंगले नियालेका छौँ । यो अवस्था निर्माणको बिन्दु भनेको परीक्षा नै हो । परीक्षा प्रणालीअन्तर्गत रहेका कमीकमजोरी र त्रुटिहरू सच्चिएलान्, सुध्रिएलान् तर चालू परीक्षालाई कसरी मर्यादित, व्यवस्थित र आकर्षित बनाउने ? तर्फ सोच्न र घोत्लन जरुरी छ । यतिबेला परीक्षा केन्द्र निर्धारणको काम अघि बढेको छ । प्रत्येक जिल्लामा जिल्ला शिक्षा इकाइले यो कार्यलाई तीब्रता दिइरहेको छ । परीक्षा बोर्डको सैद्धान्तिक दिशानिर्देश र पालिकाको शिक्षा शाखाको समन्वयमा यसले अन्तिम रूप लिनेछ । आउँदो वर्ष हुने परीक्षाको लागि प्रत्येकको परीक्षा केन्द्रको टुंगो लाग्ने छ । ठीक यहिँबेला यस विषयमा विशेष ख्याल गर्न र ध्यान दिन सकिएन भने सामुदायिक विद्यालयमाथि थोपरिने एउटा चुनौतिको चाङ फेरि बढ्ने छ ।
सामान्यतया सामुदायिक विद्यालयहरू बेखबर रहनेदेखि लिएर वास्तै नगर्ने मुडमा देखिन्छन् । परीक्षा निर्धारणजस्तो गम्भीर र गहकिलो विषयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको बैठक बस्ने गरेको मैले सुनेको छैन । प्रशासन कक्षले वा प्रशासकले त व्यवस्थापनलाई मुर्ख नै ठानेको देखिन्छ, भेटिन्छ । यसको प्रचुर फायदा निजी लगानीका विद्यालयले लिने गरेको कैयौँ दृष्टान्तहरू आलो घाउँ झैँ सम्झिएको कि बल्झने डर हुन्छ । खासगरि कतिपय शहरबजारकेन्द्रीत निजी विद्यालयले ग्रामीण र भित्री ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयलाई आफ्नो अनुकूल परीक्षा केन्द्र निर्धारण गर्न प्रयत्न गर्ने, यसनिमित्त उपहार आदानप्रदान हुने, विषय र शीर्षकअनुसार अकुत धनराशी चलखेल गर्ने, विद्यालय प्रशासनलाई प्रभावित तुल्याउने, कुनै न कुनै शर्त र अर्थमा लोभ्याउने आदि गरेको पाइन्छ ।
समुदायको श्रम र हर्दम सरोकारमा रहेको सामुदायिक विद्यालयमा समुदायको प्रतिनिधि पात्रका रूपमा विद्यालय व्यवस्थापन समिति कार्यरत छ । एउटा अभिभावक भएरमात्र होइन, परिवेशसुहाउँदो सामाजिक जिम्मेवारीबोधका साथ विद्यालय व्यवस्थापन समिति प्रत्येक विद्यालयमा गठित छ । विद्यालय व्यवस्थापन समिति कुनै सेवासुविधा, तलब, भत्ता आदि बिना नै आफैंमा स्वयंसेवीभावका साथ सक्रिय समुदायको प्रतिनिधित्व गर्ने संस्था हो । यसले विद्यालय जीवनमा सुशासनको पक्षपोषण गर्नुपर्छ, सुशासन बोकेर हिड्नुपर्छ र सुशासनको पर्याय बन्नुपर्छ । नियमित पठनपाठन, दैनन्दिन प्रशासन सञ्चालन–व्यवस्थापन र परीक्षा प्रणालीअन्तर्गत सुधारमा प्रशस्तै मात्रामा सुशासन झल्कनुपर्छ ।
हामी संलग्न हाम्रा सामुदायिक विद्यालयलाई सरकारले परीक्षा केन्द्र बनाउने गरेको छ । यो राम्रो हो । परीक्षाका लागि चाहिने मर्यादाको धज्जी उडाउने, परीक्षालाई हाटबजारजस्तो बनाउने र यसबाट प्राप्त हुने सर्वोत्कृष्ट परीक्षा नतिजा सार्वजनिक गरेर फेरि समुदायमाझ तिनका आँखामा छारो हाल्ने र सामुदायिक विद्यालयले चाहिँ पढाउँदैनन् । यसकारण परीक्षा नतिजा बिग्रन्छ भनेर म्यासेज दिने गरेको पाइन्छ । यो बिराम अवस्थाको लक्षण बुझेर निदानको उपाय खोज्न जरुरी छ । बिराम अवस्था सामान्य उपचारबाट नभए शल्यक्रियाका विधि अपनाउनुपर्छ । यसबाट मुनाफाका सक्रिय मानिसको अनुचित सक्रियता, चलखेल, बठ्याइँ आदिलाई पूर्णतः रोक्न सकिन्छ । यसका लागि– १) परीक्षा केन्द्रलाई प्रत्येक वर्ष फेरबदल गरिरहनुपर्छ । २) परीक्षा सञ्चालन र व्यवस्थापन संयन्त्रमा फेरबदल गर्नुपर्छ । ३) केन्द्रलाई पूर्णतः भौतिक विकास र पूर्वाधारसम्पन्न स्थल अध्ययनसँगै शहरबजारमै केन्द्रीत गर्नुपर्छ । ४) परीक्षा केन्द्र निर्माणमा सरोकारवालाको रायसल्लाह लिनुपर्छ । ५) परीक्षालाई मर्यादित बनाउन यसबीचमा हुने चलखेल पूर्णतः निषेध गर्नुपर्छ । ६) परीक्षा खटिएको पंक्तिलाई कसैको सट्टामा कसैलाई राख्ने, निजी विद्यालयबाट पनि खटाउने र विषयगत योग्यता भएको व्यक्ति खटाउने काम पूर्णतः बन्द गरिनुपर्छ । ७) अनुचित उठबस हुँदै आएको सन्दर्भलाई दृष्टिगत गर्दै परीक्षा सञ्चालन र व्यवस्थापन गर्न खटिएको पंक्तिलाई सार्वजनिक गरिनुहुन्न । अन्यथा कडाइसाथ कारबाही गरिने विषयका रूपमा यसलाई अघि सारिनुपर्छ । यससम्बन्धी सरोकारवाला तपाई हामी सबैको बेला छँदै ध्यान पुगोस् ! भयरहित र मर्यादित परीक्षाका लागि हार्दिक शुभेच्छासहित ...
(लेखक बास्कोटा मोरङको पथरीस्थित श्री पञ्चायत मावि विव्यस अध्यक्ष र विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सल्लाहकार हुनुहुन्छ । )