विचार
विचार
नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यकता लामो समयदेखि बहसको विषय बनेको छ । आर्थिक, सामाजिक र प्राविधिक विकासको यो युगमा कम्प्युटर शिक्षा र भाषा नीतिमा देखिएका त्रुटिहरूले विद्यार्थीहरूको सम्भावनालाई सीमित गरिरहेको छ ।
१. कम्प्युटर शिक्षा :
मलाई लाग्छ आजको यो प्रविधिक दुनियामा प्रविधिसँग मैत्री नभई सामान्य जीवन पनि चलाउन गाह्रो छ । हाम्रो देश नेपाल एउटा विकासोन्मुख राष्ट्र हो जहाँ धेरै कम घरमा एउटा कम्प्युटर सिस्टम हुने गर्दछ । या भनौँ औसत १०० घरहरू मध्ये १० घरमा कम्प्युटर अथवा ल्यापटप होला । अझ गाउँघरमा यो आँकडा झन् कम हुनसक्छ ।
हाम्रो देश नेपालको शिक्षा प्रणाली मिश्रित भए पनि बढी मात्रामा अेमरिका र अरू यूरोपियन युनियन जस्ता विकसित मुलुकबाट प्रभावित भएको पाइन्छ । अनि सामान्य हेक्का राख्ने मान्छेदेखि शिक्षा मन्त्रीसम्मले यूरोप, अमेरिका, अष्ट्रेलिया, जापान जस्ता देशहरूको नाम लिदै विभिन्न शिक्षा पद्धतिको कुरा गर्ने गरेको पाइन्छ । तर यहाँ बुझ्न के आवश्यक छ भने ती सबै देशमा त्यहाँकै परिवेश अनुसार शिक्षा प्रणाली तय गरिएको छ । अर्को तर्फ हाम्रो शिक्षा प्रणालीको केही कुरामा विश्लेषण कम भएको देखिन्छ ।
शिक्षा पहिला आवश्यकताको हुनु पर्दछ । विकसित मुलुकको विद्यालयमा प्राथमिक तथा माध्यमिक तहमा कम्प्युटर शिक्षाको विषय एकदमै न्यून छ अथवा छैन । किनभने त्यहाँ प्रत्येक घरमा एउटा कम्प्युटर सिस्टम अथवा ल्यापटप हुने गर्दछ र घरमा एउटा सामान्य उपकरण सरह चलाइन्छ । जस्तो हाम्रो परिवेशमा नानीहरूले टिभी तथा मोबाइल चलाउँछन् । त्यसको विपरीत हाम्रो देशमा अझैं पनि लगभग २५ प्रतिशत मानिस गरिबीको रेखा मुनि छन्, जहाँ दैनिक जीवन चलाउन गाह्रो छ । त्यस्तो अवस्थामा घर घरमा कम्प्युटर सम्भव छैन र त विद्यालयमा कम्प्युटर विषय तथा प्रयोगशाला हुन जरुरी छ । जुन दिन हाम्रो देशमा आर्थिक अवस्था सुधार आउनेछ प्रतिव्यक्ति आय सम्पन्नता तर्फ हुनेछ, जब प्रत्येक घरमा कम्प्युटर एउटा सामान्य उपकरण सरह रहन्छ तब कम्प्युटर विषय हुनु जरुरी छैन । तर अहिले हाम्रो देशको परिपेक्ष्यमा कम्प्युटर एक अति आवश्यक, रोचक विषय हो जसलाई अनिवार्य विषयवस्तु सरह पाठ्यक्रममा समावेश गर्नु जरुरी छ । साँच्चै नानीहरू अरू विषयमा भन्दा कम्प्युटर विषयमा उत्साहित हुने गर्दछन् ।
हामी हाम्रो विद्यालयमा कम्प्युटर पढाउँछौ अनि प्रयोगात्मक पनि गर्छौ, तर हामीहरूले नानीहरू प्रगति उनीहरूको प्रतिफल सरकारले तय गरेको पोर्टलमा इन्ट्री हुँदैन या भनौँ मान्यता दिँदैन । किनभने कम्प्युटर शिक्षालाई सरकारले मान्यता दिएको छैन । ढिलो र चाँडो कम्प्युटर विषय एउटा मान्यताप्राप्त अनिवार्य विषय हुने हामी आशावादी छौ । कहिले नयाँ पुस्ताका विज्ञ व्यक्तिहरू आउनु हुनेछ र आवश्यक विश्लेषण गरी सुधार गर्नु हुनेछ । हामी पर्खाइमा छौं ।
२. भाषाको विषय :
मानव जाति विकासको क्रम त्यतिबेलादेखि तीब्र भएको हुनु पर्दछ जतिबेला भाषाको खोज भयो । भाषा बुझाउन, सिकाउन, जान्न, दैनिक जीवन चलाउनदेखि विश्वभरि सूचना आदान प्रदान गर्न अत्यन्त आवश्यक छ । भाषा बुझ्नका लागि हुन्छ । अनि त्यसलाई निखार अनुहार तथा शरीरको हाउभाउले गर्दछ ।
हाम्रो देश नेपालमा उच्च माध्यमिक शिक्षा अन्तर्गत अनिवार्य भाषाको विषय नेपाली र अंग्रेजी पर्दछ । नेपाली भाषा हाम्रो सूचना प्रसारको माध्यम मात्र नभएर मौलिकताको खोज पनि हो । यो विषयले हाम्रो मौलिकता जोगाई राख्न मदत गरेको छ । तर विडम्बना हाम्रो देशमा अहिलेका पुस्ता झन् झन् नेपाली भाषा प्रति निरस बन्दै गइरहेका छन् । यो कुरा प्रमाणित गर्न मसँग कुनै प्रमाण त छैन, तर सबैले महसुस गरेका कुरा हो जस्तो लाग्छ, कारण के होला ?
नेपाली एउटा स्पष्ट भाषा हो तर एउटा भाषाको विषयलाई यत्तिको जटिलता हुनु आवश्यक थिएन भन्ने मेरो बुझाइ हो । कुरा यहाँ मात्र सीमित छैन । एउटा विद्यार्थी छ, उ हरेक विषयमा अब्बल छ, उसले पढेका कुरा मज्जाले बुझ्छ र आफ्नो जीवनमा प्रयोगमा पनि ल्याउँछ, तर उसको नेपाली वा अंग्रेजी कुनै एक विषयमा कमजोर छ, कक्षा ११, १२ अथवा स्नातक कक्षमा यी दुई विषयमध्ये कुनै एक विषयमा उ अनुत्तीर्ण हुन्छ भने त्यो विद्यार्थी थप औपचारिक अध्ययन गर्नका लागि अयोग्य ठहर्छ । उ थप औपचारिक कक्षा पढ्न पाउँदैन, यसको मतलब के उसले मानव जीवनमा केही दिन दिन सक्दैन त ? के उसले अरु कुनै प्रगति गर्न सक्दैन त ? के उसको क्षमता कुनै एक भाषाको विषयले तय गर्न सक्दछ ?
हाम्रो शिक्षा प्रणालीमा भाषा विषय (अंग्रेजी वा नेपाली) मा अनुत्तीर्ण हुँदा विद्यार्थीहरूलाई उच्च शिक्षा र औपचारिक अध्ययनबाट वञ्चित गराउने नीतिले ठूलो अन्याय गरेको छ । भाषा विषयमा अनुत्तीर्ण हुँदा विद्यार्थीहरूलाई उच्च कक्षामा अध्ययन गर्न रोक लगाउर्नु हाम्रो शिक्षा प्रणालीको ठूलो त्रुटि हो । एक होनहार विद्यार्थी, जसले अन्य विषयहरूमा गहिरो ज्ञान राख्छ, विषयवस्तुको विश्लेषण गर्छ र सिकेका कुराहरूलाई व्यवहारमा उतार्छ । उसलाई केवल अंग्रेजी वा नेपालीमा कमजोर भएको आधारमा अयोग्य ठानिन्छ । यो नीति अन्यायपूर्ण र अव्यावहारिक छ । मानव मस्तिष्क असीमित सम्भावनाले भरिएको हुन्छ, र कुनै एक विषयमा कमजोरीले उसको समग्र क्षमतालाई परिभाषित गर्नु हुँदैन । यस्तो नीतिले विद्याथीहरूको आत्मविश्वास र भविष्यलाई हानि पुर्याउँछ ।
नेपालमा गुणस्तरीय रिफरेन्स पुस्तकहरू र शैक्षिक सामग्रीको अभाव अर्को ठूलो समस्या हो । सरकारले यस्ता सामग्रीको व्यवस्था गर्न नसक्दा विद्यार्थीहरू सीमित स्रोतमा निर्भर छन् । यो अवस्थाले उनीहरूको सिकाइ प्रक्रियालाई कमजोर बनाउँछ । सरकारको जिम्मेवारी भनेको हरेक विद्यार्थीलाई उसको रुचि र क्षमता अनुसारको अध्ययन वातावरण प्रदान गर्नु हो । न कि आफ्ना कमजोरीहरू लुकाउन विद्यार्थीहरूलाई नाकामीको रूपमा प्रस्तुत गर्नु ।
३. सुधारका उपायहरू :
कक्षा ३ देखि कम्प्युटर शिक्षालाई अनिवार्य बनाउनुपर्छ । सरकारी स्कूलहरूमा कम्प्युटर ल्याब र इन्टरनेट सुविधा विस्तार गर्न निजी क्षेत्र र अन्तर्राष्ट्रिय दाताहरूसँग सहकार्य गर्नुपर्छ । शिक्षक तालिम र प्रोत्साहन कार्यक्रम लागू गर्नुपर्छ ।
भाषा विषयमा अनुत्तीर्ण हुँदा विद्यार्थीलाई उच्च कक्षामा जानबाट रोक्ने नीति हटाउनुपर्छ । बरु, पूरक कक्षा वा विशेष तालिमको व्यवस्था गर्नुपर्छ । विद्यार्थीको समग्र क्षमता र अन्य विषयहरूमा प्रदर्शनलाई मूल्यांकनको आधार बनाउनुपर्छ ।
गुणस्तरीय रिफरेन्स पुस्तकहरू र डिजिटल सामग्री उपलब्ध गराउन सरकारले बजेट विनियोजन गर्नुपर्छ । ग्रामीण क्षेत्रमा बिजुली र इन्टरनेटको पहुँच विस्तार गर्नुपर्छ । कम्प्युटर शिक्षा र भाषा नीतिका लागि विज्ञ समिति गठन गरी पाठ्यक्रम, पूर्वाधार र कार्यान्वयनको निगरानी गर्नुपर्छ ।
शिक्षा प्रणालीले कम्प्युटर शिक्षालाई प्राथमिकता दिनु र भाषा विषयको कठोर नीतिलाई सुधार्नु अपरिहार्य छ । यी सुधारहरूले विद्यार्थीहरूलाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउनुका साथै उनीहरूको असीमित सम्भावनालाई उजागर गर्नेछ । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दै हरेक विद्यार्थीलाई उपयुक्त शैक्षिक वातावरण प्रदान गर्नुपर्छ, ताकि उनीहरूले आफ्नो भविष्य र देशको विकासमा योगदान दिन सकुन् ।