३० माघ २०८१, बुधवार

यतिमात्र गर्न सके पनि घरनजिकैको क्याम्पस बन्छ

२७ माघ २०८१, आइतवार
Image

पथरी बहुमुखी क्याम्पससँग मेरो छिमेकका रूपमा प्रगाढ सम्बन्छ छ । सम्बन्धभित्रको स्थायी सम्बन्धको गहिरो र खँदिलो पक्ष पनि यही हो । समाजलाई चाहिने कैयौँ विधागत विज्ञ जनशक्ति तयार गर्ने यो थलो आफैंमा हाइब्रेडिङ ब्याड हो । यहाँ पछिल्लो समय स्नातकोत्तर तहसम्मको अध्ययन–अध्यापन र अनुसन्धान हुने गर्दछ । यत्रो विराट शैक्षिक संरचनाको शीतल छहारीमुनि ओतिन पाउने विषयले मलाई हर्षानुभूति दिइरहेको हुन्छ । यसकारण पनि घरनजिकैको यो क्याम्पसलाई म विभिन्न कोण र जोडबाट नियाल्ने गर्दछु ।

यसक्रममा औंल्याउन र उठाउन चाहेका केही विषयवस्तुमा मेरो पूर्णतः अनविज्ञता रहन सक्छ तर धृष्टता किमार्थ होइन ! उघ्रँदो जीवनको उज्यालो आशा र भरोसाले आकर्षित भरभराउँदा विद्यार्थीहरूको ओहोरदोहोर र ज्ञानसम्पन्न प्राध्यापन गर्नु गराउनुहुने गुरुजनको लगावलाई नजिकैबाट अध्ययन गर्ने प्रयास गरेको हुन्छु । यो आफैंमा केस्रा–केस्रा मिलेर बनेको सुन्तला प्रतीत हुन्छ । उधिन्दा रेसादार केस्रा बाहिरिन्छ, संगोलमा सर्वप्रिय फलाहार सुन्तला बन्छ । यसकारण हाम्रो नगरले स्थानीय गौरव र गहनाको रूपमा ग्रहण गरेको यथार्थलाई नजिकैबाट लिएको छु । वास्तवमा यो हाम्रो नगरको सम्पदा हो, र स्थानीय अर्थमा साझा सम्पत्ति पनि ।

सुनेअनुसार क्याम्पस परिषद् भेला र साधारणसभाको तयारी भइरहेको छ । परिषद् भेला वा साधारणसभाले व्यवस्थापकीय क्षमता भएको नेतृत्व चयन गर्छ । क्याम्पसको दैनन्दिन प्रशासन यसमार्फत सञ्चालित हुन्छ, रहन्छ । छिमेकी हुनुको नाताले क्याम्पसको विद्यमान अवस्थामा थप सुधार ल्याउन र क्रमशः सुदृढ तुल्याउन परिषद् भेला र साधारणसभासमक्ष केही शुभभाव र सदिच्छा राखेको छु ।

पूर्वाधार विकासको पक्ष

चाहेजति छैन होला ! सोचेजति आएन होला ! पुग्दो भएन होला ! तर ग्रामीण परिवेशमा परिचय कमाएका र पहिचान बनाएका कैयौँ सामुदायिक क्याम्पसभन्दा हाम्रो क्याम्पस पूर्वाधार विकासका दृष्टिकोणले कुनै अर्थ, मूल्य र मान्यतामा कमजोर छैन । स्थानीय शिक्षाप्रेमी, विकासशील र कर्मप्रधान व्यक्तित्वहरू सहयोग, सद्भाव र समर्पणको प्रतिफलस्वरुप निर्मित यो क्याम्पस आज त्रिभुवन विश्वविद्यालयको काठमाण्डौँस्थित कीर्तिपुर खण्डजस्तै पथरी बहुमुखी क्याम्पस पनि सुविधासम्पन्न छ । यो असाधारण पक्ष हो, जनसरोकारका दृष्टिकोणले निकै महत्त्वपूर्ण पक्ष हो । यसप्रति गर्विलो बुझाइ विकास गर्न र तदानुकूल अग्रसरता लिन सकियो भने योजना निर्माण र कार्यान्वयनको चरणमा फड्को मार्न सकिन्छ ।   

भौतिक अवस्थिति    

पूर्वमा उर्लाबारी नपाका केही वडाहरू, उत्तरमा लेटाङ नपाका केही वडाहरू, दक्षिणमा सुनवर्षी नपाका केही वडाहरू र पश्चिममा कानेपोखरी गापाका केही वडाहरू आधारित पथरी बहुमुखी क्याम्पसको नगरको एकमात्र स्नातकोत्तर तहसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुने क्याम्पस हो । नगरमै कक्षा १२ उत्तीर्ण गराउने झण्डै दर्जन माविहरू र छिमेकका पालिकाको समेत आकर्षणको केन्द्रभागमा उभिन पाउनु क्याम्पसको जीवनमा यसको अल्पकालीन सौन्दर्य मात्र होइन, बरु दीर्घकालीन महत्त्वको विषय हो, चहकिलो पक्ष हो, दब्रिलो मेरुदण्ड हो र अहोभाग्य । यसका बावजुद क्याम्पसले आफ्नो पूर्वाधारसम्पन्न कक्षागत पठनपाठन केन्द्रले धान्न सक्ने विद्यार्थी संख्या किन पाइरहेको छैन ? यो निकै पेचिलो प्रश्न हो । अपवादबाहेक अधिकांश प्राध्यापकहरू कक्षा १२ तह उत्तीर्ण गर्ने गराउने माविको शिक्षकसमेत हुनुहुन्छ ।  

क्याम्पस भनेको विद्यार्थी विविधताबीचको हुर्कंदो साझा बगैँचा हो । स्नातकदेखि स्नातकोत्तर तहसम्मको शोधार्थी अर्थात् विद्यार्थी पथरी बहुमुखी क्याम्पसमा बाह्रैमास उपलब्ध हुने विषयगत अध्ययन–अध्यापन र अनुसन्धानको विकल्प खोज्दै र चाहर्दै हाम्रा विद्यार्थीहरू किन शहरबाहिरिने गरेकाछन् ? यहाँनेर नेतृत्वले घोत्लन र गम्भीर हुन जरुरी छ । हाम्रो क्याम्पसमा पढाइ हुने तर बाहिरिने यी कैयौँ विद्यार्थीको वस्तुनिष्ठ अपेक्षा र विद्यमान श्रमबजारको मागलाई दृष्टिगत गर्दै समयानुकूल पठनपाठन परियोजना अघि सार्नुपर्छ ।  

सहयोगी र समर्पित जनशक्ति    

शिक्षा विकास र शैक्षिक उन्नयनको प्रश्न निरुपण गर्न हामीसँग एकजना एकचित्त भएको सहयोगी, संकल्पकृत र समर्पित जनशक्ति छ । श्रीमद्भागवत् महापुराण सप्ताहदेखि कैयौँ विधागत दान–दातव्यमार्फत सञ्चालनको यो क्रमसम्म आइपुगेको संस्थाका लागि अहिले स्थानीय सरकार अभिभावक बन्ने प्रयत्न गरेको छ । बेलाबलामा प्रदेश र संघीय सरकारको तर्फबाट प्राप्त भएका परियोजना आधारित सहयोगले संस्थालाई सुदृढ तुल्याउन मद्दत गरेको छ । स्थानीय सामाजिक–सांस्कृतिक क्षेत्रमा अन्तरघुलित व्यापारिक–व्यवसायिक व्यक्तित्व र कैयौँ भद्रभलाद्मीबाट क्याम्पस हाताभित्र कुनै न कुनै संरचना विकासदेखि लिएर मन्दिर, अक्षयकोषलगायत शीर्षकमा हुने गरेको सहयोग आफैंमा प्रेरणा र उत्प्रेरणा जगाउने अर्थमा पर्याप्त छ । आजको समाजले पाएको यो विरासत बचाउन विभिन्न समयक्रममा प्राप्त हुने यी र यस्ता सहयोगले निकै ठूलो र दूरगामी अर्थ राख्दछ । यसलाई कमजोर आँक्न हुँदैन ।

यतिबेला पनि क्याम्पस परिषद् सदस्य बढाउन र अक्षयकोषदाताको संख्या बढाउन लागेको छ । सहयोगी समुदाय र समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति व्यक्तित्वले फुक्काफाल सहयोग गरिरहनुभएको छ । अथाह लगानी गरिरहनुभएको छ । लगानीको प्रतिफल समुदायमा जस्ताकोतस्तै देखियोस् उहाँहरू अझै पनि सहयोग गर्नुहुन्छ । नेतृत्व क्याम्पसको लिने अनि चिन्ता बाहिरफेर हुने र अक्षयकोषसमेत क्षय भएको पछिल्लो एउटा तितो घटनाले छिन्नभिन्न हुन चाहेको पंक्तिलाई विश्वासमा लिन सक्नुपर्छ । क्याम्पस चल्छ, गजबले चल्छ । समाजको एउटा ठूलो तप्का परिषद् हुन चाहन्छ, जोड्नुपर्छ ।

प्रत्यक्ष संवाद र परामर्श

क्याम्पसको विद्यार्थी आफैंमा शोधार्थी हो, समाजको हुर्कंदो र बढ्दो पूंजी हो । पूंजी पहिचान र परिचालनका दृष्टिकोणले नियमित रूपमा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद र रुचिकर विषय क्षेत्रमा परामर्श आरम्भ गरिनुपर्छ । विद्यार्थीहरूको रुचिकर विषय र रोजगार निर्देशित क्षेत्रमा क्याम्पस सहयोगी मात्र होइन, अभिभावक बनिदिन सक्नुपर्छ । शोध र खोजका क्रममा हुने क्रिया–प्रतिक्रियाको प्रक्रियालाई ओपन फोरमका रूपमा विकास गर्न सक्नुपर्छ ।

डिजिटल समय हो यो । अब हामीलाई डिजिटल प्लेटफर्मको प्रयोग आवश्यक मात्र भएन, ह्वात्तै बढ्न थाल्यो । पठनपाठन र पठनपाठन सहयोगी सामग्री डिजिटल प्लेटफर्ममा राख्न सकियो भने विद्यार्थीको आकर्षणता बढ्छ । आमसञ्चारमार्फत अवस्थाको प्रक्षेपण गर्ने, सर्वेक्षण गर्ने र प्रतिक्रियामा आधारित रहँदै अन्तरघुलनमैत्री शिक्षण विधि अवलम्बन गर्ने हो भने नवीन परिवेश नियाल्दै आएको आजको विद्यार्थी अनावश्यक दुःख पाउन टाढा जाँदैन ।

पठनपाठनमैत्री सामग्रीको जोहोसमेत गर्न नसक्ने शिक्षकले पढाएको विद्यार्थी पनि क्याम्पस आएको हुन्छ, दैनिक धाएको हुन्छ पढ्नका लागि । कक्षा १२ सम्म पढिरहँदा उसले पाएको शिक्षणविधिको विकल्प क्याम्पस तहमा पनि पाएन वा क्याम्पसले दिन सकिन भने दाखिला भएपछि क्रमशः ड्रप आउट हुनु अनिवार्य हुन्छ । कक्षागत शिक्षणबाहेक गुगल फर्म, क्याम्पस पोर्टल वा मोबाइल एपको प्रयोग गरेर विद्यार्थीहरूबाट उनीहरूको अपेक्षा र अनुभवबारे सर्वेक्षण गर्दै शिक्षण सिकाइलाई सहज तुल्याउन सकिन्छ । प्रत्येक सेमेस्टर वा शैक्षिक वर्षको अन्त्यमा यससम्बन्धी फिडब्याक लिने वा फिडब्याक फर्म भराउने आदि काम गर्ने हो भने विद्यार्थी ड्रप आउट पनि हुँदैन । यही विद्यार्थीको प्रेरणास्वरुप अर्को नयाँ विद्यार्थी पनि आकर्षित भइरहेको हुन्छ ।

विद्यार्थी अन्तरघुलन शिक्षण

औपचारिक तथा अनौपचारिक भेटघाटमा विद्यार्थी अन्तरघुलन शिक्षण विधि अवलम्बन जरुरी छ । यसले विद्यार्थी, शिक्षक र व्यवस्थापन टोलीबीच नियमित संवाद, संवाद शिविर र मिटिङ बैठकको माग गर्दछ । हामीकहाँ यो अभ्यास छैन । हाम्रो समयसमयमा व्यवस्थापककै मिटिङ हुन्न, कहाँ शिक्षक र विद्यार्थीसम्म यो पुगोस् !

यो अवस्था निर्माण गर्न शैक्षिक संघसंस्थाको व्यवस्थापनमा दलीयकरण गर्ने, आवश्यक योग्यता–क्षमता अभाव भए पनि अमुक पात्रको लागि दलीय प्रतिनिधित्व सुनिश्चित गर्ने, अन्तरदलीय जीवनमा उसको नेतृत्व थन्क्याउँने थलो बनाउने, दलीय बर्चस्व कायम गर्ने, दलीय उपस्थिति खोज्ने, दलीय दबदबा सिर्जना गर्ने आदि कर्म गर्नुहुँदैन । अमुक मानिस उसको आस्था, बिचार र व्यवहारले अमुक दलको हुन सक्छ र हुन्छ । यो सापेक्षित सत्य हो । तर निरपेक्ष ढंगले कुनै दलकै भएका कारण त्यो दलको रङ छाँट्नु, कसैमाथि खनिनु, कसैमाथि लगाम लगाउनु र माइन्युट्ली दलीय निर्णय प्रतिबिम्बित भएर चल्नुहुँदैन ।

शैक्षिक संघसंस्था कुनै एउटा दलको हुँदैन । यसमा जोडिएको शिक्षक–कर्मचारी पंक्ति कुनै एउटा मात्र दलको हुँदैन । सिंगो समुदाय र विद्यार्थी कुनै एउटा मात्र दलको हुँदैन । यो सर्वपक्षीय सहभागितामा आधारित हुन्छ । सर्वपक्षीय सहभागितालाई नै जोड दिनुपर्छ । क्याम्पस प्रशासनले विद्यार्थीहरू सँगसँगै समुदायसँगको अन्तरघुलनलाई औपचारिक र अनौपचारिक दुबै हिसावले आयोजना गरिरहनुपर्छ । यहाँ हुने छलफल र बिचार–विमर्शले विद्यार्थी, अभिभावक र क्याम्पसको अन्तरसम्बन्धलाई प्रगाढ तुल्याउछ । परस्पर अपनत्वबोध वृद्धि–विकास गर्छ । सामुदायिक संघसंस्थालाई काउण्टर दिन खडा गरिएको निजी विद्यालय वा क्याम्पसमा लगानी भएको व्यक्तिले यो पक्षलाई कार्यान्वयनमा लिन चाहँदैन । यससम्बन्धी म भुक्तभोगी हो । उसको हकमा यो एकदमै स्वाभाविक पनि हो । यो उसको विवसतालाई पनि हामीले बुझिदिनुपर्छ । नेतृत्व चयनको प्रक्रियामा हामीले ध्यान दिनुपर्छ ।

रोजगार र करियर परामर्श

आजको विद्यार्थी औसत टाठो छ, बाठो छ । हामीभन्दा धेरै परलक्षित छ । मभन्दा त निकै चतुर छ । प्रत्येक क्षण कुनै न कुनै नयाँ विषयवस्तुका बारेमा परिकल्पना गरिरहेको हुन्छ । प्रत्येक वस्तुसँग साटिँदा र यस्ता वस्तुसँगै उभिँदा आफ्नो पोजिशन कहाँनेर के हुने हो पटकपटक सोच्छ र खोज्छ । यो स्वभाविक पनि हो । यतिबेला सञ्चालित शैक्षिक संघसंस्थामा संलग्न विद्यार्थीले जारी कोर्स उत्तीर्ण गरेपछि उसले के पाउछ ? के कमाउछ ? के ख्याती आर्जन गर्छ ? हामी मतलब राख्दैनौँ तर उसले चासोपूर्वक लिइरहेको हुन्छ । पढ् पढ् सात, सोह्र दुने आठ अब आजको पुस्तामा कसैले पनि पढ्दैन । हामीले पनि आफूलाई कति सकिन्छ, त्यो हदसम्म सच्च्याउनुपर्छ र सच्चिनुपर्दछ ।

असंगठित क्षेत्रमा काम गर्ने मजदूरले दिनभरि काम गरेर साँझ आफ्नो ज्याला मजदूरी पारिश्रमिक लिएर घर फर्किए झैँ एउटा कोर्स भएको विद्यार्थी अर्को कोर्सआरम्भ पहिल्यै आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छ । यसनिमित्त उसलाई आवश्यक पर्ने सीप, तालिम तथा रोजगारीका अवसरबारे बुझ्न सम्बन्धित विषयविज्ञसँग समयसमयमा परामर्श र अन्तरक्रिया गराउने गर्नुपर्छ । यसपछि मात्र विद्यार्थी आकर्षित हुनसक्छ । सकिन्छ भने इन्टर्नशिप, ट्रेनिङ, करियर गाइडेन्स जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । अनि न विद्यार्थी हामीतिर र हाम्रो शैक्षिक कार्यक्रममार्फत क्याम्पसतिर जोडिन पुग्छ । हाम्रा कतिपय बालबच्चा देशबाहिर छन्, देशभित्रै भए पनि काठमाण्डौँ छन् । त्यहाँ र यहाँको पठनपाठनबीचको भिन्नता र समानताबारे सोधपुछ गरौँ त ! उत्तर के आउछ ? यही होइन र !

शिक्षण गुणस्तर सुधार

शिक्षण गुणस्तर सुधार पहिलो प्रश्न हो । अहिलेसम्म अपवादबाहेक यो निरुपण हुन सकेको छैन । हाम्रोबाट स्नातक गरेको विद्यार्थीले किन समाजलाई चिनेन ? किन समाजलाई बुझेन ? रोजगारमूलक क्षेत्रबाहेक सामाजिक जीवनका अधिकांश क्षेत्रमा किन पछाडि पर्छ ? किन अनुत्तीर्ण हुन्छ ? स्नातकोत्तर तह उत्तीर्ण शोधार्थी–विद्यार्थी बजारमा डिमाण्ड लिन सक्ने प्रतिभा किन बनेन ? व्यावसायिक किन बन्न सकेन ? कुनै न कुनै प्रकारको इलम, पेशा आदिमा किन जोडिन सकने ? यी धेरै प्रश्नको उत्तरले शिक्षण गुणस्तर सुधारमा समस्या देखाउछ । मैले केही गुरुजनलाई आज के पढाउने ? कुन खण्डअन्तर्गत के शीर्षकको पाठ पढाउने ? यससम्बन्धी बनेको तालिका के हो ? पाठ्यसामग्री के हो ? विद्यार्थीको बुझाइ दर कस्तो छ ? परीक्षामा औसत उत्तीर्ण दर के छ ? भनेर जिज्ञासा राखेँ । गुरु बोल्नुभएन । अध्यक्षको सक्रियता बढ्ता भयो भनेर उहाँले कुण्ठाग्रस्त मानसिकता बनाएर गुनासो छर्दै र बाँड्दै हिड्नुभयो ।

यसले आजको विद्यार्थीले चाहेजस्तो अनुसन्धानमा आधारित शिक्षण विधिको व्यवस्थापन गर्न सक्दैन । खड्कँदो खाँचोलाई दृष्टिगत गर्दा अब हाम्रो शिक्षणविधिलाई अनुसन्धानमुखी बनाउन जरुरी छ । यसमा स्मार्ट क्लास, प्रोजेक्ट आधारित लर्निङ, इनोभेटिभ मेथड्स जस्ता प्रविधिहरू समावेश गर्नु जरुरी छ । यसले विद्यार्थीहरूको अपेक्षाअनुसार अग्रता दिन सहजता दिलाउने छ । उनीहरूको आवश्यकताअनुसारको सेवा तथा शैक्षिक वातावरण सुधार गर्न मद्दत गर्दछ ।

व्यवस्थापन र वित्तीय व्यवस्थापन

व्यवस्थापकीय ठाउँबाट हेर्दा क्याम्पस निर्माणकालयता विकसित आफ्ना दृढ दृष्टिकोण र लक्ष्य निरुपणमा यी खालका नीतिगत स्पष्टता, कार्यनीतिक पक्षउपर क्याम्पसको दीर्घकालीन लक्ष्य, उद्देश्य र शैक्षिक रणनीतिमा पुनःपरिभाषित हुन जरुरी छ । नेतृत्वको कार्यकौशलता र दूरदर्शी कामको व्यवस्थापनले हामीलाई ठीक ठाउँमा अवतरण गराउछ ।

क्याम्पसले नियमित रूपमा तलब खुवाउन सकेको छैन, पारिश्रमिकताको व्यवस्थापन गर्न सकेको छैन । अर्थात् उपलब्ध मानव संसाधन व्यवस्थापन र परिचालन गर्न सकेको छैन । यो यहाँको एकदमै तितो यथार्थ हो । वित्तीय व्यवस्थापन कमजोर भएको यो यथार्थलाई शिक्षाको रूपमा ग्रहण गर्दै क्याम्पसको स्थायित्वका लागि उचित बजेट योजना, लगानी रणनीति र दीर्घकालीन आर्थिक स्रोतहरू सुनिश्चित गर्नु जरुरी भएको छ । संकाय र कर्मचारी व्यवस्थापन संस्थाको आवश्यकताले निर्धारण गर्नुपर्छ । योग्य र अनुभवी शिक्षक तथा कर्मचारीको भर्ती, भर्ती भएकालाई तालिम र शिक्षणका लागि प्रेरणादायी वातावरणको सिर्जना गर्नु आवश्यक छ ।

प्रशासन सुधार र सुरक्षा व्यवस्थापन

आफू कार्यरत यस्तो पवित्र स्थलमा विद्यार्थीदेखि लिएर सिंगो पंक्ति सुरक्षित र अनुशासित देखिँदैन । पूर्णकालीन शिक्षकदेखि कर्मचारी वृत्तिविकास र भरणपोषणबाट सुन्तुष्ट छैन । पुग्दो छैन, एकदमै अपुग छ । प्रायशः गुनासोमा देखिनुहुन्छ, भेटिनुहुन्छ । बरव्यवहार आदि मर्यादित छैन, सम्मानित छैन । एकले अर्कोलाई तेजोबध गर्न उद्दत रहेको मानसिकता देखिन्छ । अनुशासन, आचरण र सुशासनका दृष्टिकोणले यो किमार्थ राम्रो होइन । यसबाट खास नतिजा निकाल्न सहकार्य होइन, कसैले कसैलाई प्रोत्साहित गर्दैन, बरु हतोत्साहित मात्र तुल्याउछ ।

अनुभवमा आधारित हाम्रो यो जनशक्तिलाई निखार्दै गुणस्तरीय शिक्षा–शिक्षण प्रणाली अपनाउनमा औजारको रूपमा प्रयोग गर्नुपर्छ । हामीसँग अनुभवी र प्रेरणादायी शैक्षिक जनशक्ति छ, यसको समोचित व्यवस्थापन गर्नुपर्ने छ । प्रशासन सुधारअन्तर्गत नवीनतम शिक्षण विधिहरू जस्तो कि प्रोजेक्ट बेस्ड लर्निङ, डिजिटल क्लास, इन्टरएक्टिभ सेसन आदि प्रयोग गर्न बिलम्ब गर्नुहुँदैन ।

वास्तविक जीवनमा उपयोगी हुने व्यवसायउन्मुख शिक्षामा जोड दिनुपर्छ । स्मार्ट क्लासरूम, पुस्तकालय र प्रयोगशालाको स्तरीकरण, विद्यार्थीहरूलाई प्रोजेक्ट तथा अनुसन्धान प्रेरित पठनपाठन, अतिरिक्त क्रियाकलाप, विद्यार्थीको उमेर र रुचिसुहाउँदो खेलकुद, सांस्कृतिक कार्यक्रम, साहित्यिक प्रतियोगिता, टेक्निकल फेस्ट, पिस म्याराथन, स्टार्टअप ह्याकाथन जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्नुपर्छ । यसबाट क्रमशः सकारात्मक शैक्षिक वातावरण बन्छ । क्याम्पस परिषद् भेला वा साधारणसभा सफलताको शुभेच्छासहित ! 

लेखकको बारेमा
Image
युवराज बास्कोटा