४ असोज २०८२, शनिवार

काँकरभिट्टामा जनान्दोलनको झल्को दिदै निस्कियो कांग्रेस र एमालेको जुलुस

३ असोज २०८२, शुक्रवार
Image

झापा, ३ असोज । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस र नेकपा एमालेले आज पूर्वीनाका काँकरभिट्टामा विशाल मौन जुलुश प्रदर्शन गरेका छन् ।

संविधानको रक्षा गरौं भन्ने मूल उद्घोषका साथ दुई पार्टीले आयोजना गरेको यो जुलुश जेनजी आन्दोलनपछिको पहिलो राजनीतिक कार्यक्रम हो ।

हनुमान मन्दिरमा जेनजी शहीदप्रति मौनधारण र राष्ट्रिय गानपछि सुरु भएको जुलुस बसपार्क, बाहुनडाँगी रोड, देवकोटा पार्कसहित बजार परिक्रमापछि पुनः हनुमान मन्दिरमै आएर कोणसभामा परिणत भएको थियो ।

नेकपा एमालेका मेचीनगर इञ्चार्ज राजु पोखरेलले सञ्चालन गर्नु भएको कोणसभालाई संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला र नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले सम्बोधन गर्नु भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै एमाले नेता कोइरालाले भदौ २३ गते जेनजी आन्दोलनका कममा कलिला जेनजी आन्दोलनकारीको हत्या गर्न विदेशी शार्पसुटरको प्रयोग भएको हुनसक्ने जनाउँदै त्यसको छानविन भएर सत्यतथ्य बाहिर आउनु पर्ने बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनले भ्रष्टाचार अन्त्य गर्नु पर्ने र राजनीतिक दलहरु शुद्धीकरण हुनुपर्ने भनेर उठाएको माग सान्दर्भिक भएको बताउनुभयो । सिंहदरवार लगायतका सरकारी र निजी भौतिक संरचना जलाउने कार्य वास्तविक आन्दोलनकारी जेनजीले नगरेको उहाँको भनाई थियो ।

यसैगरी, कांग्रेस उपसभापति पाण्डेले जेनजीका मागहरुप्रति कांग्रेसको समर्थन रहेको जनाउँदै आन्दोलनमा घुसपैठ भएका कारण राजनीतिक दलका नेता र जनप्रतिनिधिका निजी सम्पत्ति आगजनी र तोडफोड भएको बताउनुभयो । उहाँले कसको घुसपैठले र ककसले दलका नेताहरुको घरमा आगो झोस्यो भन्ने कुराको रहस्य विस्तारै खुल्दै जाने बताउनुभयो । 

“संविधान मास्ने र कांग्रेस एमालेलाई समाप्त पार्ने षडयन्त्र गरेर देशमा विध्वंश निम्त्याइयो,” उहाँले भन्नुभयो– “तर, हामीले लडेर ल्याएको संविधान र लोकतन्त्र जोगाउन जुनसुकै संघर्ष गर्न तयार छौं । संयमित छौं, जिम्मेवार पनि छौं ।” 

उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको धारणा राख्दै पार्टीहरुले पनि आफ्ना कमी कमजोरीहरु सुधार्ने बताउनुभयो ।

जेनजी आन्दोलनपछि आज देशभरि नै नेपाली कांग्रेस र नेकपा एमालेले संविधान दिवस मनाएका छन् । आन्दोलन उत्कर्षमा पुगेपछि दुबै दलको सहभागितामा गठन भएको केपी ओली नेतृत्वको सरकार ढलेको थियो ।

ओलीको सरकार ढलेपछि अन्तरिम सकारको प्रधानमन्त्री पदमा सुशिला कार्की नियुक्त हुनु भएको छ । संविधान मास्ने षडयन्त्र भइरहेको भनेर दुबै दल सशंकित हुँदै खबरदारी स्वरुप प्रदर्शनमा उत्रिएका हुन् । 

काँकरभिट्टामा आज भएको प्रदर्शनमा नेता तथा कार्यकर्ताको व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, तारावीर कटुवाल, निलकण्ठ तिवारी लगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले नेता विष्णु प्रसाई, हरिचरण बानियाँ र राजु कार्की, नेपाली कांग्रेसका नेता राम कट्टेल, इन्द्र बुढाथोकी र सुदय पनेरु लगायतका नेताहरुले कार्यक्रमको अगुवाई गर्नु भएको थियो ।