झापा, ३ असोज । विर्तामोडको मुक्तिचोक आज लोकतन्त्र, संविधान र स्वतन्त्रताको नाराले गुञ्जायमान भएको छ ।
वि.संं. २०४६ फागुन ७ गते पञ्चायती शासनविरुद्ध प्रतिबन्धित राजनीतिक दलहरुले साहसिक जुलुस प्रदर्शन गरेको र उक्त जनान्दोलनको सफलता र बहुदलीय प्रजातन्त्र बहालीको उद्घोष गरिएको स्थान भएकाले विर्तामोडको मुख्य चोकलाई मुक्ति चोक नामाकरण गरिएको थियो ।
त्यही चोकमा दोस्रो जनान्दोलनका बेला २०६२/६३ मा विशाल जुलुस र सभाहरु आयोजना भएका थिए । २०७२ सालमा बनेको नेपालको संविधान लागू भएको एक दशक पूरा भएको अवसरमा नेपाली कांग्रेस र नेकपा एमालेले आज फेरि संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको पक्षमा प्रदर्शन गर्नका लागि त्यही ऐतिहासिक मुक्ति चोक रोजेका हुन् ।
जेनजी आन्दोलनपछि संविधान, लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुमाथि षडयन्त्र सुरु भएको हो कि भन्ने आशंका उब्जिरहेको अवस्थामा संविधानका दुई प्रमुख स्टेकहोल्डर नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त सभा र जुलुस प्रदर्शन गरेका हुन् ।
विहान नेपाल पत्रकार महासंघ झापाको नेतृत्वमा मानवाधिकारबादी, सामाजिक, परोपकारी र नागरिक समाजका विभिन्न संघ संस्थाहरुले संयुक्त जुलुस र सभा मुक्तिचोकमा सम्पन्न गरेका थिए ।
जसलाई नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष अम्बिका भण्डारी, मानव अधिकार सञ्जाल झापाका संयोजक रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र उपाध्यक्ष सुब्रत न्यौपानेले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण महासंघका जिल्ला सचिव राजु पाठकले गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी र गणेश पोखरेल लगायत अग्रज पत्रकारहरुको उपस्थिति रहेको थियो ।
महासंघकी प्रदेश उपाध्यक्ष भण्डारीले मन्तब्य व्यक्त गर्दै अहिलेको संविधान नेपाली जनता आफैले संविधासभामार्फत बनाएको हुँदा यसले सबै जनताको भावना समेटेको बताउनु भएका थियो । उहाँले जेनजी आन्दोलनको भावना अनुरुप राजनीतिक दलहरुलाई सुध्रिएर अघि बढ्न सुझाव समेत राख्नु भएको थियो ।
(सबै फोटो : विष्णुकुल श्रेष्ठ / शब्ददृश्य)