झापा, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै नेपाली कांग्रेस नयाँ ढंगले रुपान्तरण हुने बताउनु भएको छ ।
पार्टीको झापा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो ।
“जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिदैनन् तिनले विदा लिन्छन्,” उहाँले भन्नुभयो– “हामी सबै बदलिनु पर्छ, कर्मचारी संयन्त्र पनि बदलिनु पर्छ । सिंहदरवार मात्र होइन, चिया पसल पनि बदलिनु पर्छ ।”
जेनजी आन्दोलनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उहाँले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनले तोकिएकै मितिमा आम चुनाव गराउन म्यान्डेट दिएको स्मरण गराउँदै त्यसभन्दा दायाँवायाँ अल्मलिन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभयो । उहाँले बिघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग असान्दर्भिक हुने र त्यस्तो धारणा जेनजी आन्दोलनको भावना विपरीत हुने धारणा व्यक्त गर्नुभयो ।
जेनजीहरुको बलिदानलाई सबै राजनीतिक शक्तिले स्वीकार गर्नु पर्ने र अन्तरिम सरकारमा समेत जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्ने उहाँले माग गर्नुभएको छ । भदौ २३ गते सरकारले आन्दोलनमा अत्याधिक बल प्रयोग गरेका कारण दुःखद् घटना भएको र त्यसबाट ठूलो मानवीय क्षति निम्तिएको जनाउँदै उहाँले भदौ २४ गते सिंहदरवारसहित देशभरका सार्वजनिक सम्पत्ति र निजी घरहरुमा भएको आगजनी र तोडफोड जेनजी आन्दोलनको माग र भावना विपरीत रहेको दावी बताउनुभयो ।
उहाँले आन्दोलनको पहिलो दिन जेनजी आन्दोलनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरुका विषयमा गहन छानवीन हुनुपर्ने बताउँदै भन्नुभयो –“दोषी जो छन्, उनीहरुप्रति कुनै मोलाहिजा नराखी कडा कानूनी कार्वाही हुनुपर्छ ।”
महामन्त्री शर्माले आजै मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनीमा ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गर्नु भएको थियो ।